बहराइनका राजकुमार २१ जनाको टोली सहित मनास्लु चढ्न उत्तरी गोरखा पुगे

पर्यटन बजार२० आश्विन २०७७, मंगलवार मा प्रकाशित

बहराइनका राजकुमार २१ जनाको टोली सहित मनास्लु चढ्न उत्तरी गोरखा पुगे

असोज २०, काठमाडौं।बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली गोरखाको सामागाउँमा पुगेका छन्। मंगलवार बिहान हेलिकोप्टर मार्फत राजकुमारको टोली उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँमा पुगेका हुन्।

राजकुमारलाई स्थानीयले आफ्नै धार्मीक सांस्कृतिक पहिरनमा सजाउनुका साथै गीत गाएर स्वागत गरेका वडा अध्यक्ष बिरबहादुर लामाले बताए।

राजकुमार सेख मोहम्मतको हिमाल आरोहणका लागि सेभेन सम्मिट ट्रेक्स प्रालिले व्यवस्था मिलाएको छ। उनीहरु पहिलो दिन मंगलबार स्थानीय वीरबहादुर लामाको होटलमा बसेका सो प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले जानकारी दिए।

आरोहण टोलीमा बहराइनका शाही परिबार, सुरक्षा टोली, नेपाल तथा हल्याण्डका आरोहण गाइडसहित २१ जना रहेका शेर्पाले जानकारी दिए। हिमाल आरोहण गर्न बुधवार टोली बेसक्याम्प तर्फ जाने योजना छ।  अक्टुवर १५ देखि २० तारिखभित्र ८,१३० मिटर अग्लो मनास्लु हिमाल आरोहण गरिसक्ने तय भएको छ।

मनास्लु आरोहणको तयारीका लागि ७५ जनाको टोली एकसाताअघि नै मनास्लु आधार शिविर पुगिसकेको थियो। राजकुमारको आरोहण टोलीलाई हल्याण्डका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक अर्नाल थ्रेस्टरले गाइड गर्नेछन्। यसअघि राजकुमारको टोलीले गत शनिबार सोलुखुम्बु जिल्लाको ६,११९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेका थिए।

राजकुमार को यो यात्राले नेपालको पर्यटनमा थप आयाम थपिने विश्वास लिइएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?