प्रसिद्ध अन्नपूर्ण पदमार्ग दुवै सिजन सुनसान

पर्यटन बजार६ पुष २०७७, सोमबार मा प्रकाशित

प्रसिद्ध अन्नपूर्ण पदमार्ग दुवै सिजन सुनसान

पौष ६, लमजुङ -पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग यो वर्षको दुवै सिजन सुनसान भएको छ । विश्वव्यापीरूपमा कोभिड–१९ ले पारेको प्रभावका कारण पर्यटकको आगमन रोकिएपछि पदमार्ग सुनसान भएको हो ।

अन्नपूर्ण पदमार्गमा अंगे्रजी पात्रोअनुसार पहिलो सिजन मार्चदेखि मे र दोस्रो सिजन सेप्टेम्बरदेखि नोभेम्बरसम्म अत्यधिक पर्यटक आउने गर्दछन् । पर्यटन व्यवसायका निम्ती यी दुवै सिजन पिक सिजनको रूपमा लिने गरिएको छ । वर्ष २०२० लाई सरकारले पर्यटन वर्षको रूपमा मनाउने भव्य तयारीसमेत गरेको थियो । तर यही वर्ष कोभिड–१९ का कारण पर्यटन वर्षसमेत प्रभावित भयो । यो वर्षको पहिलो सिजनका सुरुका हप्तामा उत्साहजनक पर्यटकको आगमन भए पनि पछिल्लो समय बाह्य पर्यटकको आगमन ठप्प भएको हो ।

पहिलो वर्षको मुख्य सिजन मार्च–२३ सम्म एक हजार एक सय ८२ विदेशी पर्यटक अन्नपूर्ण पदमार्गमा प्रवेश गरेका थिए । त्यसयता कोभिड–१९ को प्रभावका कारण सरकारले लकडाउन गरेको र अन्तराष्ट्रिय उडानसमेत बन्द गरिएपछि बाह्य पर्यटक आगमन ठप्प भएको हो । त्यसअघि यही वर्षको जनवरीमा दुई सय ५५ र फेब्रुअरीमा पाँच सय १२ विदेशी पर्यटक अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ प्रवेश गरेको तथ्याँक छ ।

हाल अन्तराष्ट्रिय उडान खुल्ला गरिए पनि पदयात्राका लागि पर्यटकको आगमन हुन सकेको छैन । पछिल्लो महिना हिमाल चढ्ने प्रयोजनका लागि केही बाह्य पर्यटक आउने गरेको भए पनि पदयात्राकै लागि भने पर्यटक नआएको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना बेसीसहरका पर्यटन सहायक बाला घलेले बताए । कात्तिकको पहिलो सातादेखि सरकारले विदेशी पर्यटकलाई नेपाल आउन खुला गरेपछि पदमार्गमा पर्यटक आउन थालेका हुन । घलेका अनुसार कात्तिक महिनामा जम्मा चारजना विदेशी पर्यटक अन्नपूर्ण पदमार्गको मनाङ प्रवेश गरेका छन् भने मंसिर महिनामा ३०÷३५ जना पर्यटक आएका छन् ।

सरकारले विदेशी पर्यटकलाई नेपाल घुम्न खुला गरे पनि पदमार्गअन्तर्गतको मनाङमा भने ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट भएमा मात्रै प्रवेश अनुमति दिने निर्णय भएको छ । मनाङ प्रशासनले बाह्यसँगै आन्तरिक पर्यटकलाई पनि पीसीआर रिपोर्ट अनिवार्य गरेको हो । पर्यटन आगमन ठप्प भएसँगै अन्नपूर्ण पदमार्गअन्तर्गतका पर्यटन चेकपोस्ट पनि खुल्न सकेका छैनन् । लमजुङको सदरमुकाम बेसीसहर, मनाङको धारापानी, चामे र माथिल्लो मनाङको ङिस्याङमा एक्यापअन्तर्गतका कार्यालय खुले पनि टिम्सअन्तर्गतका कार्यालय अझै बन्द रहेको टिम्सको बेसीसहरस्थित चेकपोस्टका प्रमुख नन्दजङ भट्टले बताए ।

अन्नपुर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकाका पर्यटक आउने गरेको बताइन्छ । पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो । पछिल्लो समय विभिन्न क्लब, तथा संघसंस्थामा आबद्धभएका समेत बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा जाने गरेका छन् । लकडाउन सहज भएसँगै मनाङमा आन्तरिक पर्यटक भने केही मात्रामा प्रवेश गरेका थिए । मनाङ प्रशासनको आग्रहबमोजिम ७२ घण्टे पीसीआर रिपोर्ट लिएर विभिन्न जिल्लाका आन्तरिक पर्यटक मनाङ पुगेका हुन् ।

लमजुङ सदरमुकाम बेसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रूपमा चिनिन्छ । बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।
पदयात्राका सौखिनहरूका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको ५ हजार ४ सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पासगर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिएको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?