भागरथी घटना – कुकुरले सुँघेर पत्ता लगाउँछ भनेपछि गोठालो भागेका थिए अभियुक्त

पर्यटन बजार५ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

भागरथी घटना – कुकुरले सुँघेर पत्ता लगाउँछ भनेपछि गोठालो भागेका थिए अभियुक्त

फागुन ५ ,काठमाडौं । दोगडाकेदार गाउँपालिका – ७ चडेपानीकी १७ वर्षिया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका अभियुक्त १६ वर्षीय दिनेश भट्टले प्रहरीको तालिमप्राप्त कुकुरले सुँघेर अभियुक्त पत्ता लगाउँछ भन्ने थाहा पाएपछि आत्तिएर गोरु चराउन जंगल गएको प्रहरीसमक्ष बयान दिएका छन् ।

अपराधीले कुनैपनि सबुत घटनास्थलमा नछोडेको भन्ने हल्ला चलेका बखत प्रहरीको तालिमप्राप्त कुकुरले सुँघेर सजिलै पत्ता लगाउँछ भनेर घटना भएको भोलीपल्ट शव भेटिएपछि चलेको हल्लाले आफूलाई कुकुरले पत्ता लगाउने डरले गोरु चराउने बहाना गरेर हिँडेको बताएका हुन् । भागरथीको बलात्कारपछि हत्या घटनामा सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी घटनाको तेस्रो दिन माघ २३ गते शुक्रवार आफैँ घटनास्थल पुगेका थिए ।

माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर र अनुसन्धान टोली पनि घटनास्थल पुगेको थियो । तालिमप्राप्त कुकुरलाई घटनास्थलमा लगिन्छ। घटनास्थलमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबी, चिकित्सकले विभिन्न कोणबाट अनुसन्धान गरी सबुत तथा प्रमाणहरु संकलन गर्छन् । तालिमप्राप्त कुकुरले नै मृतक भागरथीको सामान्य किप्याड मोबाईल शव भएभन्दा केहि पर फेला पार्छ । अपराध गराएपछि अपराधीले प्रयोग गरेको बाटो केहि हिँडेको कुकुर पछि रोकिन्छ । प्रहरीको कुकुरले घटनास्थल नजिकै रहेको खोचलेक बजार (गाउँपालिकाको केन्द्रसमेत रहेको) तर्फ संकेत गर्छ । तर माघ २२ गते (बिहीवार) घटनास्थलमा तालिमप्राप्त कुकुर लिएर गएर प्रहरीको लागि किशोरीको बलात्कारपछि हत्या भएको रात पानी परेका कारण अनुसन्धानमा केहि कठिनाई हुन्छ ।

आफ्नो सहपाठी, आफ्नो विद्यालयका विद्यार्थी चिनेजानेकै चेलीको विभत्स हत्या भएका कारण भागरथीको विद्यालयबाट सबै विद्यार्थी, अभिभावक, गाउँ छिमेकी घटनास्थलमा पुग्छन् । सबै दृश्य हेरिरहन्छन् । तर विद्यालयका सबै विद्यार्थी, शिक्षक र गाउँलेहरु भएको घटनास्थलमा जब कुकुर आईपुग्ने बेला हुन्छ अभियुक्त दिनेश डरका कारण गोरु चराउने निहुँ गरेर घरै बसेका हुन्छन् । त्यतिबेला उनैले अपराध गरेको भनेर शंका कसैलाई हुँदैन । कुकुरले सुँघेर आफूलाई पत्ता लगाउने भनेपछि त्रासैत्रासका कारण दिनेश घटनास्थल नगएर गोठालो गएको अनुसन्धान अधिकृत बताउँछन् । तर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतले दिनेशको अनुपस्थितिलाई गहन तवरले अनुसन्धान गरिरहेका हुन्छन् ।

भागरथीसँग बदला लिन यो अपराध गरेको स्वीकारेका दिनेशले अनुसन्धान अधिकारीसमक्ष पनि कुकुर आएको थाहा पाएपछि आफैँलाई संकेत गर्न सक्ने भन्दै घटनास्थल नगएको र गोठालो गएको बयान दिएका छन्। शुरुको अनुसन्धानमा प्रहरीसमक्ष दिनेशले अनुसन्धान अधिकृतलाई झुटो बोल्ने, झनक्क रिसाउने, आक्रामक स्वभाव, चिढिने, झर्कने जस्तो व्यवहार देखाएका थिए । दिनेशलाई कुल देवताको मन्दिरमा समेत गलेर कसम खान लगाएको थियो । तर उनले घटनामा आफ्नो संलग्नता छैन भनेको थियो । प्रहरीले क्लोज रिङमा राखेका बखत शुरुमा निडर र आत्मविश्वाससहित बोलेको अभियुक्त क्रमश गल्दै गएको थियो । तर अनेकन प्रमाणसँग पुष्टि भएपछि फागुन ४ गते मंगलबार पक्राउ गरेको हो । घटनाको पन्ध्रौँ दिन आज प्रहरीले दिउँसो अभियुक्त भट्टलाई सार्वजनिक गर्दैछ ।

Facebook Comment

छुटाउनुभयो कि?