पर्यटन बजार१७ बैशाख २०७६, मंगलवार मा प्रकाशित
वैशाख १७, काठमाडौं । शैलुङ डाँडामा प्रथम शैलुङ महोत्सव सम्पन्न भएको छ । दोलखाको शैलुङ्ग र मेलुङ दुई गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकाद्वारा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वैशाख १३ देखि १५ गतेसम्म आयोजना गरिएको थियो ।
दोलखा र रामेछाप दुई जिल्लाको सङ्गममा रहेको शैलुङ्ग क्षेत्रलाई जनविश्वासअनुसार बुद्ध परम्पराका प्रथम अवतार साङ्गे म्हारमोचे, पाँचौ पद्यसम्भव र सातौ गौतम बुद्धले तपस्या गरेको पवित्र भूमि मानिन्छ । प्राकृतिक एवं जैविक विविधताले सम्पन्न यस क्षेत्र महादेवलगायत विभिन्न ऋषिमुनिहरुको तपोभूमिका रूपमा पनि चर्चित छ।
महोत्सवमा शेर्पा, तामाङ, मगरलगायतका जनजातिमा प्रचलित गायन र नृत्यको भव्य प्रस्तुति थियो । कुन्ती मोक्तान, सुरवीर पण्डित, पल्पसा डङ्गोल, जीवन शर्मा लगायतका राष्ट्रिय स्तरका कलाकारहरूको समेत सहभागिताले महोत्सवको रौनक बढेको थियो । महोत्सवमा चौरी गाईको दूधबाट तयार पारिएका दुग्धजन्य उत्पादनलाई धेरैले रुचाए । महोत्सवको उद्घाटन संघीय सांसद पार्वत गुरुङ, श्याम श्रेष्ठ, शान्ति पाख्रिन लगायतले गरेका थिए ।
शैलुङमा चौरी, याक, १०८ थुम्का, औषधीय महत्व बोकेका सयौं जडिबुटी, पद्यसम्भवका पद्चापका चिन्ह, चैत्यगुम्बा, शैलुङ्गेश्वर महादेव, गुफाहरू, बाघढुङ्गा, जार काट्ने तरबार, विभिन्न प्रजातिका लालीगुराँस देख्न देख्न सकिन्छ । यस्तै यहाँबाट सूर्योदय र सूर्यास्तका मनोरम दृश्य, गौरीशंकर, सगरमाथा लगायतका हिमाल पनि अवलोकन गर्न सकिन्छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit