पैदल यात्राको सोचमा हुनुहुन्छ , जानुहोस चन्द्रागिरी ! यस्ता छन् धार्मिक तथा एतिहासीक महत्व

पर्यटन बजार१२ फाल्गुन २०७५, आईतवार मा प्रकाशित

पैदल यात्राको सोचमा हुनुहुन्छ , जानुहोस चन्द्रागिरी ! यस्ता छन् धार्मिक तथा एतिहासीक महत्व

काठमाडौँमा पैदल यात्राका लागि धेरै स्थानहरु रहेका छन् । ति मध्येको एक उत्कृष्ट पैदल यात्राको गन्तब्य हो चन्द्रागिरी !  काठमाडौँको वरिपरी बस्ने व्यक्तिहरु जो एक दिने यात्रा गरेर फर्कन चाहन्छन ,उनीहरुको लागि यो स्थान अत्यन्तै उपयोगी हुन्छ ।

धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यको त्रिवेणी चन्द्रगिरि फुलचोकीपछि काठमाडौँको सबैभन्दा अग्लो स्थानमा रहेको छ । चन्द्रगिरि पहाडका प्रमुख तीन विशेषता छन् । चन्द्रगिरि पहाड प्राकृतिक सौन्दर्यको अनुपम पहाड हो । घना जङ्गलले ढाकिएको चन्द्रगिरि दक्षिणपूर्वीमा पर्दछ  । यहाँको चिसो र शान्त वातावरणले मन आनन्दित तुल्याउँछ । क्षणक्षणमै बदलिने यहाँको मौसमले विविधता दिइरहन्छ ।

चन्द्रागिरी पैदल यात्रा पूर्वी सिमामा रहेको हात्तिबन रिसोर्ट अथवा मातातिर्थ बाट सुरु हुन्छ  । यसको उचाइ समुद्री सतहभन्दा माथि १६५० मिटर छ। छिटो र संधै हिडिरहेका मानिसहरुले यो यात्रा करिब २ घण्टामा पार गर्न सक्छन भने बिस्तारै मनोरंजन गर्दै आराम गर्दै जानेहरुका लागि भने यस गन्तब्य पार गर्न करिब ४ घण्टाको समय लाग्दछ । फर्किदा केबुलकार को प्रयोग पनि गर्न सकिन्छ यदि तपाईं एकोहोरो मात्र पैदल हिड्ने सोच्नुभएको छ भने अन्यथा हिंडेर नै फर्किने हुँदा जाँदाको भन्दा करिब एक घण्टा नै छिटो तल झर्न सकिन्छ 

पैदल यात्राको क्रममा ,जंगलमा बिभिन्न प्रकारका पन्छीहरुलाई देख्न सकिन्छ भने उनीहरुको आवजले आनन्द दिलाउँछ । जंगलमा स्तनधारी जनावरहरू रातो बाघ, कालो भालूहरु पनि रहेका छन् । 

यस क्षेत्रबाट वनस्पति र बहुउपयोगी जडिबुटीहरु पनि पाउन सकिन्छ । यदि तपाई चाहनुहुन्छ भने त्यहाँ रात बिताउन क्याम्प साइडहरु पनि रहेको छ । जंगलको बाटोमा कुनैपनि पसल तथा पानि को व्यवस्था नभएको हुँदा आफुलाई चाहिने खानेकुरा तथा पानीको ब्यबस्था आफैले गरेर जाँदा उत्तम हुन्छ ।

चन्द्रागिरि चुचुरोबाट सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ । यहाँबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ । करिब १८० डिग्रीको कोणमा नेपालका अधिकांश हिमालहरू यहाँबाट हेर्न पाइन्छ ।  सूर्योदय र सूर्यास्तको अवलोकन लागि चन्द्रागिरि पहाड उपयुक्त गन्तव्यस्थल हो । हिमाललयबाट हुने सूर्योदय र पश्चिम पहाडबाट हुने सूर्यास्तको दृश्य यहाँबाट रोमाञ्चक देखिन्छ ।

धार्मिक महत्व

दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँ सतीदेवीको भाल अर्थात् निधार पतन भएको ठाउँमा ‘भालेश्वर’ महादेव उत्पन्न भएको कुरा हिमवत्खण्डमा उल्लेख छ । सुमुखनामक गन्धर्वसँग भालेश्वर महादेवको प्रसङ्ग जोडिएको छ । स्वर्गको इन्द्रसभाबाट भोग–विलास सकी फर्कन लागेकी रम्भालाई सुमुखले बलजफ्ती चुम्बन गरे । रिसाएकी रम्भाको श्रापले सुमुख मत्र्यलोकमा आउन बाध्य भए । मत्र्यलोकमा भौंँतारिएका सुमुखलाई गालव ऋषिले प्रत्येक दिन तीर्थमा स्नान गरी भालेश्वरको दर्शन गर्न उपदेश दिए । उपदेशबमोजिम गर्दै जाँदा भालेश्वर महादेव प्रकट भए र वर माग भनी भन्दा हजुरको गण भई बस्न पाऊँ भनी सुमुखले वर मागे । रम्भाले पहिले अपमान गरेकीले केही काल रम्भासँगको भोगविलास गरेपछि आफ्नो गण भएर बस्न भालेश्वर महादेवले सुमुखलाई वर प्रदान गरे र त्यसैअनुसार काम भयो भन्ने कुरा हिमवत्खण्डमा उल्लेख गरिएको छ । समुद्री सतहबाट दुई हजार ५५१ मिटरको उचाइमा अवस्थित यस भालेश्वर महादेवको दर्शन गर्नाले भक्तजनको मनोकाङ्क्षा पूूरा भई अन्त्यमा शिवलोकमा बास हुने जनश्रुति पाइन्छ ।

ऐतिहासिक महत्व

चन्द्रागिरि प्राचीनकालदेखि नै ऐतिहासिकरूपले महìवपूर्ण स्थान हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै सुन्दर नेपाल उपत्यकाको अवलोकन गरेका थिए । त्यति मात्र होइन यही स्थानमा पृथ्वीनारायण शाहले आध्यात्मिक साधनामा साधनारत रहेर नेपाल उपत्यका एकीकरणका लागि शक्ति आर्जन गरेका थिए भन्ने जनविश्वास यस क्षेत्रमा पाइन्छ । नेपाल उपत्यकाका मल्ल राजाहरूले चिन्छन् कि भनेर उनी घुम ओढेर चन्द्रागिरि डाँडाबाट आफ्नो राज्य गोरखातर्फ लागे भन्ने बयान पृथ्वीनारायण शाहको उपदेशमा पाइन्छ ।
पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट आफ्नो राज्य गोरखा फर्कंदा चन्द्रागिरि हुँदै फर्केका र उपत्यकाको अवलोकनपछि नेपाल उपत्यकाका राज्यलाई जित्ने दृढ निश्चय गरेको उनको उपदेशमा उल्लेख गरिएको छ । उनको साथमा रहेका दुई ज्योतिषी भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिबेलै आफ्ना राजाको इच्छा पूरा हुने भविष्यवाणी गरेको पृथ्वीनारायण शाहको उपदेशमा लेखिएको छ । नेपाल एकीकरणको प्रारम्भबिन्दु चन्द्रागिरिबाटै सुरू भएको र त्यो इच्छा ‘भालेश्वर महादेव’ ले पूरा गरिदिएको जनविश्वास अहिलेसम्म पनि यस क्षेत्रमा रही आएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?