बैशाख २२, कालिकोट। रामारोशन भने पछि नसुन्ने कमै होलान । ‘बाह्र बण्ड अठार खण्ड’ नामले चिनिने सुदूरपश्चिम प्रदेशको एक पर्यटकीय स्थल हो रामारोशन । सुदूरपश्चिमको अछाम जिल्लाको सदरमुकाम मंगलसेनबाट कच्ची सडकबाट ५-६ घन्टाको यात्रापश्चात रामारोसन ताल पुगिन्छ । मंगलसेनबाट झन्डै ५२ किलोमिटरको दुरीमा रहेको तालमा पैदल हिडेर १५-२० घन्टाको पैदल हिडाईमा पुग्न सकिने ताल समुन्द्री सतहदेखि २५४६ मिटरको उचाईमा अवश्थित छ, प्राकृतिक बरदानको रुपमा सो ताल रहेको छ ।
तालसम्म पुग्न कैलालीको अत्तरियाबाट महाकाली र सेती मार्ग हुदै १०-१२ घन्टाको रमणीय यात्रामा मंगलसेन पुग्न सकिन्छ ।यस ठाउँमा घुम्ने समय भनेको फागुनदेखि असारसम्म हो । यो समय सन्तुलित वातावरण र हेर्नका लागि राम्रो मौसम हुन्छ । यहाको मौसम चिसो/ठण्डी छ । यो प्राकृतिक रुपले भरिपूर्ण रहेको ठाउंमा १२ ताल र १८ पाटनहरु रहेका छन् । । यहाँका रहर लाग्दा जमिनका फाँटहरु, मनमोहक तालहरु, ठूलाठूला ढुंगाहरु, गुफाहरु, बिभिन्न जदिबुतिहरु, जलहाँस, राष्ट्रिय पन्छी डाँफे, मुनाल लगायतका चराचुरुंगी र अन्य दुर्लभ बन्यजन्तुहरु, कस्तुरी, मृग, यस क्षेत्रको जंगलमा अबलोकन गर्न पाइन्छ ।
रामारोशन क्षेत्रमा रहेका १२ वटा तालमध्ये जिगाले ताल सबैभन्दा ठूलो ताल हो । जसको आकार अंग्रेजी अक्षर ‘सि’ जस्तो रहेको छ। यस ताल बाटुले तालभन्दा माथि छ। यहाँ सबैभन्दा सानो तालमा ताउने ताल हो। यो हाल पुरिँदै गएकाले संकटमा छ।