म भाग्यमा होइन, म कर्ममा बिश्वास गर्ने मान्छे हुँ – निमेष पौडेल

पर्यटन बजार२० फाल्गुन २०७५, सोमबार मा प्रकाशित

म भाग्यमा होइन, म कर्ममा बिश्वास गर्ने मान्छे हुँ – निमेष पौडेल

फागुन २०,काठमाडौं । निमेष पौडेलको जन्मस्थान जनकपुर हो । उनी १२ वर्षको हुँदा काठमाडौं आए र काठमाडौंकै हेम्स स्कुलमा अध्यन गरेर एसएलसीमा उत्तीर्ण गरे । उनी ११ / १२ वर्षको उमेरदेखि नै साहित्यमा रुची राख्थे । सानो उमेरमै नेपाली साहित्यको उपन्यास विधा लेखन सुरु गरेका छन् । उनको किताब फाइभ मन्थ्स बुलबुल पब्लिकेसनको बेस्ट सेलर पनि हो । हालै उनको अर्को उपन्यास फेब्रुवरी १४ सार्वजनिक भएको छ । पुस्तकले एकदमै राम्रो प्रतिकृया पाइरहेको छ ।यहि पुस्तकको विमर्श कार्यक्रममा फेब्रुवरी १४ का लेखक निमेष पौडेलसँग बिनिता सिवाकोटीले साहित्यसम्बन्धी गरेको कुराकानी ।

१.फेब्रुअरी १४ को बारेमा बताईदिनुहोस न ?

जव मैले फाइभ मन्थ्स लेखे त्यो पछी धेरै पाठकले मलाई प्रश्न गर्नुभयो के प्रेम दुरीले घट्छ त ? साँचो प्रेमलाई त दुरीले असर पार्दैन , त्यहि हिसाबले यसलाई मैले मनन गरे , यसलाई मैले लेखे भने यो युवा पुस्ताको लागि एक मजबुत कथा बन्छ,   त्यसको लागि मैले फेब्रुअरी १४ लेखें ! साथै प्रेममा प्रेम मात्र रहँदैन , समाज पनि जोडिन्छ , समाजको हरेक प्रतिबिम्बहरु जोडिन्छन यहाँ यस्तो पात्र छ , जसले आफ्नो बाबु गुमाएको छ बाबु गुमाएको छोराले आमालाई कसरी हेरचाह गर्छ , एक युवाले गर्ने परिश्रम , मेहेनत,  प्रेमको संघर्ष , प्रेमी प्रेमिकाको दुरी सहितको प्रेमलाई फेब्रुवरी १४ मा पढ्न सकिन्छ ।

२. यो उपन्यास लेख्ने प्रेरणा कहाँ बाट पाउनुभयो ?

जव मैले फाइभ मंथस लेखे त्यसको १ हप्ता पछी मलाई एक पाठकको मेसेज आयो ।उक्त मेसेजमा आजकलको समयमा धेरै विदेशीएका युवाहरुको संगै उनीहरुको माया पनि टाढिएको हुन्छ । प्रेमी प्रेमिका बिदेशीए संगै मायामा पनि दुरी आउँछ , कतिपय टाढै भएपनि टच मा रहन्छन भने कतिपय एकाएक बदलिन्छन र टाढा बनिदिन्छन । कसैको माया यति सच्चा र गाढा हुन्छ की जसलाई दुरीले कुनै फरक पार्दैन । प्रेम साँचो छ भने सात समुन्द्र पारले कुनै फरक नपर्ने खालको एउटा उपन्यास लेख्नुहोस न भनेर लेखिएको थियो । त्यहींबाट युवा पुस्ता जो बाध्यता , रहर र पढाइले गर्दा आफ्नो प्रेमी प्रेमिकाबाट टाढा बहेका छन् उनीहरुको लागि मैले यो पुस्तक लेखे !

३. लेख्ने क्रममा रुनुभएको छ ?

फेब्रुअरी १४ लेख्दा आमाप्रतिको माया लेख्दा म निकै पटक रोएको छु । त्यसमा पात्रको आमा जो भारतको अस्पतालको आइसियु मा भर्ना हुन्छ , पात्र त्यस समय निकै दोधारमा हुन्छ । उसलाई के लागेको हुन्छ भने नेपालमा रहेकी उसकी प्रेमिका कतै अरु कसैको मायामा त परिन ।यहि सोचले खाएको उसलाई प्रेमिका भेट्न नेपाल जाने की आमालाई कुरेर भारत मै बस्ने भन्ने दोसाध परेको हुन्छ । त्यो परिस्थितिमा आमाले भन्नुहुन्छ , म अहिले मर्छु की भरे वा भोलि मेरो कुनै ठेगान छैन, म त अस्ताईसकेको घाम हुँ तर तेरो प्रेम को त अझै जीवन छ ,  तँ आज नेपाल फर्किनस भने तैले भोलि बाट उसलाई हेर्न पाउने छैनस ।यो समय तेरो लागि म भन्दा तेरो प्रेम जरुरि छ , तैले उसंग हो जीवन जिउने । त्यो संवाद लेख्दा र अझै पनि जव म सम्झिन्छु मेरो रौँ ठाडो हुन्छ । कहिले आफ्नो आमालाई अंकमाल नगरेको मैले त्यस दिन आमालाई कसेर अंकमाल गरे ।

 ४. अहिले त झन् धेरै युबा हरु बिदेशिएका छन्, अमेरिका अष्ट्रेलिया जस्ता देशमा गएका वा भनौ पी आर लिने अनि नेपाल आएर बिहे गर्ने त्यहि क्रममा विदेशको लोभमा आफ्नो प्रेमी त्यागेर पीआर वाला संग बिवाह गर्ने पनि धेरै छन् , र बाबुआमाको करकापमा बिहे गर्नेको संख्या पनि उल्लेखनीय छ यस बिषयमा केहि लेख्नुभएको छ वा अर्को पुस्तकमा हामीले यसलाई पढ्न पाउँछौ ?

मैले लेख्ने भनेको युवा पुस्ताको लागि हो। सबै कुरा एउटा पुस्तकमा समेट्न सकिदैन , त्यसैले केहि कुरालाई थाँती राखेर अर्को पुस्तकमा समेट्नुपर्ने हुन्छ जस्तै यसमा प्रेमलाई दुरीले फरक पार्दैन भन्ने छ भने अर्को पुस्तकमा प्रेम बिर्सिनुहुन्छ की , धेरै अघि बिछोड भएको प्रेमी प्रेमिकाको पुनर्मिलन हुन्छ की हुदैन त्यसैले यस्ता बिषयक लागि अन्य किताबको पर्खाइमा बस्नुपर्ने हुन्छ । मैले चाहिं युवा पुस्तलाई लक्षित गरेर लेख्छु कथा धेरै हुन्छन , सबैको कथा फरक हुन्छन त्यसकारण यी बिषयमा भविष्यमा अवश्य लेख्ने छु ।

५.  प्रेम र भाग्यमा कति को बिश्वास गर्नुहुन्छ ?

म भाग्यमा होइन, म कर्ममा बिश्वास गर्ने मान्छे हुँ । यदि तपाईं कसैलाई साचो माया गर्नुहुन्छ भने तपाईहरुको माया साँचो छ भने त्यसलाई छुटाउने कोहि पनि हुँदैन , यदि बिछोड हुनुहुन्छ भने त्यो तपाईहरु आफै हो त्यसैले साँचो मायामा भाग्य , भुत , वर्तमानले केहि फरक पार्छ जस्तो लाग्दैन मलाई ।प्रेम साँचो हुनुपर्छ , न तपाईलाई समाजले , परिवारले, जातले  , आउने आँधीहुरीले केहिले फरक पार्न सक्दैन । त्यसैले प्रेम प्रेम हो , मायालाई पाउन मा अघि बढ्नुस , भाग्यमा भर परेर नबस्नुस ।

६. फेब्रुअरी १४ भर्खरै सार्वजनिक भएको छ , पाठकहरुको कस्तो प्रतिकृया पाईराख्नु भएको छ ?

