पर्यटन बजार१७ बैशाख २०७६, मंगलवार मा प्रकाशित
वैशाख १७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारमाथि धावा बोलेका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले फोरम-राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको र नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने बताए ।
‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन,’उनले भने, ‘तराई मधेसमा पनि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुनसक्छ ।’
उनले भने, ‘यहाँसम्म आइपुग्दा झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी देखियो । अहिले त योजना निर्माणमा व्यक्ति-व्यक्तिको फोन नम्बरसमेत रेड बुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो । यही स्थिति हुने हो भने बिचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ ।’
नेकपाले चाहेमा अहिले नै प्रदेश २ मा नेकपाको सरकार बन्न सक्ने उनले बताए । ‘हामीले चाहने हो भने, त्यहाँ बिभिन्न खालको चलखेल गर्ने हो भने अहिले पनि सरकार बन्न सक्छ’ प्रचण्डले भने, ‘तर हामीले फेरि उहाँहरुले बनाएको सरकार राम्रो काम गरोस्, हाम्रो साथ हुन्छ भनेर भनेको हो ।’
हाल प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ । सबैभन्दा ठूलो दल भए पनि नेकपा सरकार बाहिर छ । प्रचण्डले भनेको जस्तो प्रदेश २ मा अहिले भएको सरकार ढालेर नेकपाको नेतृत्वमा बनाउन सत्तारुढ फोरम वा राजपामध्ये एकको समर्थन चाहिन्छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit