पर्यटन बजार१५ पुष २०७७, बुधबार मा प्रकाशित
पौष १५, काठमाण्डौ। गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल गण्डकी प्रदेशद्वारा आयोजित पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत मंगलबार पर्वतको मोदी गाउँपालिका–१ का लप्सीबोट सामुदायिक घरबास र भुकदेउराली नमूना गाउँ सामुदायिक घरबास एवं कास्कीको धिताल ह्याङ्जाकोट सामुदायिक घरबासको प्रवद्र्धनात्मक भ्रमण गरिएको छ ।
नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा गत शनिवारदेखि सञ्चालित कार्यक्रमअन्तर्गत प्रवद्र्धन टोली घरबासमा पुगी सरोकारवालाबीच अन्तक्र्रिया समेत गरेको छ ।
भुकदेउराली नमूना गाउँ सामुदायिक घरबासमा आयोजित अन्तक्र्रियामा गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङले प्रकृति र संस्कृतिले सम्पन्न भुकदेउराली प्रवद्र्धनको पर्खाइमा रहेको बताए । भुकदेउराली लगायत आसपासका पर्यटकीय गन्तव्यको विकासलाई आफूले प्राथमिकतामा राखेको उनले बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले सुन्दर गाउँहरूको पर्यटकीय विकासका लागि सरकारको चासो पुग्नुपर्ने बताए । गाउँका सुन्दर संरचना जोगाउँदै बाटोघाटो लगायतका पूर्वाधार विकास गर्नुपर्ने उनले बताए ।
भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले भुकदेउराली लगायतका स्थानको धेरै पर्यटकीय सम्भावना रहेको बताउँदै यिनीहरूको प्रवद्र्धनलाई भिटोफले प्राथमिकतामा राखेको बताए । भुकदेउराली सामुदायिक घरबासका अध्यक्ष टेकबहादुर गुरुङले गाउँमा पूर्वाधार विकासका लागि स्वदेश तथा विदेशमा रहेका स्थानीयले जागरुकता देखाएको बताउँदै राज्यले पूर्वाधार तथा विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।
टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले सुन्दर गाउँलाई पदयात्रा पर्यटनसँग जोड्दै पर्यटकीय विकास गर्ने कुरामा आफूहरू सक्रिय बनेको बताए ।
कार्यक्रममा घरबासका सचिव अन्तिम गुरुङ, टोल सुधार समितिका अध्यक्ष रामबहादुर गुरुङ, मोदी गाउँपालिका–१ का कार्यवाहक अध्यक्ष भुलबहादुर पौडेल, पर्यटन व्यवसायी उदय सुवेदी लगायतले सुन्दर गाउँका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।
भ्रमण टोलीले मंगलवार अन्नपूर्ण गाउँपालिका–७ मा सञ्चालित काल्सी इको लज पुगी त्यहाँका सञ्चालक चित्रबहादुर गुरुङसँग पनि अन्तक्र्रिया गरेको छ । शनिवारदेखि पोखराबाट प्रवद्र्धनात्मक भ्रमणमा निस्केको टोलीले बागलुङको ढोरपाटनसम्म पुगी कास्की, पर्वत तथा बागलुङका विभिन्न घरबास एवं पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको भिटोफ नेपाल गण्डकीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सूर्यनाथ पहारीले जानकारी दिए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit