पर्यटन बजार३ माघ २०७७, शनिबार मा प्रकाशित
माघ ३ ,काठमाडौँ। यात्रा चाबहिलको मैजुबहालबाट बिहान करिब पौने ७ बजे सुरु भएको थियो। पाँचपोखरी सम्मको यात्रा तय गर्दै थियौं हामी १० जना ! सात ओटै सम्मिटको आरोहण गरिसक्नुभएकी शाहसी आरोही माया गुरुङ ,आरोही कान्छीमाया लामा ,आरोही मिलन तमाङ् ,रक क्लाइम्बिङ्गका एक्स्पर्ट हरिराम खड्का ,आरोही दावा शेर्पा , रेडियो सिन्धुका पत्रकार रत्न श्रेष्ठ , एन टि भी प्लसमा कार्यक्रम प्रोडक्सन गर्दै आएका पत्रकार रोशन कार्की,टिभी टुडेका पत्रकार राजेन्द्र पन्त , गुरु जी तेञ्जिङ्ग र म पर्यटन बजार डट कमकी प्रतिनिधि बिनिता सिवाकोटी !
सबै साथीहरुलाई समेट्दै हाम्रो यात्रा बढिरहेको थियो , जो गाडीमा चढ्नु हुन्थ्यो वहाँ संग परिचय हुन्थ्यो सबैजनाको। सुरुमा केहि फर्मल बनेका थियौं हामी। पत्रकार र आरोही संगै धेरै हिमाल आरोहण गराउन सफल हिमालका पारखी संगको यात्रा मेरो लागि नितान्त नयाँ थियो।
साँखु हुँदै जहर्सिङ्ग पौवासम्म पुग्दा करिब साढे ८ बजिसकेको थियो। खाजा खाएर अघि बढ्ने सल्लाह भयो र लाग्यौं खाजा खान तर्फ। त्यतिन्जेल सबैजना चुप चुप नै थियौं। जव खाजा खाएर हामी पुन गाडीमा चढ्यौं अनि सुरु भयो इन्फर्मल गफ संगै हाँसोका खित्का।
झापाली बाठो स्याङ्गजाली धुर्त
कुरैकुरामा निस्कियो झापाली त बढो बाठा हुन्छन रे। १०० जना चोर फटाहा , सज्जन र अन्य राम्रा नराम्रा गुण भएका मान्छे मरेपछि एक झापाली जन्मिन्छ रे। म झापाली हाँसेर मात्र सुनिरहे। अर्को साथीले भन्नुभयो लौ झापाली साथी त छेउमै हुनुहुदो रहेछ। म हाँस्दै भने मलाई फरक पर्दैन कसैले हामीलाई बाठो कै रुपमा चिन्छ भने किन लाटो बन्ने होइन र ?
अनि झापालीको नाताले झापाली लाई समर्थन त गर्ने पर्यो , भने सबै झापाली कहाँ गफाडी , नराम्रा हुन्छन र पहिले केहि मान्छेले छटाइ फटाई गरेर हो नि। मेरो कुराको समर्थनमा सबैजनाले हाँस्दै सहि हो भन्नु भयो। फेरी हामी पुराना कुरा तर्फ मोडियौं पहिले पहिले झापाका मान्छेहरु काठमाडौँ पढ्न आउने रे अनि यहिका घर साहुका छोरी भगाउने रे त्यसपछि झापालीलाइ त कोठा पाउनै मुस्किल भएको रे त्यो छाप अझै छँदै छ काठमाडौँमा।
कुरा मोडियो स्याङ्गजाली तर्फ , हो नि झापाली त बाठो , १०० जना झापाली मरेर पो एकजना स्याङ्गजाली जन्मिछ रे। झन् स्याङ्गजाका मान्छे कति बाठा होलान। बाठा भन्दा नि धुर्त भन्दा रहेछन। पहिला मदन कृष्ण र हरि बंशको एउटा टेलीफिल्मको कुरा भयो। जहाँ भनिएको रहेछ सुत्दा पनि हातको बुढी औला मुट्ठी पारेर लुकाएर सुत्नु नत्र स्याङ्गजालिले राति नै औठा छाप गरेर घर जग्गै लैजान्छ।
यो कुरा संगै भन्ने बाहेकका सुन्ने ९ जनाको हाँसोले थर्कियो गाडी। अर्को कुरा थपियो यसमै अनि ज्वाई लाटो भयो भने त मुद्दा हाल्ने चलन पनि थियो रे नि त ?