पाठकहरुको एकदमै राम्रो प्रतिकृया पाइरहेको छु , किताब सार्वजनिक भएको २ हप्तामा हामीले दोस्रो एडिसन पनि निकालीसक्यौं । पाठकहरु यस किताब पढ्दा आफ्नो साथि , आमा र प्रेमिकालाई सम्झेर रुनुभएको छ । यस्ता उपन्यास तपाईले अझै लेख्नुपर्छ , यस्ता उपन्यास लेखिएन भने अबका पुस्ताले प्रेम के हो भन्ने कुरा बिर्सिने छन् , मैले कस्तो प्रेम गरिरहेको छु भन्ने उनीहरुलाई आभास हुने छैन त्यसैले यस्ता लेखहरु निरन्तर लेख्नुहोस भनेर प्रतिकृया दिनुभएको छ । हालसम्म सबैको माया र सकारात्मक प्रतिकृया पाएको छु ।

७.  पहिलो संस्करणमा कति प्रति पुस्तक छाप्नुभएको थियो ?

पहिलो संस्करणमा हामीले ५ हजार पुस्तक छापेका थियौं , र आज हामीले आफ्नो पाठक माझ पुस्तक विमर्श कार्यक्रम पनि राखेका छौं आज जति पाठकले पुस्तक लिनुभएको छ त्यो सबै दोस्रो संस्करणकै हो । यो पुस्तक एक युवाले लेखेको भएर पनि पाठकले रुचाउनु भएको हो , यसमा पक्कै निमेषले केहि खास लेखेको छ भन्ने पाठकलाई बिस्वाश भएर हो जस्तो लाग्छ  । फाइभ मंथसमा मैले बुवाको लागि लेखेको थिए भने फेब्रुअरी १४ मैले आमाको लागि लेखेको छु ।

८.अब पाठकले अर्को पुस्तक कहिले पढ्न पाउँछन त ?

फाइभ मंथस र फेब्रुअरी १४ मैले करिब डेढ बर्षको फरकमा सार्वजनिक गरेको हुँ , अब आउने नयाँ पुस्तक पनि यति कै ग्यापमा अर्थात २०७७ सालमा सार्वजनिक गर्ने सोच छ , म केहि सरप्राइज प्याकेज लिएर आउने छु ।

९. भनिन्छ कुनै पनि कुरालाई लेख्न भाव चाहिन्छ आफ्नो जीवनसंग मेल नखाई शब्द फुर्दैन, के तपाइको जीवनमा यस किताबसंग मेल खाने कुनै क्षण छ ?

हैन लेख्दा मैले समाजलाई हेरेर लेख्ने हो , मानिसहरुको ब्यबहारलाई हेरेर लेख्ने हो । जवसम्म मैले फिल गरेर पाठकलाई किताबसंग जोड्न सक्दिन तव मेरो किताब चल्दैन ।  त्यसैले म क्याफेमा चिया खाँदा होस् या बाटोमा हिड्दा होस् मानिसहरुलाई अवलोकन गर्ने गर्छु । उनीहरुले गरेका क्रियाकलापहरुलाई नियाल्छु , आफ्नो साथिहरुको भनाइ , उनीहरुको प्रेम लाई देखेर महसुस गरेर लेख्ने गर्छु र आमा संग को प्रेम,  म संग आमा हुनुहुन्छ म त्यसलाई फिल गर्न सक्छु आमाको माया , बलिदान  , हेरचाह वहाँको माया मसंग छ , त्यस्तै बुवा हुनहुन्छ वहाँको माया पनि मैले महसुस गर्न सक्छु , त्यस्तै साथीहरु छन् । मसंग बाँकी रहेको प्रेम हो , कुनै समय मैले पनि प्रेम गरेको थिए होला त्यसलाई आभास गरेर पनि लेखे । त्यसैले जति लेखेको छु सबै आभास गरेरै लेखेको छु र आगामी दिनहरुमा पनि यसरी नै अघि बढ्छु ।

१०. यति धेरै प्रेमको बारेमा लेख्ने निमेषको जिन्दगीमा प्रेम छ की छैन ?

