बेथानञ्चोक – यात्रा एक अनुभव अनेक !

पर्यटन बजार१६ पुष २०७७, बिहीबार मा प्रकाशित

बेथानञ्चोक – यात्रा एक अनुभव अनेक !

पुस १६ ,काठमाडौँ। काभ्रे जिल्ला प्राकृतिक विचरण, अध्ययन, अनुसन्धान र मनोरञ्जन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटक हरुको उत्कृष्ट स्थान बनेको छ । राजधानीको अस्तव्यस्त वातावरणबाट आजित भई फ्रेस हुन चाहानेहरुको लागी बेथाञ्चोक उत्कृष्ट गन्तव्य हो । महाभारत पर्वत श्रृंखलामा अवस्थित प्राकृतिक मनोरम दृश्य, वनस्पति, वन्यजन्तु र कृषि संस्कृति हेर्न पाउने भएसँगै पर्यटकहरू यस क्षेत्रमा आकर्षित भएका हुन्। तीन हजार उचाईमा रहेको महाभारत श्रृंखलामा रहेको नारायणथानबाट हिमाल, तराई, पहाडको दृश्यावलोकन गर्न सकिनुका साथै हिम श्रृंखला र विभिन्न जैविक विविधताको अवलोकन अध्ययन गर्न सकिन्छ।

बेथानञ्चोक दक्षिण एसियामा फैलिएको महाभारत पर्वत श्रृखलाको सबै भन्दा अग्लो स्थान (३०१८ मिटर) पछिल्लो समय यस स्थान उत्कृष्ट दृष्यावलोकनका कारण पहाडहरुको राजा नामले पनि परिचित छ ।

विश्वमा ८००० मिटर भन्दा अग्ला १४ ओटा हिमालहरु छन् त्यस मध्ये नेपालमा ८ ओटा र नेपालको सिमानामा पर्ने तिव्वतमा १ ओटा हिमाल रहेको छ । त्यस मध्ये नेपालमा पर्ने ७ ओटा र तिव्वतमा पर्ने १ गरि ८ ओटा ८००० मिटर भन्दा अग्ला हिमालहरु बेथाञ्चोक गाउपालीका वडा नं. ३ मा पर्ने बेथाञ्चोक नारायणस्थान र सोही संगै रहेको अर्को पहाड झण्डागाडे / चुलिडाँडा (गजरामको थुम्का हो जसलाई झण्डागाडे, चुलि डाँडा नामले चिनिन्छ) मा बसेर अवलोकन गर्न सकिन्छ । जहाँवाट नेपालको पुर्वमा पर्ने मकालु बरुण देखि पश्चिममा पर्ने धौलागीरी सम्मका सम्पुर्ण हिमश्रृखला यस स्थानबाट स्पष्ट देख्न सकिन्छ ।

यो एक यस्तो स्थान हो जहाँ बाट एकसाथ सबैभन्दा बढी दृश्यावलोकन गर्न सकिन्छ। यो ठाउँ झरनाको लागि पनि उत्तिकै धनि छ।  तीनतले झरना , रतन खोला झरना ,छ्याङ्ग छ्याङ्गे  झरनालगायतले यहाको सुन्दरता मा सुगन्ध छरेका छन्। समुद्र सतहबाट करिब २७ सय मिटर उचाईमा विहावर क्षेत्रस्थित पर्वत अग्लो फूलचोकीमा जैविक विविधतासँगै ट्राउट माछा, विभिन्न पशुपंक्षीको अवलोकन, फूलचोकी नजिक उक्त ठाउँबाट पूर्वमा कञ्चनजंघा र पश्चिममा माछापुच्छ्रे हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ।

होम स्टेमार्फत ग्रामीण पर्यटनका रूपमा महाभारतका जंगलको अध्ययन, अवलोकन र मनोरम दृश्यका लागि पर्यटक आउने गरेको बेथानचोक गाउँपालिकास्थित माउन्ट महाभारत होमस्टे सञ्चालक कमल नेपाल बताउँछन्। कोरोना महामारीको असर बाट महाभारत शृंखला पनि अछुतो रहन सकेन , करिब ७ महिना त शुन्यता मै थियौं हामी , अहिले भने एकाध बिदेशी पर्यटक र केहि आन्तरिक पर्यटकको आगमनले चहलपहल  सुरु भएको नेपालले बताए  । हाल यस क्षेत्रमा स्थानीय पर्यटक हरुको राम्रै उपस्थिति हुन थालेकोमा होम स्टे कर्मीहरुमा खुसि छाएको नेपालको अनुभव छ।

