बर्दियामा बाघ आतंक : दिउँसै सडकमा निस्कन थाले, संरक्षण चुनौतीपूर्ण

पर्यटन बजार२८ पुष २०७७, मंगलवार मा प्रकाशित

बर्दियामा बाघ आतंक : दिउँसै सडकमा निस्कन थाले, संरक्षण चुनौतीपूर्ण

पुस २८, काठमाडौँ।बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा पुष १७ गते राती पाटेबाघले गुडिरहेकै मोटरसाइकलमा आक्रमण गरी एक महिलाको ज्यान लियो। सो घटनापछि निकुञ्‍जका बाघ हिंस्रक बनेको भन्दै चिन्ता र आक्रोश बढिरहेको छ। 

बाघले आक्रमण गरिरहँदा राजमार्गमा यात्रा गर्न नै डराइमर्दो भएको छ। राजमार्ग हुँदै यात्रा गर्नेहरूले हरेक दिन त्यहाँ बाघ भेटएको तस्वीर र द‌ृश्यहरू विद्युतीय सामाजिक सञ्‍जालमा राखिरहेका छन्‌।

​मानव-वन्यजन्तु द्वन्द्वको नयाँ जोखिम

अहिले बर्दिया राष्ट्रिय निकुञ्‍जमा बाघ र मानिसबीच भइरहेको जम्काभेट तथा क्षति मानव वन्यजन्तु द्वन्द्व (ह्युमन-वाइल्डलाइफ कन्फिल्क्ट) मा नयाँ जोखिम हो।

स्थानीयबासीले मानिस खान पल्केको नरभक्षी बाघलाई नियन्त्रणमा लिन या मार्न प्रशासनसँग माग गरिरहेका छन्‌। संरक्षणकर्मीहरूले भने बर्दिया निकुञ्‍जमा संख्या बढेको र बासस्थान क्षेत्रमा पर्ने सडकमा बाघ निस्कनु स्वाभाविक रहेको बताइरहेका छन्‌।

​यसअघि मानिस र सवारीसाधनको बाक्लो आवतजावत हुने राजमार्गमा दिउँसै पाटेबाघ आउने गरेको खासै देखिएको/सुनिएको थिएन। तर, केही महिनायता अम्रेनी-चिसापानी क्षेत्रका सडकमा रातीमा मात्र नभई दिउँसै पाटेबाघले ‘गस्ती गर्न’ थालेको छ।

२ दशकपछि उस्तै घटना

राष्ट्रिय वन तथा निकुञ्ज र मध्यवर्ती क्षेत्रको सामुदायिक वन आसपासमा पाटे बाघको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ। बन्यजन्तुको बासस्थान नजिक हुने यस्तो घटनालाई त्यति अस्वाभाविक ठानिँदैन र पीडितलाई क्षतिपूर्ति तथा थप क्षति रोक्ने उपाय निरन्तर अवलम्बन गरिन्छ।

 तर, निकुञ्जभित्र पर्ने राजमार्गमै धेरै वर्षपछि फेरि यस्तो दुःखद घटना भएको बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रमेशकुमार थापाले बताए।उनका अनुसार झण्डै २१ वर्ष अघि २०५६ सालमा निकुञ्जको यही क्षेत्र आसपासमा राजमार्गमै पाटे बाघले मोटरसाइकलमा सवार कैलाली लम्कीका फिल्म हल साहुलाई आक्रमण गर्दा ज्यान गएको थियो। अहिले उस्तै प्रकृतिको घटना दोहोरिएको छ। आन्तरिक र बाह्य पर्यटकहरूले बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्जलाई नै रोज्ने गर्छन्। यो निकुञ्जमा पछिल्लो समय पाटे बाघको संख्या पनि बढ्दै गएको छ। कोरोना महामारी फैलनुअघिका वर्षहरूमा बर्दिया निकुञ्‍जका आकर्षक पाटेबाघले स्वदेशी र विदेशी पर्यटकलाई मोहित पार्ने गरेको थियो। बाघ हेर्नकै लागि बर्दियामा पर्यटकको ओइरो लाग्थ्यो।गत वर्षको चैत्र महिनादेखि लकडाउन भयो र राजमार्गमा यातायातका साधन खासै चलेनन्‌। पाटेबाघको बासस्थान क्षेत्रमा पर्ने भनिएको यो सडक त्यसयता लगभग बाघकै कब्जामा थियो।निकुञ्‍जभित्र पर्ने पूर्व-पश्चिम महेन्द्र राजमार्गमा दिनहुँ बाघ हिँडिरहेका फोटो र भिडियो त्यहाँका अधिकारीहरूले कैद गरेका थिए। यसबीचमा बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्र अन्तर्गतका जैविक मार्ग तथा सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट ७ जनाले ज्यान गुमाए।

Facebook Comment

छुटाउनुभयो कि?