यो प्रश्न धेरैले सोध्नु भएको छ । निमेषले पनि प्रेम गरेको छ तर त्यो प्रेम कसरी गरेको छ भने एक जना मसंग एउटा यस्तो साथि छे जसले चाही मलाई तिमीले गर्न सक्छौ भनेर हिम्मत दिन्छे , हौसला दिन्छे , तिमीले गर्नुपर्छ भनेर अघि बढ्न सहयोग गर्छे । तर हाम्रो पछि गएर बिवाह हुन्छ हुँदैन , त्यो थाहा छैन तर उसंग हुँदा एउटा मित्रताको आभास हुन्छ ,गुलाबको फुल नै तपाईसंग हुनुपर्छ भन्ने छैन तपाइको नजिकै गुलाब छ भने त्यसको सुगन्धले पनि तपाइलाई आनन्द प्राप्त हुन्छ , त्यो हिसाबले प्रेमिका नै चाहिं छैन तर प्रेमिका जस्तै ख्याल गर्ने साथि चाहिं छे ।

११. यतिको योंग हुनुहुन्छ , ह्याण्डसम पनि हुनुहुन्छ , यति राम्रो लेख्नु पनि हुन्छ , प्रेम प्रस्ताब चाहिं कतिको आउँछ ?

मलाई प्रेम प्रस्ताबहरु धेरै आउँछन । एउटा यस्तो घटना छ की मैले एक जना पाठकको मेसेज हेरेको रहेनछु जसमा वहाँले आइ लभ यु लेखेर पठाउनुभएको रहेछ मैले मेसेज नहेरेपछि वहाँले अच्युत घिमिरे (बुलबुल) लाई निमेष पौडेललाई प्रेम प्रस्ताब राखिदिनुहोस न मैले आइ लभ यु भनेको छु भनेर भनिदिनुहोस न भन्नुभएको रहेछ । कति ले मलाई क्रस लेख्नुहुन्छ , माया गर्नुहुन्छ त्यसले धेरै खुसि दिन्छ !

१२. आफ्ना पाठकलाई के भन्न चाहनुहुन्छ ?

पाठकहरु नभएको भए सायद म पनि हुने थिइन , निमेष पौडेल यति खास हुने थिएन , जति पाठकहरुले मलाई बनाउनु भयो । मेरो पाठकहरुकै कारण आज म यहाँ सम्म आइपुगेको छु । यति धेरै माया र साथको लागि सबै पाठकलाई मनै देखि धन्यवाद दिन चाहन्छु , पाठकहरुले मलाई मेसेज गर्नुहुन्छ , भेट्छु भन्नुहुन्छ , तपाइको किताब धेरै मन पर्छ , तपाइको किताब आएपछि अरुको किताब पढेको छैन भन्नुहुन्छ जसले धेरै खुसि लाग्छ । संधै भरि यसरी नै साथ दिएर अघि बढ्न मेरो पाठकहरुले मलाई मद्दत गर्नुहुनेछ भन्ने मलाई बिश्वास छ सबैलाई धन्यवाद ।

निमेष जी व्यस्तताको बावजुद हामीलाई समय दिनुभयो तपाइको कलमले निरन्तरता पाइराखोस्, नयाँनयाँ पुस्तक हामीले पढ्ने मौका पाईरहुँ , नयाँ उपन्यासले पनि धेरै सफलता पाओस् धेरैधेरै शुभकामना धन्यवाद !

Facebook Comment

छुटाउनुभयो कि?