पशुपतिको जलहरीका लागि पहिलो चरणको ६१ किलो सुन कोषमा आइपुग्यो

पर्यटन बजार२ फाल्गुन २०७७, आईतवार मा प्रकाशित

पशुपतिको जलहरीका लागि पहिलो चरणको ६१ किलो सुन कोषमा आइपुग्यो

फागुन २,काठमाडौँ । माघ १२ गते सोमवार बिहान प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगे । दर्शन गरेर फर्कने क्रममा उनले पशुपतिनाथमा सुनको जलहरी राख्न निर्देशन दिए । यसका लागि नेपाल सरकारले ३० करोड रुपैयाँ दिने घोषणा पनि गरे ।

त्यससँगै जलहरीका लागि पहिलो चरणको ६१ किलो सुन कोषमा आइपुगेको कोषको सदस्य सचीव डा. प्रदीप ढकालले जानकारी दिए । दोस्रो चरणको सुन आइपुगेपछि जलहरी राख्ने काम अघि बढाउने बताउँदै उनले भने, ‘आगामी शिवरात्रीसम्म सुनको जलहरी राख्ने काम सम्पन्न भइसक्छ ।’

त्यसो त जलहरी राख्ने विषयमा अहिले मात्र होइन । विगत ३ वर्षयता यस विषयले निकै चर्चा पाइरहेको छ । शिवलिंगमा जलहरी राख्ने कुरा ३ वर्ष अघिदेखिकै योजना रहेको बताउँदै डा. ढकालले भने, ‘गत वर्षको शिवरात्रीमा जलहरी राख्ने सोच थियो यद्यपी कोरोनाका कारण हामी असफल भयौँ।’

जलहरीका लागि झण्डै १ अर्ब रकम आवश्यक पर्छ । जसकालागि नेपाल सरकारले ३० करोड रकम दिने घोषणा गरिसकेको छ भने कोष आफैंले ५० करोड रकम छुट्याएको उनले बताए ।

जलहरीका लागि १ सय ८ किलो सुन आवश्यक पर्छ ।

किन सुनको जलहरी राख्ने ?

जलहरी राख्ने विषय ऐन विपरीत भएको भन्दै स्थानीय र सम्पदा अभियान्ताहरुले प्रश्न उठाइरहेका छन् कोषले यसलाई कसरी लिएको छ ? खबरहबले गरेको प्रश्नमा ढकाल भन्छन्, ‘हामी मापदण्डभित्रै रहेर काम गर्ने छौं, चाँदीलाई सुनले प्रतिस्थापित गर्न मात्र लागेका हौं अन्यथा केही होइन ।’

‘चाँदीको माथि सुनको जलहरी लगाउँदा सबै खुसी नै छन् यसमा विवाद गर्नुपर्ने विषय नै छैन’ उनले भने, ‘सुनलाई झन पवित्र धातुका रुपमा लिइन्छ प्राय धेरै धार्मिक स्थलमा सुनकै छानो, कलश राख्ने गरिन्छ ।’

त्यस्तै जलहरी भएको स्थानमा भट्टलाई मात्र प्रवेश गर्न पाइने व्यवस्था छ । ‘पहिले जसरी भट्टहरुले त्यसको संरक्षण गरिरहेका छन् त्यसरी नै अब राखिने जलहरीको पनि उनीहरुले नै संरक्षण गर्नेछन् ।’

के हो जलहरी ?

शिवलिंगमा चढाएको पानी बगेर झर्ने भाग नै जलहरी हो । लिंग रुप प्रतिमा र मानव रुप प्रतिमा गरी शिवका दुई थरीका प्रतिमा हुन्छन् ।पशुपतिको लिंग प्रतिमा रुप हो । शिवलिंगमा भोगाभाग, भद्रपीठ र ब्रह्पीठ गरी लिंगका तीन भाग हुन्छन् । जलहरी ब्रह्पीठमा हुन्छ ।

माटोमा बनेको, काठबाट बनेको, प्रस्तरको, धातुको, रत्न र बालुवाबाट बनेको, चामल, चन्दन, रुद्राक्षबाट बनेको गरी ६ प्रकारका शिवलिंग हुन्छन् । पशुपतिको शिवलिंग प्रस्तरको हो ।

के छ ऐनमा ?

प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १२ को खण्ड ग मा लेखिएको छ, ‘अनुसार कुनै पनि प्राचीन स्मारकलाई नष्ट गरेमा, भत्काएमा, हटाएमा परिवर्तन गरेमा वा चोरी गरेमा बिगो बमोजिमको रकम उसुल उपर गरी पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँचसम्म कैद वा दुवै सजाय हुनेछ ।’

जलहरीको संरक्षण कसले गर्ने ?

पशुपति गर्भगृह भएको मन्दिर हो । शिवलिंग गर्भगृहभित्र छ । गर्भगृहभित्र भट्टबाहेक अरु जान पाउँदैनन् ।‘यहाँको मन्दिरको रेखदेखको मुख्य जिम्मेवारी पाएका भण्डारीले समेत उक्त शिवलिंग छुन पाउँदैनन’ भण्डारी केदारनाथले भने ।

मन्दिरमा ५ जना भट्ट छन् । जलहरी राख्ने काम पनि ५ जना भट्टहरुले मात्र गर्नुपर्छ । १ सय ८ किलो सुनको जलहरीलाई ५ जना भट्टले राख्न सक्छन् ? यदि भोलि जलहरी राख्ने स्थान टुटे फुटे जिम्मेवारी को ? त्यसको लागि विज्ञ को छन् त ?

‘सुनको जलहरी त्यहाँ राख्दा त्यहाँ पञ्चामृत, जल लगायतले धोइरहनुपर्ने हुँदा त्यो खियर पनि जान सक्छ’ भण्डारीले भने, ‘त्यसको संरक्षण कसले गर्छ अर्बौको सम्पत्ति जिम्मा कसले लिने ?’

Facebook Comment

छुटाउनुभयो कि?