थाहा नहुनेहरु आश्चर्य मान्दै किन नि भन्ने प्रश्न तेर्स्यायौं !
उत्तर आयो , अदालत धाउँदा धाउँदै सिधा – लाटो ज्वाई नि बाठो बन्थ्यो रे ! अनि ज्वाई बाठो भयो भने पछि बल्ल मुद्दा फिर्ता लिने वा टुंग्याउने काम हुन्थ्यो रे।
कुरै कुरामा यात्रा अघि बढेको थाहै भएन। हाम्रो यात्रालाई अझै रमणीय बनाउंदै थिए दन्तलहर झैं मिलेर बसेका हिमालहरुले। हामी पत्रकारहरु सोध्दै थियौं यी देखिएका हिमालहरु कुन कुन हुन् ?
उ त्यो चाहिं जुगल हिमाल हो , यता पट्टि बाट आमा यांग्री देखिन्छ , अघि बढ्दै जाँदा गोसाइकुण्ड हिमाल , लाङ्गटाङ्ग रेञ्ज , च्यो च्यो डांडा , कतिपयको नाम नै अप्ठेरो लगायतका डांडा र हिमालको दृश्यावलोकन गर्दै मेलम्ची पार गरियो।
उफ राजनीतिक गफ
उ त्यो मेलम्चीमा बनेको एक करोडको पार्क रे तर संरचना भने केहि छैन। एक दाइले भन्नु भयो राम्रै पो खर्च भएको रहेछ, २०/२५ लख पार्क तिर बाँकि खल्ती तिर गएरै हो कि त्यस्तो भएको। आजकलका नेता कोहि गतिला छैनन् सबै चोर।
अर्को दाइ कड्कीनु भयो नेता होइनन कार्यकर्ता चोर हुन् , फटाहा हुन्। कार्यकर्ताले गर्दा हाम्रो देश बिग्रेको हो। नेताले जे भन्यो त्यहि लाई हो – हो भन्दै हिड्ने हो कि खबरदारी गर्ने हो उनीहरुको काम ? कार्यकर्ता खराब हुन् हाम्रो देशका अनि तिनै कार्यकर्ताको साथ लिएर साँढे पल्टिने हुन नेताहरु ! अहिले संसद बिघटन सम्म भयो नेपालमा। अझै चुप छन् नामका मात्र कार्यकर्ता र नामको मात्र बिरोध भएको छ आजकल। आजकल का युवामा दम नै छैन , न अठोट छ। हाम्रा पालामा यस्तो खतरा आन्दोलन हुन्थ्यो, युवाहरु केहि नराम्रो घटना घटेमा खरो बनेर सडकमा उत्रन्थ्ये। रत्न दाईले आफ्नो समयको आन्दोलनको घटना सुनाउनु भयो। ” ५४ साल तिर होला एक आन्दोलनमा गएको थिए म , ठुला ठुला नेताहरु सुरुमा त अघिल्लो लाइनमा थिए कुन बेला पछाडी हटेछन् थाहै भएन पछि पुलिसको डण्डा भेट्ने बेलामा पर्यौं हामी। रत्नपार्कमा कम्ति कुटाइ खाइन मैले, पछि भागेर बस छेउमा पुगे र बसका मान्छेले मलाई तानेर भित्र पसाए। एक महिना सम्म थला परेको थिए म तर जोश जाँगर अह : अलिकति कम भएको थिएन।
अहिले त खै के हो , के हो। कानुन त छ तर सर्वसाधारणको लागि मात्र ! मन्त्रि नेताले त जे गर्दा नि हुन्छ। रत्न दाइको कुरा पुरै चाख मानेर हामीले सुनिरह्यौं।
राजनीतिमा अलि ज्ञान भएको दाइहरुले जानेका कुराहरु सुनाउनु भयो। त्यतिक्कै मा हामी पुग्यौं माया दीदिको घर।
अगाडी देखि नै माया दिदीको घरमा ढिडो र साग खाने भन्दै जिस्किदै थियौं हामी , माया दिदि पनि आमालाई भनौ त पकाउदै गर्नु भनेर भन्दै सिरियस बन्दै हुनुहुन्थ्यो।
कान्छी दिदिले भन्नु भयो होइन गाउँपालिका पुग्न ढिलो भैसको फेरी उता खाना पनि बनाको होला खेर जान्छ। सोहि सल्लाह अनुसार चिया चाहिं खाने सल्लाह भयो र हामी उत्रियौं माया दिदीको घर तर्फ। हिमालको काखमा , प्रकृतिको माझमा भएको दिदीको घरमा लटरम्मै फलेका सुन्तला।
आहा ! कति धेरै सुन्तला , हामी धेरैले पहिलोपटक सुन्तलाको बोट बाटै टिपेर सुन्तला खाने अवसर पाएका थियौं। लाग्यौं बोट तर्फ र मनलाग्दी सुन्तला टिपेर ल्यायौं। वरिपरि मिलेका फाँटहरु , जसलाई जति हेर्यो त्यति नै आकर्षक लाग्थ्यो ,टिपिकल संस्कृति वा भनौं पश्चिमे हावाले अलि छुन सकेको रहेनछ त्यहाँ। खोर भित्र लोकल कुखुरा , छेउ मै गाइको गोठ , तल्लो बारीमा खाउँ खाउँ लाग्ने साग , लोकल धनिया र सुपको साग। छेउमै सुन्तलाको २ ओटा बोट अर्को छेउमा पाक्नै लागेको अम्बाको रुख। वाह जहाँ गए पनि गाउँ नै रमाइलो।
चिया बनाएर ल्याउनु भयो आमाले , चियाको चुस्की संगै तारिफ सुरु गर्यौं गाउँको। आमाले एक बाल्टिन साग टिपेर राख्नु भएको रहेछ हाम्रो लागि कोसेली भनेर। सबैलाई एक एक मुठा साग रेडी बनाइदिनु भयो। मिलन दाई ढिडोको पारखी हुनुहुँदोरहेछ आमाले वहाको लागि कोदोको पिठो समेत तयार पारिदिनुभयो। सुन्तला , साग कोदोको पिठो र धेरै माया संगालेर पुन हाम्रो यात्रा सुरु भयो।
त्यहाँको संस्कृति , भेषभुषा , खानपानको बारेमा सबै जानकारी दिदै हुनुहुन्थ्यो माया दिदीले हामीलाई। अलिक पर पुगेपछि फेरी हाम्रो गाडी रोकियो। ५ मिनेट मात्र है ,त्यसपछि सुइ सुइ जानुपर्छ। यो चाहिं गुरु पद्मा सम्भवले ध्यान गरेको ठाउँ हो, माया दिदीले भन्नुभयो। ओ हो कति राम्रो ठाउँ , ठुलो चट्टान ! यस्तो लाग्थ्यो कति कालीगढ़ ले कति धेरै समय लगाएर कुँदेको होला यो पहाड। अह ,यो कुदेको होइन आफै निर्मित रहेछ। चट्टानलाइ फोडेर चाहिं बीच बाट बाटो निकालिएको रहेछ। पारी पट्टि ठडिएको चट्टानमा कुँदिएको रहेछ पद्मा सम्भवको चित्र , त्यसको मुनि सानो पोखरी र छेउमै एक मन्दिर। वारी पट्टि थियो फराकिलो चट्टान जहाँ बाटो मजाको दृस्यवालोकन गर्न सकिने। त्यहि बसेर ध्यान गरूँ गरूँ लाग्ने तर समयको पावन्दीका कारण एक ग्रुप तस्बिर खिचेर अघि बढ्यौं हामी।
