फागुन १८ गते सिफल जाउँ , मोबाइल फालेर मोबाइल जितौं

पर्यटन बजार१३ फाल्गुन २०७५, सोमबार मा प्रकाशित

फागुन १८ गते सिफल जाउँ , मोबाइल फालेर मोबाइल जितौं

फागुन १३ ,काठमाडौं । रोटरी क्लब र रोट्रयाक क्लबको सहआयोजनामा नेपालमा मोबाइल फाल्ने प्रतियोगिताको आयोजना हुने भएको छ । रोटरी क्लब अफ रुद्रमती, रोट्र्याक क्लब अफ रुद्रमती बबरमहल काठमाण्डौ,रोट्र्याक क्लब अफ रुद्रमती र रोट्र्याक क्लब अफ मनोहराको संयुक्त आयोजना हुन लागेको उक्त प्रतियोगिता यही फागुन १८ गते सिफल मैदानमा चाबेलमा आयोजना हुनेछ । बिहान १० बजेबाट सुरु हुने प्रतियोगिता केही घन्टासम्म चल्नेछ ।

सन् १९९६ मा फिनल्यान्डबाट सुरु भएको उक्त प्रतियोगिता नेपालमा तेस्रो पटक आयोजना हुन लागेको हो । यो प्रतियोगिता सन् २०१५ मा पहिलो पटक रोटरी क्लबले नै आयोजना गरेको थियो । सामाजिक कार्यका लागि आयोजना गर्न लागिएको उक्त प्रतियोगिताबाट उठेको रकमले काठमाडौं तथा देशका विभिन्न ठाउँमा रहेका शारीरिक रुपले अपांगता भएका महिलाहरुलाई मोबाइल सेट वितरण गरिने प्रोग्राम कोअर्डिनेटर तथा रोटरी क्लब अफ रुद्रमति काठमाडौँका मेम्बर किसोर त्रिपाठीले जानकारी गराए ।

यसअघि भएका प्रतियोगिताबाट संकलित रकमले मुगु जिल्लाका विकट गाविसमा सय जना महिलालाई मोबाइल सेट प्रदान गरिएको थियो भने यस बर्षको प्रतियोगिताबाट उठेको रकमले काठमाडौं तथा देशका विभिन्न ठाउमा रहेका शारीरिक रुपले अपांगता भएका महिलाहरुलाई मोबाइल सेट वितरण गरिने छ ।

पन्द्र सयभन्दा बढी सहभागीको अपेक्षा गरिएको प्रतियोगितामा विदेशबाट पनि उल्लेखनीय सहभागिता हुने आयोजकको अपेक्षा छ । आयोजकले प्रतियोगितालाई १४ वर्ष मुनि र त्यो भन्दा माथिका महिला र पुरुष गरी तिन भागमा विभाजन गरेको छ । हरेक समूहबाट सबैभन्दा टाढा मोबाइल फाल्नेलाई एउटा स्मार्टफोन उपहार स्वरुप प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागिता जनाउन आयोजकले ५०० प्रवेश शुल्क निर्धारण गरेको छ । यदि सहभागी हुन चाहनेले चल्ने मोबाइल क्लबलाई प्रदान गरेको खण्डमा निशुल्क सहभागी हुन सक्नेछन् । तर रोटरी र लाइन्स क्लबका सदस्यहरुका लागि १००० र लियो र रोट्र्याकका सदस्यका लागि २५० प्रवेश शुल्क रहेको त्रिपाठीले बताए । उक्त कार्यकम पश्चात रक्तदान कार्यकम र महिला व्हील च्यर बास्केटबल प्रतियोगिता समेत हुने छ ।

Facebook Comment

छुटाउनुभयो कि?