भारतमा आँधीको सम्भावना – ८ लाख मान्छे सारिँदै

पर्यटन बजार१९ बैशाख २०७६, बिहीबार मा प्रकाशित

भारतमा आँधीको सम्भावना –  ८ लाख मान्छे सारिँदै

वैशाख १९, एजेन्सी । भारतको पूर्व तटीय क्षेत्रमा समुद्री आँधी आउने सम्भावना देखिएपछि त्यस क्षेत्रका हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। उडिसा राज्यका करिब ८ लाख मान्छेलाई आँधीले प्रभाव पार्नसक्ने क्षेत्रबाट सार्ने प्रक्रिया भइरहेको बिबिसीले जनाएको छ।

‘फानी’ नाम दिइएको आँधी २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आउने अनुमान मौसमविद्हरुले गरेका छन्। यो आँधी अहिले बंगालको खाडी हुँदै आन्ध्र प्रदेशतर्फ गइरहेको अधिकारीहरूले बताएका छन्। उडिसा राज्यको केन्द्र हुँदै जाने यो समुद्री आँधीले कम्तीमा १३ जिल्ला प्रभावित गर्न सक्छ। यो क्षेत्र आसपासका सबैलाई सुरक्षित घरभित्र रहन सूचना जारी गरिएको छ।

यो आँधी एकदमै बलियो हुनसक्ने भएकाले जोखिमपूर्ण रहेको उनीहरूको भनाइ छ। शुक्रबार जमिनमा पर्ने अनुमान गरिएको यो समुद्री आँधी उडिसाको पुरी नामक सहरमा यसको प्रभाव धेरै देखिनेछ। पुरीमा साढे आठ सय वर्षभन्दा पुरानो जगन्ननाथ मन्दिर रहेको र उक्त ऐतिहासिक भवनमा असर पर्ला भनेर अधिकारीहरू चिन्तित छन्।

यो क्षेत्रका सबै स्कुल र कलेज बन्द भइसकेका छन्। आँधीको प्रभाव पर्ने भएकाले पूर्वी तटस्थित दुइटा ठूला बन्दरगाह पनि बन्द गरिएका छन्। भारत मौसम विभागको चेतावनीपछि भारतीय सैनिक बललाई सतर्क अवस्थामा राखिएको छ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले उक्त समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव यहाँ पर्न सक्ने बताएको छ। फानीको प्रभावका कारण नेपालको पूर्वी र मध्य भागमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना छ।

 

Facebook Comment

छुटाउनुभयो कि?