पर्यटन प्रमुख सुवास तामाङले रत्न दाइलाइ फोन गरेर कहाँ आइपुग्नु भयो छिटो आउनुस भन्दै आग्रह गरिरहनु भएको थियो। कच्ची सडक तर विकास गर्ने पक्का गाउँपालिकाले विकास निर्माणका काम थुप्रै अघि बढाइरहेको देख्न सकिन्थ्यो।
गाउँपालिका र सम्मान कार्यक्रम
प्रकृतिको रसस्वादन , नयाँ कुराको विचार बिमर्श गर्दै पुग्यौं हामी पाँचपोखरी थाङ्गपाल गाउँपालिका ! करिब साढे १२ बजेको रहेछ पुग्दा , हामी पुगेको देख्ने बित्तिकै हतार भएको इशारा गर्दै फटाफट खाना खाएर कार्यक्रम सुरु गर्नु पर्ने वहाले जानकारी गराउनुभयो। सुवास सरले भने जस्तै खाना खाएर हामी लाग्यौं गाउँपालिकाको सभाहल तर्फ ! मिलन दाइ ल्याब टप र प्रोजेक्टरमा प्रेजेन्टेसन दिन तयार हुनुभयो। हामी पत्रकारहरु तयार भयौं क्यामर निकालेर खिच्न।
कार्यक्रमको बारेमा थोरै जानकारी गराउँ है…..
माया दीदीको नेतृत्वमा आरोही कान्छीमाया स्याङ्बो तामाङ र दावा शेर्पाको साथमा युवानेता सोमर बोम्जन, मिलन तामाङ, पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का अध्यक्ष ङिमाछिरिङ तामाङसहित आठ जनाको टोलीले तिलमान पास – युवा पिकको सफल आरोहण संगै त्यहाँको सम्भाव्यताको अध्ययन गरेर फर्किएको रहेछ। त्यही कुराको जानकारी , युवा पिकको नामकरण, भविष्यमा हुने फाइदा , चुनौती र आरोहण टोलीलाई सम्मान गर्ने कार्यक्रम थियो गाउँपालिकामा।
धेरै मेहेनत देखिन्थ्यो यस अध्ययनमा टोलीको र यस युवा पिकले गाउँपालिकालाई थप उचाइमा पुर्याउने अध्यक्ष टासी लामा , वडाध्यक्ष , आरोहण टोली , पर्यटन प्रमुख र सर्वसाधारण सबैलाई बिश्वास थियो।
कार्यक्रम , खाजा गफ गाफ , तस्बिर खिच्ने कार्य संगै फर्किने समय भैसकेको थियो। घडीले साढे ३ भएको जानकारी गराइसकेको थियो। हाम्रो टोलि गाडी चढेर बिदा भयौं ।
फर्किंदा अर्को छोटो बाटो फर्कियौं हामी , फेरी हाम्रा गनथन सुरु भए।
छुवाछुत र महिनावारी
कुरै त हो गर्दा गर्दै कता कता पुग्छ थाहा नै नहुने। ब्राम्हण ,क्षेत्रि , तामाङ्ग , गुरुङ ,शेर्पा , श्रेष्ठ सबै जातिका हामी एक गाडीमा थियौं। उद्गमस्थल संगै सिवाकोटिकी छोरी कुमाई संगै कुमाई को घुमाइ त कडा हुन्छ रे नि त। प्रश्न मै तर्फ मोडियो।
म – हाहा हो नि हाम्रो घुमाई मा परेका केहि कुरा फुत्किन सक्दैन त्यसमाथि नि झापाली कुमाई ।
सबैको हाँसो छुट्यो !
