प्याराग्लाइडिङ गर्ने भए गोदावरी जाउँ

पर्यटन बजार९ फाल्गुन २०७५, बिहीबार मा प्रकाशित

प्याराग्लाइडिङ गर्ने भए गोदावरी जाउँ

 फागुन ९, गोदावरी । खुला आकाशमा चराझैँ उड्ने साहसिक खेल प्याराग्लाइडिङ गोदावरीमा फेरी शुरु भएको छ । सन् २००७ मा शुरुवात भई बेला बेलामा बन्द हुँदै र खुल्दै आएको प्याराग्लाइडिङ रु तीन करोड लगानीमा यही डिसेम्बर अन्तिमबाट फेरी सञ्चालन गरिएको हो । यो अवधिमा ३०० फ्लाइट भइसकेको छ ।

ललितपुरको गोदावरीमा प्याराग्लाइडिङ सञ्चालनमा आएपछि रमाउन उपत्यकावासीले हावाको बेगमा सुन्दर दृश्यहरु हेरेर रमाउन अब बाहिरी जिल्ला धाउनु नपर्ने भएको छ । पोखरामा प्रख्यात साहसिक पर्यटनको रुपमा चिनिने प्याराग्लाइडिङ अब उपत्यकामै पाउनु खुशीको कुरा भएको यहाँ पुग्ने पर्यटकको भनाइ छ ।

चलचित्र अभिनेता नाजिर हुसेनले प्याराग्लाइडिङको अनुभव लिँदै आकासमा उड्दाको आनन्द छुट्टै रहेको बताए । “सोच्थेँ प्लेनमा चढेजस्तै हुन्छ होला, घरहरु कार्टुनजस्तै देखिन्छ होला, तर होइन रहेछ, पहिलोपटक यति तलबाट उडेर अनुभव सङ्गाल्दा अविश्मरणीय बन्यो”, हुसेनले भने ।

अघिल्लो हप्ता गायक सागर आलेले पनि गोदावरीको चापाखर्कमा पुगेर प्याराग्लाइडिङमा उडेर नयाँ अनुभव लिएको बताए । “शुरुमा डर महसुस भएको थियो, जब पाइलटले ब्रिफिङमा ९९ प्रतिशत सुरक्षित हुन्छ भने, अनि उडीहालौँ झैँ लाग्यो”, आलेले भने । डेढ दशक अघि पोखराको सराङकोटबाट शुरु भएको साहसिक खेल अहिले विभिन्न जिल्लामा फैलँदै छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लिलाबहादुर बानियाँले काठमाडौँबाट तुरुन्त जान सकिने गोदावरीकोमा प्याराग्लाइडिङ सञ्चालन हुँनु साहसिक पर्यटनका लागि महत्वपूर्ण आयाम भएको बताए ।

नेपाल भ्रमण वर्ष सन् २०२० मा २० लाख बढी पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई पूरा गर्न पनि यसले ठूलो मद्दत गर्ने पर्यटन बोर्डको भनाई छ । काठमाडौँ प्याराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ प्रालिको व्यवस्थापनमा चल्दै आएको यसका निर्देशक नीरज पन्तले बताए । सन् २००७ मा पूर्वमन्त्री केशव स्थापितले संस्था स्थापना गरी शुरु गरेको प्याराग्लाइडिङ सन् २०११ देखि २०१४ सम्म राम्रो चलेको थियो ।

भूकम्पछि भने खासै चल्न नसकेको प्याराग्लाइडिङ कोरियाली च्याङ जिङ ख्वान,  नेपाली व्यवसायी नारायण अर्याल, विनोद शाह, कुमार घिमिरे र ट्रिप कन्सर्नको रु तीन करोड बढीको लगानीमा अहिले पुनः सञ्चालनमा ल्याइएको हो ।

यहाँको क्षमता दिनमा २५ वटा फ्लाइट गर्न सक्ने छ । छ वटा ग्लाइडर छ । गोदावरीको दुई हजार १०० मिटरमाथि चापाखर्कबाट शुरु हुने प्याराग्लाइडिङ एक हजार ६०० मिटरको उचाइमा रहेको रचनटारमा आएर ल्याण्ड हुन्छ । पोखराभन्दा उच्च स्थानबाट उडान रचनाटारबाट १५ देखि ३० मिनेटको उडान भर्न सकिन्छ ।

प्याराग्लाइडिङ चढ्न नेपालीलाई फोटो, भिडियो र काठमाडौँ आउने जाने यातायातसम्म जोडेर रु आठ हजार शुल्क लाग्ने भए पनि अहिले प्रवद्र्धन समय रहेकाले विशेष छुट गरी रु छ हजार ५०० मा उडान गरिरहेको छ । विदेशीलाई रु ११ हजार ३०० शुल्क तोकिएको छ ।

आठ वर्षदेखि उडान भर्दै आउनुभएका पाइलट बवि राउतले हरेक क्षेत्रको आआफ्नै विशेषता भएको बताउँदै हरियाली वनजङ्गल, उपत्यकाको दृष्यावलोकन र हिमशृङ्खला अवलोकनका लागि गोदावरी महत्वपूर्ण गन्तव्य भएको बताए । रासस

Facebook Comment

छुटाउनुभयो कि?