पहाडकी रानी , घान्द्रुक

पर्यटन बजार५ मंसिर २०७६, बिहीबार मा प्रकाशित

पहाडकी रानी ,  घान्द्रुक

मंसिर ५ ,घान्द्रुक । माछापुछ्रे, गङ्गापूर्ण, हिमचुली, अन्नपूर्ण हिमालहरु देख्दा कसको मन नलोभिएला र ? जता हेर्यो त्यतै लोभलाग्दो हिमालचुली । समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा रहेको कास्कीको घान्द्रुक गाउँ प्राकृतिक सौन्र्दयले भरिपुर्ण छ । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी र कास्कीको घान्द्रुकमा बाह्य मात्र होइन आन्तरिक पर्यटक पनि बढन थालेका छन् ।

कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुक पर्यटकीय सुन्दर ठाँउ हो । हिमाल मात्र होइन घान्द्रुक गाउँमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु पनि छन । मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह तालले पनि घान्द्रुक पुग्ने जो कोहिलाई आनन्द बनाउछ । हिमश्रृखला, सूर्योदय, ग्रामीण बस्ती, फरक संस्कृति, वन जगल र मनोरम भूगोलको अवलोकन गर्न घान्द्रुकमा पाइन्छ । प्रकृतिसंग जति रमाए पनि मन अघाउदैन घान्द्रुकमा त्यहाँ पुग्नेहरु प्राय यही भन्ने गर्छन् । स्वदेशी मात्र हैन धेरै विदेशी पर्यटकहरुको लागि घान्द्रुक पर्यटकिय गन्तब्य वनेको छ ।

ढुङगाले कुदेर बनाइएका गुरुङ समुदायका घर र नजिकबाट देखिने अन्नपूर्ण र द्यौलागिरी हिमश्रृङखलाहरुको अनुपम दृश्यहरुले जसको पनि मन लोभिन्छ । बिहान सबेरै उठेर जहाँवाट हेर्दा पनि हिमाल छयाङ्गै खुलेको देखिन्छ । आँखैमा टाँसिन आइपुग्ने हिमाल हेरेर कत्ति धित मर्दैन । जति हेरे पनि हेरु–हेरु वनाउछ । झनै जुनेली रातमा हिउँ परेको समयमा हिमाल टलक्क टल्किदा पर्यटकहरु त्यो दृश्यले मोहित हुने गर्दछन् । यही भएर त होला स्वदेशमा मात्र हैन विदेशमा पनि उतिकै लोकप्रिय वनेको छ पर्यटकीय गाउँ घान्द्रुक । आजभोली कसैकसैले घान्द्रुकलाई ‘पहाडकी रानी’ भनेर पनि उपमा दिने गरेका छन ।

घान्दु्रकका गुरुङहरुका पुर्खा सिकलेस, गोर्खा र लमजुङबाट आएका हुन । घान्द्रुकमा कहलिएका सात गाउँ छन । जहाँ ७० प्रतिशत गुरुङजातीका घरहरु छन् । कोट गाउँ, माझ गाउँ, ध्यागोयार गाउँ,अडडादाइयार गाउँ, तल्लो गाउँ, डाँडागाउँ र गैरी गाउँ । घान्द्रुक गाउँको उत्तरमा अन्नपूर्ण आधार शिविरसम्म र पश्चिममा घोडेपानी–पुनहिल पदयात्रा पनि घान्द्रुकबाटनै गर्न सकिन्छ ।

पछिल्लो समय केही घरहरु ढलान गरेर आरसीसी गर्न थालेपछि भिन्नै मौलिकता बोकेको घान्द्रुकको पहिचान घुम्ने त हैन भन्ने चिन्ता पर्यटकहरुको छ । केही घरहरु यसरी वनेपनि तर अहिले ढलान गरेर घर बनाउन प्रतिबन्ध लगाइएको छ । ढुङ्गाले छाएका घरहरु घान्द्रुकबासीको परम्परागत पहिचान हो ।

Facebook Comment

छुटाउनुभयो कि?