यसरी खोजियो भर्जिन गन्तब्य तिलमान पास – युवा पिक !

पर्यटन बजार१५ पुष २०७७, बुधबार मा प्रकाशित

यसरी खोजियो भर्जिन गन्तब्य  तिलमान पास – युवा पिक !

पुस १५ , सिन्धुपाल्चोक । पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको पहिलो आरोहण सफलताका साथ पूरा गरी फर्किएको अध्ययन टोलीलाई गाउँपालिकाले सम्मान गरेको छ । मङ्सिर २६ गते शुक्रबार १२ः२६ बजे सफलतापूर्वक युवा पिक आरोहण गरेको टोलीलाई पाँचपोखरी गाउँपालिकाले गाउँपालिका परिसरमा सम्मान गरेको हो  ।

   

सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा छ सदस्यीय आरोहण दल र दुई माउन्टेन गाइडले पाँच हजार ३०० मिटरको पाँचपोखरी तिलमान पास पिक र पाँच हजार ५५६ मिटरको युवा पिकको पहिलोपटक सफलताका साथ यात्रा पूरा गरेको हो । मौसमले पूर्णरूपमा साथ दिएको र समूहका सबै सदस्यले यात्रा पूरा गरेको  माया गुरुङले जानकारी दिइन्  ।यात्रा साहसिक र उपलब्धिमूलक भएको र एक कतिपय ठाउँमा बाटो भुलिएर  केहि समस्या भएको उनले बताइन। तिलमान पास अर्थात् युवा पिक काठमाडौँ बाट  नजिक पर्ने छोटो समयमै सबैले आरोहण गर्न  सक्ने भर्जिन पिक रहेको उनले बताइन।

वडा नं ३ का अध्यक्ष ङिमाछिरिङ तामाङले काठमाडौँबाट नजिकै भएर पनि पर्यटन प्रवद्र्धनका हिसाबले पछि परेको भन्दै तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणका लागि सहज बनाउन गाउँपालिकाले छिट्टै काम अगाडि बढाउने बताए ।

पर्यटन प्रवर्द्धन तथा स्थानीय तहको विकासको पहिचानलाई आधार गन्तव्य पहिल्याउँदै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणका निम्ति टोलीलाई मङ्सिर १९ गते बिदाइ गरेको थियो । यो अध्ययन भ्रमणले पाँचपोखरीलाई धार्मिक तथा सांस्कृतिक रूपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष टासी लामाको भनाइ छ ।

लाङ्गटाङ्ग आरोहण गर्न बर्षेनी करिब १५ हजार पर्यटक आउनेमा त्यसको आधा पर्यटकलाई पाँचपोखरी र युवा पिक मा आकर्षण गर्ने गाउँ पालिका को योजना रहेको पाँचपोखरी का पर्यटन प्रमुख सुवास तामाङले बताए।केहि समयको प्रयास पछि पाँचपोखरी लाइ देश बिदेशमा चिनाउन हामी सफल भयौं , पाँचपोखरी  भन्दा माथि चाही के छ , पर्यटकले त्यहाँ भन्दा अझै माथि जान चाहेमा कहाँ जान सकिन्छ भन्ने उदेश्यका साथ युवा पिकको खोजि गरि नामाकरण  गरिएको उनले बताए।

काठमाडौँबाट सबैभन्दा नजिकको दूरीमा रहेको तिलमान पास गन्तव्य पाँचपोखरी थाङ्पाल गाउँपालिकासँगै जुगल गाउँपालिका र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको छ । पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको सफलतापूर्वक आरोहणले यसलाई साहसिक पदमार्गका लागि महत्वपूर्ण मानिएको छ ।

कार्यक्रममा अध्ययन बिषय र अध्ययन का क्रममा गर्न सकिने क्रियाकलाप, चुनौती र आवश्यक जनशक्तिको बारेमा छोटो भिडियो आरोही टिमका मेम्बर मिलन तामाङ्गले  प्रस्तुत गरेका थिए।  त्यस संगै टोलीले सहजता का साथ पुग्न सकिने २ मार्गको आइटिनरी समेत प्रस्तुत गरेको थियो।

गुरुङको नेतृत्वमा आरोही कान्छीमाया स्याङ्बो तामाङ र दावा शेर्पा साथमा युवानेता सोमर बोम्जन, मिलन तामाङ, पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का अध्यक्ष ङिमाछिरिङ तामाङसहित आठ जनाको टोलीले यात्रा पूरा गरेको हो ।

Facebook Comment

छुटाउनुभयो कि?