बिकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ – प्रम ओली

पर्यटन बजार२८ चैत्र २०७५, बिहीबार मा प्रकाशित

बिकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ – प्रम ओली

चैत २८, भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताएका छन्। सैनिक अधिकृतहरुको दीक्षान्त समारोहलाई आज खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्।

प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढाएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकीकृत गरी नेपाल निर्माण गरेको बताए।

प्रधानमन्त्री ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमासमेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ति सुरक्षासँग सम्बद्ध सुरक्षा निकाय समेत सदैव सजग र सतर्क रहनु पर्ने बताए।

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगत देखि नै उल्लेखनीय कार्य गरेको स्पष्ट पारेको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ। “नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको छ,” प्रधानमन्त्री ओलीले भने, “आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध बिस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ।”

 प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश अहिले स्थायित्वको जगमा सुदृढ सुव्यवस्था र तीब्र विकासको बाटोबाट अघि बढेको धारणा राखे। “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारी राष्ट्र विकास गर्ने हाम्रो संकल्प रहेको छ,” प्रधानमन्त्री ओलीले थपे “विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ।”

Facebook Comment

छुटाउनुभयो कि?