 पर्यटकलाई आकर्षण गर्न स्थानीय कला संस्कृति कृषिमा संलग्नता गराउँदै प्रकृतिसँग घुलमिल गराउने भएकोले पनि पर्यटकहरुले  मनोरञ्जनसँगै काम सिक्ने, ग्रामीण वातावरणमा रम्ने, घुलमिल हुने मौका पाउँदा पर्यटकहरू पछिल्लो समय आकर्षित भएका हुन्। उनका अनुसार, विश्वका विभिन्न मुलुकबाट आएका पर्यटकलाई प्याकेज बनाएर पर्यावरणसँगै घुलमिल गराइन्छ।

अर्गानिक खाना र उत्पादनमा जोड

 अर्गानिक खेतीमा संलग्न गराउने, मनोरञ्जन, हाइकिङ, ट्रेकिङ र सांस्कृतिक विविधता अध्ययन संलग्न, प्राकृतिक वस्तुको अवलोकन र चिनारी गर्ने गरेको, नेपालले थपे, ‘अर्गानिक तरकारी उत्पादन गर्न लगाउँछौ र खुवाउँछौं। साथै योग र ध्यानको सेवासमेत दिने गरेका छौं, जसले आन्तरिक पर्यटकको संख्यामा समेत वृद्धि भएको छ।’ ‘इको–टुरिष्ट’ गाउँघरमा उत्पादन भएका तरकारी, अन्नपात र अन्य स्रोतसाधनलाई उपयोग गर्दै पाहुनालाई स्वागत सत्कार गर्ने गरेको उनले बताए। पर्यटन जस्तै कृषिको क्षेत्रमा पनि प्रचुर सम्भावना बोकेको बेथाञ्चोकको विषेश खाद्य परिकारहरुमा हिमाली चामलको भात, सेराना प्रजातिको माहुरीको मह, अल्लो सिस्नो, खुवा लगाएतका दुग्ध जन्य परिकारहरु, लोकल मकैको ढिडो, ऐंसेलु काफल लगाएतका विभिन्न प्रकारका प्राकृतिक फलहरु रहेका छन् ।

रोजगारीको सृजना  संगै लगानीको वातावरण

 होमस्टेले रोजगारीको सृजना गर्नुका साथै ग्रामीण भेगमा रहेका स्रोत साधनको उपयोगिता समेत बढाएको छ । जिल्लाका माउन्ट महाभारत होमस्टेमा वार्षिक पाँच सय, पात्लेखेत होमस्टेमा तीन सय, बल्थली होमस्टेमा पाँच सय, बेथानचोक सामुदायिक होमस्टेमा दुई सय, पनौतीको सामुदायिक होमस्टेमा पाँच सय, शंखु होमस्टेमा दुई सय, मानेगाउँ सामुदायिक होमस्टेमा दुई सय, भैंसेपाटी नमस्ते होमस्टेमा एक सय र बनेपा रेम्बो होमस्टेमा वार्षिक दुई सय ५० भन्दा बढी पर्यटक भित्रनेका छन् । ग्रामीण पर्यटनको विकासले पर्यापर्यटन विस्तार, सीप विकास र व्यावसायीकरण, कृषिमा विविधीकरण र व्यावसायीकरण, जीविकोपार्जनका वैकल्पिक स्रोतहरूको पहिचान र कार्यान्वयन, रोजगारी तथा प्राकृतिक स्रोतसाधनको संरक्षणमा भएको छ। पछिल्लो समय पर्यटनको आगमनसँगै गाउँघरमै लगानी र पुँजी वृद्धिको वातावरण समेत वृद्धि हँदै जाँदा करौडौं रकम भित्रने गरेको छ ।

प्रकृतिको रसस्वादन

प्राय सदावहार हरियाली रहने यहाँका जंगलले सधै आगन्तुकको आँखामा सितलता र मनमा आनन्द भरिरहेका छन् ।  विभिन्न सिजनमा जंगलै ढकमक हुने गरि फुल्ने छ प्रकारको लालिगुराँस लगाएत अन्य प्राकृतिक फुलहरुले पहाडहरुमा थप सुन्दरता प्रदान गरिरहेका छन् ।

बदेल, मृग, घोरल जस्ता बन्यजन्तु तथा डाँफे, मुनाल लगाएतका चराहरु अवलोकनका लागि पनि यस स्थान उपयुक्त छ । पाँचऔले, सुगन्धवाल, लोठ सल्ला, सतुवा लगाएतका २०० भन्दा बढि बहुमुल्य जडिबुटिहरु यस स्थानमा प्राप्त गर्न सकिने हुँदा जडिबुटिहरुको बैंक यसको दोस्रो नाम बन्न सक्छ ।

पहाड संगै रहेका ठुला–ठुला चट्टानहरु र चट्टान विचमा रहेको प्राकृतिक रहस्यमय गुफाहरु अन्वेषणका केन्द्रहरु हुन यहाँका चट्टानहरुले पनि उत्कृष्ट रक क्याइमिङ्गको सम्भावना बोकेको छ । जलविद्युतको प्रचुर सम्भावना बोक्दै निरन्तर बग्ने खोलाहरु वास्तवमै सुन्दर छन्  । प्रायः हिउदको समयमा यहाँ हिउँ पर्दछ हिउँ खेल्नको लागी सयौं युवाहरु बेथानचोक आउने गरेका छन् ।

बेथाञ्चोक नारायणस्थान संग तुलना गर्न मिल्ने यस स्थान सुन्दर फरालोकिलो र थली परेको छ चुलिडाँडावाट दक्षिण तर्फ रहेको अर्को डाँडा जहाँ बाट भयानाक भिर तथा चट्टानहरुको अवलोकन गर्न सकिन्छ जुन स्थानले बेथाञ्चोकमा पनि रक क्याइमिङ्गको  सम्भावना रहेको छ ।नेपालको राजधानीबाट ४५ किमी दुरीमा रहेको महाभारत पर्वत आसपास फैलिएको गाउँ बेथाञ्चोक  विविधताले भरिएको छ जुन राजधानीवाट नजिक पर्ने गतव्यको एक उत्कृष्ट गन्तव्य हो ।

ब्रामण, क्षेत्री, तामाङ्ग, नेवार, मगर, दलितको मिश्रीत बस्तीको रुपमा रहेको यस स्थानमा तामाङ्ग समुदायको झाँक्री नाच, ब्रामण समुदायको खैजेडी भजन, मन्दिरमा हुने भजन यहाका कला संस्कृतिहरु र परम्परागत शैलिमा निमार्ण ढुंगा माटो र काठवाट बनेका घरहरु पर्यटन मैत्री छन् जसले विश्वसामु बेथाञ्चोकको विविधतालाई चिनाउन मद्दत पुगेको छ ।

बेथाञ्चोकमा होमस्टेको अलावा फार्म हाउस, रुम–स्टे, रिट्रिट सेन्टर र केहि होटलहरु संचालनमा आएका छन् जसले बेथाञ्चोक आउने पर्यटकहरुलाई खाना बासको राम्रो प्रबन्ध गरिरहेको छ ।

स्थानीयवासीको गुनासो

ग्रामीण भेगमा कच्ची सडक, यातायात र अन्य भौतिक पूर्वाधारको अभाव, प्रभावकारी सुरक्षा व्यवस्था र पर्यटकीय क्षेत्र विकास गर्न पर्याप्त बजेट, प्रचार प्रसार र गुरुयोजना नहँदा पर्यावरण पर्यटनमा समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ।

कसरी पुग्ने माउण्ट महाभारतमा ?

 सर्वप्रथम काठमाडौं को रत्नपार्क बाट पनौती सम्मको यात्रा गर्नुपर्नेछ। त्यसपछि पनौती बाट ढुंखर्क को लागि अर्को बस चढनु पर्ने हुन्छ । जसमा तपाईंको यात्रा हुनेछ करिब डेढ घण्टाको । त्यहाँको गेल्दुङ बजारमा ओर्लिएपछि एक घण्टाको पदयात्रा पश्चात पुग्नुहुनेछ गन्तव्यमा। वा रत्नपार्क बाट सीधा बस मार्फत पनि त्यहाँ पुग्न सकिनेछ। नोट: ढुंखर्क मा बेलुकाको ५ बजेसम्म पुगिसक्नुपर्नेछ अन्यथा तपाईंले त्यहाँबाट बस पाउनुहुने छैन।

Facebook Comment

छुटाउनुभयो कि?