यस्तै कुरामा हाम्रा बच्चा बेलाका कुराहरु आए। यो जातको कुरा अहिले घटेको छ नत्र सानोमा त तल्लो जातिको साथीको घरमा गएर केहि खादा पनि टन्नै कुटाइ खाइन्थ्यो। एक जना दाइले भन्नु भयो।
हो नि तल्लो जात बिचमै भेदभाव छ , अनि तल्लो जाति र उपल्लो जातिमा नहुने कुरा पनि त भएन। अहिले केहि सामान्य बनेको छ दावा दाइले थप्नु भयो।
रत्न दाइ बोल्नु भयो , हो नि यो सबै मल्लकालीन राजाले कामका आधारमा छुट्याएको त हो। त्यसलाई मान्दै हाम्रा पुस्ताले अघि बढाएको कुरा हो यो।
रोसन दाइ बिचमा बोल्नु भयो , होइन यो भेदभाव त भगवान कै पालामा भएको होला , सुत ले बेद पढ्न नहुने , क्षेत्रिय ले लडाई गर्ने , ब्राम्हण ले बॆद पढ्ने जस्ता कुराहरु पनि उ बेला कै ग्रन्थहरुमा छन् नि।
मलाई त यो सब भ्रम जस्तो लाग्छ , अहिलेको मान्छेले यसलाई नै बेचेर कमाई खाको जस्तो , नत्र अरुलाई होच्याउ ,हिंसा गर भनेर कुनै भगवानले भनेका छैनन्।मिलन दाइ बोल्नु भयो। हरि दाइले सुर मा ताल मिलाउदै भन्नु भयो , यो सबै कुरा छन् भने यिनका आफ्नै महत्व हुन्छन। हो, नराम्रा कुरालाई मेट्दै जानुपर्छ राम्रा कुरालाई अवलम्बन गर्दै अघि बढ्नु पर्छ।
कुरा मोडियो हिरो हिरोनीको लाइफ स्टाइलतर्फ , रुबी राणा राम्री , करिश्मा कति राम्री छोरी त्यति राम्री होइन है ,पारस की छोरी नि टिकटक बनाउने रहिछे भन्दै कुरा पुग्यो मनोज गजुरेलले पनि बिहे गर्न लाग्या रे। अनि मिना ढकालले बिरोध जनाईराछिन रे त !
महिलाले आफ्नो अधिकारको गलत प्रयोग गरिराछन है , हरि दाइले थप्नु भयो। मन लाग्यो डिभोर्स , मन लाग्यो अर्को संग बिहे गर्यो , जे कुरामा नि महिलालाई सजिलो छ।
अघि देखि सुनिरहनु भएकी माया दिदि बोल्नु भयो , जे भएनी महिला तलै पर्छन। अधिकार धेरै छ भन्ने मात्र हो !
अ त्यो त हो , तर महिलाको बिरोधी चाहिं महिला नै हुने है।मलाई नबोली चित्तै बुझेन , घरमा महिनावारी हुँदा बुवा दाजुहरूलाई भन्दा आमालाइ दिदीलाई नै बढी बार्नुपर्छ। एक्जाम हलमा सहयोग गर्ने केटि भन्दा केटा नै हुन्छन। अस्ति ठमेलमा निषेधित क्षेत्रमा पुगिएछ , थाहै भएन कति रिक्वेस्ट गरे थाहा पाइन भनेर तर ट्राफिकनि दिदिले चिट नकाटी छाड्नु भएन। नियम सबैको लागि चाहिन्छ तर थाहा नहुँदा त एकपटक माफी पाइनु पर्ने होइन र , लामै समयको चित्त दुखाइ मजैले पोखे मैले। सबै जना हाँस्नु भयो र आ – आफ्नो किस्सा सुनाउन थाल्नु भयो।
हिमाल यात्रा उत्कृष्ट मेडिटेसन
