पर्यटन बजार१० भाद्र २०७७, बुधबार मा प्रकाशित
भदौ १०, काठमाण्डौ । भारतसँग सिमाना जोडिएका मोरङको दक्षिण क्षेत्रका ६ वटा पालिकाले थप एक साता लकडाउनको समय बढाएका छन् । कोरोना संक्रमणको अति जोखिममा रहेका भारतसँग सिमाना जोडिएका मोरङको दक्षिण क्षेत्रका तीन नगरपालिका र तीन गाउँपालिकाको बुधबार रंगेलीमा बसेको संयुक्त बैठकले थप एक साता लकडाउन बढाउने निर्णय गरेको हो ।
बुधबार बिहान कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि रतुवामाई, सुनबर्सी, रंगेली नगरपालिका र कटहरी, जहदा र धनपालथान गाउँपालिकोको संयुक्त बैठक बसेको थियो । बैठकमा कोरोना भाइरस संक्रमण रोकथाम गर्न १७ भदौसम्म लकडाउन थप्ने सहमति भएको रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले बताए ।
यसअघि दक्षिण क्षेत्रका पालिकाहरूले संयुक्त बैठक गरी तीन हप्ताअघि सबै पालिकाले लकडाउन घोषणा गरेका थिए । सहमतिअनुसार थपिएको लकडाउनको समयमा बिहान ६ देखि १२ बजेसम्म सुरक्षा सतर्कता अपनाएर बैंक तथा वित्तीय संस्था खोल्न र अत्यावश्यक कारोबार गर्न पाइनेछ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit