भैरहवामा तयार भयो चार तारे होटल नान्स, जनवरीबाट सञ्चालनमा आउने

पर्यटन बजार३० मंसिर २०७७, मंगलवार मा प्रकाशित

भैरहवामा तयार भयो चार तारे होटल नान्स, जनवरीबाट सञ्चालनमा आउने

मङ्सिर ३०, काठमाडौं । औद्योगिक नगरी भैरहवामा १ अर्ब २० करोड रुपैयाँ लगानीमा चार तारे होटल निर्माण भएको छ । होटल यही जनवरीबाट सञ्चालनको तयारी गरिएको छ । सो होटल यसअघि तीन तारे स्तरको थियो । अहिले चार तारेमा स्तरोन्नती गरिएको छ ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेसँगै विदेशी पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षाका साथ होटलमा लगानी विस्तार गरिएको संञ्चालक चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए ।

होटलमा ६२ वटा कोठाहरु छन् । भैरहवाको देवकोटा चोकमा रहेको सो होटल ५ कठ्ठा १२ धुर जग्गामा फैलिएको छ । विमास्थलबाट नजिकै रहेकोले पनि धेरै पर्यटकहरुको आकर्षणको रुपमा सो होटललाई लिँदै आएको छ । होटलमा स्वीमिङ पुल, रेष्टुरेन्ट, बार, बैंकट हल रहेको छ ।

पर्यटकहरुको मागको आधारमा होटललाई स्तरीकरण गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटकको संख्यामा वृद्धि हुने र गुणस्तरीय होटलको माग बढ्ने भएकोले पनि पछिल्लो समय भैरहवामा तारे होटलहरु निर्माण हुने क्रमले तिब्रता पाएको छ ।

पछिल्लो समय भैरहवा, लुम्बिनी, बुटवलमा तीव्र गतिमा तयार भइरहेका पर्यटन तथा औद्योगिक पूर्वाधार तयार भइरहेका छन्  । ‘यस क्षेत्रमा व्यवसायका लागि होटलको भविष्य राम्रो छ’ श्रेष्ठले भने भैरहवा, लुम्बिनी, बुटवल र बुटवल–भैरहवा सडक खण्डको बीचमा स्तरीय होटल निर्माण बढेको छन ।

विषेश गरेर बुद्ध धर्ममा बढि आस्था राख्ने पर्यटकहरु त्यहाँ जाने गरेका छन् । उनिहरु छोटो समयमै त्यहाँबाट फर्किने गरेको गुनासो बढिरहेको बेला सुविधासम्पन्न होटलहरु निर्माण हुनुलाई सवल पक्षको रुपमा लिइएको पर्यटन व्यवसायीहरुको भनाई छ ।

भारतीय सीमा नजिकै रहेकोले पनि त्यहाँ बढि मात्रामा पर्यटकहरु आउने गरेका छन् । पछिल्लो समय त्यहाँका होटलको प्रमुख ग्राहक भारतीय छन् । तर,कोरोना महामारीका कारण सीमा नाका बन्द रहेकोले अहिले चहपहल भने शून्य रहेको व्यवसायीहरुले बताएका छन्  ।

 

Facebook Comment

छुटाउनुभयो कि?