पर्यटन बजार८ भाद्र २०७७, सोमबार मा प्रकाशित
भदौ ८ ,काठमाडौँ। संक्रमणमुक्त नभइ काठमाडौंबाट वीरगन्ज पुगेका मेयर विजयकुमार सरावगी २४ दिनपछि कोरोनामुक्त भएका छन्।उनले आफू कोरोनाबाट निको भएको जानकारी दिए। गत साउन १५ गते कार्यक्रमको सिलसिलामा काठमाडौं आउँदा वीरगन्जका मेयर सरावगीमा संक्रमण पुष्टि भएको थियो।
भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनी काठमाडौंस्थित आफ्नो घरमै होम आइसोलेसनमा बस्दै आएका थिए। तर संक्रमणमुक्त नभइ उनले आफू काठमाडौंबाट वीरगन्ज पुगेको बताए।
‘पाँच दिन भयो वीरगन्ज आएको, चालकलाई पिपिई प्रयाेग गराएर आएँ,’ उनले भने। उनले हिजोबाट कोरोनामुक्त हुनेवित्तिकै छलफलमा जुटेको बताए। उनी भन्छन्, ‘अहिले पनि सिडिओहरूसँगको छलफलमा छु। वीरगन्जको अहिलेको स्थिति यस्ताे छ। काम त गर्नै पर्यो नि।’
पछिल्लो समय कोरोनाको ‘हटस्पट’ रहेको वीरगन्जमा संक्रमण दर ह्वात्तै बढेको छ। काठमाडौंपछि बढी सक्रिय संक्रमित भएको जिल्ला पनि पर्सा नै हो। आइतबारसम्मको तथ्यांक अनुसार पर्सामा मात्र एक हजार ४ सय ६० जना सक्रिय संक्रमित छन्। काठमाडौंमा भने २ हजार ३ सय ६८ जना छन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit