बैशाख १ गतेबाट सुरु हुने टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा

पर्यटन बजार२८ चैत्र २०७५, बिहीबार मा प्रकाशित

बैशाख १ गतेबाट सुरु हुने टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा

काठमाडौं,२८ चैत्र । आगामी बैशाख १ गतेदेखि बैशाख ४ गतेसम्म मनाउने टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे टोखा विस्केट जात्रा मुल व्यवस्थापन समितिले बैशाख १ गतेबाट बैशाख ४ गतेसम्म चल्ने जात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । जात्राको बारेमा प्रचार–प्रसार गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै टोखा नगरपालिकाकी उप–प्रमुख ज्ञानमाया डंगोलले ऐतिहाँसिक तथा सांस्कृतिक महत्व बोकेको जात्रा टोखा नगरवासीकोमात्र नभएर देशकै गहनाको रुपमा रहेको स्पष्ट पारिन् ।
टोखालाई चाकुको राजधानीको रुपमामात्र नहेरेर मौलिक परम्परादेखि चल्दै आएको नेपालकै सबैभन्दा पुरानो बिस्केट जात्राको रुपमा बुझ्नपनि आवश्यक रहेको उनले बताईन् ।

उनले जात्रा व्यवस्थापनको लागि मूल समिति तथा उप–समिति गठन भैसकेको समेत जानकारी दिईन् । उनले उक्त जात्रा सम्पन्न गराउन नगरपालिकाले बजेटको बिनियोजन पनि गरिसकेकोे बताईन् । सपनतिर्थ मन्दिर परिसरको त्रिवेणी र दूधबेनी खोलाको संगम स्थललाई थुनेर बनाईएको पोखरीमा स्नान गर्दा कुष्ठ तथा चिलाउनेजस्ता रोगहरुको पनि निराकरण हुने उनले विश्वास दिलाईन् । उनले थपिन्,‘स्वयम् मैले पनि यसबारेमा महशुस गरेको छु ।’  वैभवशाली गर्विलो इतिहास बोकेको जात्रा भएपनि अहिलेको पुस्ताले जगेर्ना गर्न अग्रसर नभएकोमा उनले गुनासो पोखिन् । उनले टोखाले जस्तोसुकै अवस्थामा पनि आफ्नो मौलिक परम्परा, संस्कार, संस्कृति एवम् चलनलाई त्याग्न नहुने धारणा राखिन् ।

टोखाको बिस्केट जात्राको जगेर्ना गर्न, पर्यटकको सम्भावनालाई मध्यनजर गर्दै जात्रामा उल्लेखनीय सहभागी हुन र यस्ता परम्पराहरुलाई निरन्तरता दिनु आजको आवश्कता भएको पनि उनले उल्लेख गरिन् । त्यस्तै, उनले जात्रालाई शान्त र मर्यादित ढंगले सम्पन्न गराउनको लागि सबैमा सहयोगको आग्रह गरिन् । त्यस्तै कार्यक्रममा बोल्दै नेवा गुठिका सल्लाहकार गणेशमान श्रेष्ठले ऐतिहाँसिक नगरीमा मनाईने जात्राको आफ्नै महत्व रहेको बताए । बिस्केत जात्रा टोखाले पाएको मौलिक अधिकार रहेको भन्दै उनले जात्रालाई निरन्तरता र मौलिकता दिन सबैको दायित्व भएको धारणा राखे ।

उनले परापुर्वककालदेखि चल्दै आएको जात्रालाई आमा, बुवा र छोराबीचको जात्राको रुपमा पनि चित्रण गर्न सकिने स्पष्ट पारे । अहिलेको नयाँ पुस्तालाई आफ्ना मौलिकतामा रुचि हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । उनले अहिले जात्रा अवलोकन तथा निरन्तरतामा जाने युवाहरुमा कमि आएको भनाई राखे ।पुरानो मुल्य र मान्यतालाई अहिलेको नयाँ पीढीले सम्हाल्न नसकेको आरोप लगाउदै उनले युवा र बृद्धबीच बेमेल हुँदा जात्रामा किचलो अथवा द्वन्द्व पैदा हुनेपनि तर्क गरे ।

बिगतमा हुने जात्राभन्दा यसपटकको जात्रालाई ब्यवस्थित पार्न खोजिएको जानकारी गराउँदै उनले नेवा गुठिले यसको सम्पुर्ण जिम्मेवारी लिईसकेको प्रष्ट पारे ।आफूहरुले मनाउँदै आएको जात्राहरु नेपालका मौलिक गहना भएको उनको भनाई छ । उनले भविश्यमा मौलिकता लोप हुन नदिन जात्रालाई जीवन्त र निरन्तरतामा सबैको लगाव रहन आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेवा गुठिका उपाध्यक्ष सत्यनारायण उपाध्यायले बैशाख ३ गते नेपाल सरकारका मन्त्री र काठमाडौं उपत्यकाका सम्पुर्ण मेयर तथा उप–मेयरहरुको सहभागिता रहने बारेपनि जानकारी दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै रमेश नापितले जात्रा अवधिभर जाँड–रक्सी खाएर मेला ब्यवस्थापनमा अवरोध पुर्यानेलाई आवश्यक कारवाही गर्नेबारे पनि जानकारी गराए ।यसपटकको बिस्केट जात्रामा दुई लाखले अवलोकन गर्ने अनुमान रहेकोे बताउदै उनले जात्रालाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न करिव तीन सयभन्दा बढि स्वय्मसेवक, नेपाल प्रहरी, स्काउट र गुठीका पदाधिकारीहरुको उपस्थिति रहनेपनि उनले प्रष्ट पारे ।

पत्रकार सम्मेलनमा टोखा नगरपालिका वडा नम्वर २ का अध्यक्ष दिपकराज जोशी, वडा नम्बर ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?