माईपोखरी – धार्मिक सँगै पर्यावरण पर्यटनको उत्कृष्ट गन्तव्य

पर्यटन बजार१२ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

माईपोखरी – धार्मिक सँगै पर्यावरण पर्यटनको उत्कृष्ट गन्तव्य

मंसिर १२,इलाम । इलामको माइपोखरी आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने एक आकर्षक गन्तव्य हो।सन्दकपुर गाउँपालिका वडा नं. ३ मा पर्ने कुनै कुनाले सजिएको सुन्दर माइपोखरी एक पोखरी मात्र होइन यो एक धार्मिक क्षेत्रका रुपमा समेत चिनिने गरिन्छ । यो माइ पोखरीमा पानी सफा भएको हुँदा बाहिर रहेका बोटविरुवाको छायाँ पानीमा प्रष्ठ देखिने, छिन–छिनमा कुहिरो लाग्ने र छिनमै हट्ने अनुपम दृश्यावलोकन गर्न सकिन्छ ।
कुहिरोको लुकामारी सँगै रमाउन खोज्ने मानिसहरूका लागि उत्कृष्ट स्थान हो माइपोखरी  ठूलो क्षेत्रफलमा फैलिएको उक्त पोखरीको वरिपरी परिक्रमा गर्ने हो भने १ दिन त यहिँ बित्छ । किनकी पोखरीको एक ठाउँबाट सम्पूर्ण क्षेत्रको अवलोकन गर्न सकिँदैन ।

माइपोखरी अन्तराष्ट्रिय विश्व सम्पदा सूचि (रामसार) क्षेत्रमा सूचिकृत भइसकेको छ । सन् १९८८ मा रामसार क्षेत्र संरक्षणका लागि अन्तराष्ट्रिय नीति निर्माण र पहलका लागि नेपालले पनि सहमत जनाइसकेको छ । यसै अनुरुप नेपाल सरकारले पनि माई पोखरीको विकास, संरक्षण र सम्वद्र्धनका लागि नेपाल सरकारले पनि विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । माई पोखरी करिडोर क्षेत्रभित्र अर्किट नर्सरी व्यवस्थापन साथै विभिन्न लोपोन्मुसख वनस्पतीहरुको नर्सरी तयार गर्न पनि विभिन्न स्थानमा कार्यक्रम सञ्चालनमा रहेको छ ।

अधिकतम तापक्रम १८ डिग्री र वार्षिक ३००० मिलिमिटर भन्दा बढी वर्षा हुने माईपोखरी क्षेत्रमा स्तनधारी जनावर १४ प्रकारका, १२ प्रकारका सर्प, २०० प्रजातीका फूल फुल्ने बिरुवा, ४ थरिका गुँरास, १६ थरिका सुनाखरी फूल, ३ प्रजातीका चाँप, जडिबुटी ६२ प्रकारका, माछा ३ जातिका र ३०० जातका पंक्षीहरु पाइन्छन् ।
साइबेरियादेखि श्रीलंकाको बाटो हुँदै बसाईसर्ने साइबेरियन चरा पनि यहाँ बच्चा कोरल्न कालो भुँडीफोर, काकाकुल, हिमाली गिद्ध जस्ता पंक्षी तथा हरियो छेपारो र चंखे सर्प पनि यस क्षेत्रको रैथाने प्राणीहरु हुन् । हिड्ँदा हिडँदै पानी सर्प खुट्टा अगाडिबाट सलल बगेर हिँड्ने भएकोले जुत्ता अनिवार्य लगाउनुपर्छ ।

कोणधारी जापानी सल्लाले घेरेको माईपोखरी क्षेत्रमा विसं १९५४ मा सोमेश्वरानन्दले निर्माण गराएको शिव मन्दिर पनि रहेको छ । विशेष गरि हरिबोधिनी र हरिशयनी एकादशीमा यहाँ भव्य मेला लाग्ने गर्दछ । स्कन्ध पुराणमा शिव र पार्वती जलक्रिडा गर्ने गरेको भनेर उल्लेखित ठाउँ माईपोखरी नै हो भन्ने भनाई पनि रहि आएको छ । नवरात्रको दिन नौकुने यस पोखरीमा दुर्गाको नौस्वरुपका रुपमा पूजा गरिन्छ ।

पोखरीमा छाल आए अनिष्ट हुने विश्वासका साथ छाल आएको बेला मन्दिरमा पूजा गरि पोखरीमा दूध चढाउने परम्परा रहदै आएको छ । भक्तजनहरुले टाँगेका तोरणहरु यत्रतत्र देख्न सकिन्छ ।

पोखरीको वरिपरि आराम गर्ने चौतारी, पुष्पवाटिका तथा रुखहरुमा तिनका नामहरु लेखिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?