हामी हिमाल यात्रीहरुको बिचमा थियौं , हिमालका कुरा त बारम्बार आउने नै भए। हामी फेरी हाम्रो सुन्दर नेपाललाई थप सुन्दर बनाउन सदैब अडिग हिमाल तर्फ मोडियौं। हामी संग तामाङ्ग समुदायकी पहिलो सगरमाथा आरोहण गर्ने कान्छी माया दिदि हुनुहुन्थ्यो। वहाँले हिमाल यात्रा अत्यन्तै कठिन तर त्यतिकै मनमोहक र आनन्दमयी हुने बताउनुभयो। हरि दाइ , मिलन दाइ, दावा दाइले भर्खरै तिल्मान पास र युवा पिक चढ्दा हराएको समयलाई बयान गर्नुभयो। एकपटक त अति नै डेन्जर जोनमा थियौं हामी धन्न बाँचियो , दावा दाइले सुनाउनुभयो।
पत्रकार रोशन दाइले आफुलाई पनि हिमाल आरोहण गर्न मन लागेको सुनाउनु भयो साथै के के कुरामा तयारी गर्नुपर्छ टिप्स समेत लिनुभयो। मर्निङ्ग वाक गर्नुस , हाइकिङ्ग जानुस र सानो हिमालहरुको ट्रेकिंग गर्दै गर्नुस अथवा ट्रेनिंग लिनुभयो भने बेस्ट हुन्छ रक क्लाइम्बिङ्ग का एक्स्पर्ट हरि दाइले सल्लाह दिनुभयो।
माया दीदी ले आफु सुरुमा ट्रेनिङ लिदाको पल हामी माझ सेयर गर्नुभयो। म मोटी थिएँ त्यो बेला , तिमीले कसरी हिमाल चढ्छौ भन्दै हास्नु हुन्थ्यो। हिमाल चढ्नु सांचिक्कै आनन्दमयी हुन्छ। यो एक बेस्ट मेडीटेसनको पाटो हो। मान्छेलाई ध्यान गरेर बस्नु मात्र मेडिटेसन हो जस्तो लाग्छ तर ट्रेकिङ्ग गर्नु , हिमाल आरोहण गर्नु पनि मेडिटेसनको उत्कृष्ट पाटो हो। बिदेशीहरु नेपाल त्यसै कहाँ आउँछन र ध्यान गर्ने राम्रो वातावरण , हिमाल आरोहणको मजा ,सुन्दर प्रकृति लाइ निहार्न आउँछन नि । म त सबैलाई भन्छु सगरमाथा नै चढ्नु पर्छ भन्ने छैन साना हिमाल आरोहण गरेर पनि आफ्नो इच्छा पुरा गर्न सकिन्छ। पहिले हाम्रो देशको सुन्दरतालाइ त हेरिसकौं अनि बल्ल जाने हो नि विदेश।
अलि लामो भयो कि क्या हो अब छोट्याउं है……..
हिमालका कुरा , जातका कुरा , धर्मका कुरा ,संस्कृतिका कुरा , कुप्रथाका कुरा , राजनीतिका आक्रोश ,प्रकृतिका कुरा , ठाउँका कुरा र त्यहाँका बासिन्दाका कुरा गर्दा गर्दै छुट्टिने बेला पो भैसकेछ। जाँदा अन्जान , चाहिने मात्र बोलेका हामी फर्किंदा त बर्षौं देखि चिनजान भए जस्तै मित्रता र अपनत्व गाँसियो। सायद हामी नेपाली भएर होला जहाँ अन्जान भएर , फर्मल भएर धेरै समय रहन सक्दैनौं। एक भैहाल्नु पर्ने , आफ्ना कुरा सुनाइहाल्नु पर्ने , आफुले थाहा पाएका अर्ति उपदेश दिई हाल्नुपर्ने , हो यहि अपनत्व संगै हामी छुट्यौं, नयाँ बर्ष माया गुरुङ दिदीको अफिसमा मनाउने सल्लाह सहित।
जीवन एक यात्रा हो , दिनहुं हामी यात्रामा निस्कन्छौं र हरेक पटक नयाँ मान्छेसंग चिनजान गर्छौं तर ति कमै यात्रा हुन्छन जुन यात्रा सार्थक हुन्छन , अविस्मरणीय हुन्छन , यात्राले नयाँ सम्बन्ध स्थापित गर्दिन्छ। हो यहि सार्थक यात्राको यात्रा संस्मरण लेख लेख्न अवसर जुराइदिने पाँचपोखरी थाङ्गपाल गाउँपालिकालाइ हृदय देखि नै धन्यवाद।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit