“भीमसेन पार्क” निर्माणपछि पीपलथोक घुम्न जाने पर्यटकहरु बढे

पर्यटन बजार५ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

“भीमसेन पार्क” निर्माणपछि पीपलथोक घुम्न जाने पर्यटकहरु बढे

फागुन ५ ,काठमाडौं। नेपालका दोस्रो प्रधानमन्त्री भीमसेन थापाको जन्मथलो गोरखाको फिनाम पीपलथोकमा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ। गोरखा नगरपालिकाको सहयोगमा भीमसेन पार्क निर्माणपछि पीपलथोक घुम्न जाने पर्यटकहरु बढ्न थालेका हुन्।

पीपलथोकबाट मनास्लु, हिमालचुली, गणेश हिमाल, लमजुङ हिमाल, माछापुच्छ्रेलगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ । साथै, गोरखाको ऐतिहासिक र पर्यटकीय केन्द्र अजिरकोट, सिरानचोक, लिगलिगकोट दृश्यावलोकन गर्न सकिन्छ ।

भीमसेन थापाको जन्म १८३२ मा पीपलथोकमा भएको थियो । गोरखा नगरपालिकाले पीपलथोकमा थापाको पूर्ण कदको शालिक राखेर उद्यानमा स्वदेशी र विदेशी पर्यटकको गन्तव्य स्थल बनाएको हो ।

पछिल्लो समय भीमसेन पार्क स्थानीय पर्यटकको रोजाइको गन्तव्य बनेको छ । विशेषगरी भीमसेन पार्कमा बिदाका दिन वा शनिबार घुम्न आउने आन्तरिक पर्यटकको भीड लाग्न थालेको गोरखा वडा नम्बर ४ का वडाध्यक्ष खोपबहादुर अधिकारीले बताए । ‘यस पार्कमा बिदाको दिन अनि शनिबार दैनिक २ देखि ३ सयजना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्’, वडाध्यक्ष अधिकारीले भने ।

‘पार्कमा केही भौतिक संरचना थपेर आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित हामी लागिपरेका छौँ’, उनले भने । गत १ माघदेखि भीमसेन पार्क संरक्षण समिति गठन गरेर यहाँ आउने पर्यटकलाई टिकटको व्यवस्था गरिएको वडाध्यक्ष अधिकारीको भनाइ छ ।

पार्क नजिकै होमस्टे पनि सञ्चालमा छ । हाल पार्कसम्म जाने सडक स्तरोन्नति भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?