यस्तो मन्दिर जहाँ हरेक दिन आठ माना चामलको भात प्रसादको रूपमा चढाइन्छ

पर्यटन बजार३० मंसिर २०७७, मंगलवार मा प्रकाशित

यस्तो मन्दिर जहाँ हरेक दिन आठ माना चामलको भात प्रसादको रूपमा चढाइन्छ

मंसिर ३०, काठमाडौँ।मन्दिरमा एक-दुई जना मात्रै दर्शनार्थी आउने-जाने गरिरहेका थिए। कोरोना महामारी र मंसिर महिनाको चिसोका कारण पनि दर्शनार्थीहरूको संख्या कम हुन थालेको थियो।

एक-दुई जना स्थानीय भक्तजनहरू सरासर मन्दिर अगाडि पुगेर शीर निहुराएर भगवानको दर्शन गर्थे। दानपात्रमा भेटी चढाउँथे र पूजारीबाट टिका लगाएर फर्किन्थे।

बाहिर दर्शनार्थी नभए पनि भित्र रहेको भण्डारामा भने काँसको ठूलो कसौडीमा आठ माना कालो मार्सी चामलको भात पाकिरहेको थियो। कुर्ता, धोती र टोपीसमेत पहेँलै लगाएका मन्दिरका पूजारीले अध्यारो भण्डाराको अँगेनामा भात पकाइरहेका थिए।

जुम्ला सदरमुकाम खलङ्गा बजारको बीचमा रहेको चन्दननाथ मन्दिरको भण्डारामा हरेक दिन बिहान यसैगरी आठ माना काली मार्सी चामलको भात पकाइन्छ।काँसको ठूलो कसौडीमा पकाएको भात ठूलो चाँदीको थालीमा पस्किएर चाँदीको कचौरामै राखिएको दुधसहित मन्दिरमा चढाइन्छ। मन्दिरमा चढाइएको त्यहीँ भात पूजारी, हेरालु र दर्शनार्थीले प्रसादको रुपमा खान्छन्।मन्दिरका पण्डित हेमन्तराज आचार्यका अनुसार स्थानीय बालबालिकाहरूको अन्न प्रासनको लागि पनि कतिपयले प्रसादको रूपमा पकाइएको यहीँ भात लगेर खुवाउने प्रचलन छ। खाएर भ्याइएन भने गाईलाई खुवाइन्छ तर आठ मानाभन्दा कम चामल पकाउन पाइँदैन।

किन आठ माना नै भात पकाउन थालिएको भन्ने चाहिँ अहिलेसम्म रहस्यको गर्भमै छ।

किम्बदन्ती अनुसार करिब दसौं शताब्दीतिर भारतको कास्मिरबाट चन्दननाथ नाम गरेका शिद्धपुरूष घुम्दै जुम्लाको खलंगा पुगेका थिए। खलंगा त्यतिबेला सिम (पानीको दलदल) थियो।

पानीको दलदल र जंगलका रूपमा रहेको खलंगामा गाई-वस्तु चर्न जाने गर्थे। त्यहाँ चर्न जाने गाईले मालिकलाई दुध नदिएर सधैं एकै स्थानमा खन्याउने गर्थ्यो।

हरेक दिन गाईले एकै स्थानमा दुध खन्याउने गरेको थाहा पाएपछि त्यो स्थानमा उत्खनन् गरेर हेर्दा भगवान दत्तात्रयको चरणपादुका भेटिएपछि त्यहाँ मन्दिर स्थापना गरी पूजा सुरूवात गरिएको किम्बदन्ती छ।

साथै, उत्खनन् गर्दा भेटिएको दत्तात्रयको चरणपादुकालाई चन्दननाथ बाबाले नै मन्दिर स्थापना गरिराख्ने काम गरेकोले यो मन्दिरको नाम नै चन्दननाथ मन्दिर रहन गएको मन्दिरका पण्डित आचार्य बताउँछन्।

चन्दननाथ बाबाले दत्तात्रयको मन्दिर नजिकै भैरवनाथको मन्दिर पनि स्थापना गरेका थिए। उनै चन्दननाथले अहिले देशभर प्रख्यात रहेको मार्सी धानको बिउसमेत कास्मिरबाट जुम्ला लगेको थिए। उनैले लगेर गएको मार्सी धान अहिले पनि जुम्लामा रोप्ने गरिन्छ।

चन्दननाथ मन्दिरको बारेमा जानकार रहेका पण्डित आचार्यका अनुसार हरेक वर्ष जेठ १४ गते जुम्लामा चन्दननाथको रोपाइँ हुन्छ। त्यसको लागि सबै किसानले चैत्र १२ गते बिउ भिजाउने गर्छन्। १२ गते भिजाएको बिउलाई १६ गते उतारेर २० गते मात्रै खेतमा छर्ने गर्छन्।

जुम्लामा बिउ राख्न र रोपाइँ गर्न रोजगारीको लागि भारत तथा तेस्रो मुलुक पुगेका युवाहरू समेत घर फर्किने गर्छन्। बिउ भिजाउने, छर्ने र रोप्ने दिनलाई पर्वकै रुपमा मनाउने स्थानीय खड्क शाही बताउँछन्।

उनका अनुसार विश्वकै सबैभन्दा अग्लो स्थानमा धान खेती हुने जिल्ला पनि जुम्ला हो। जुम्लाको पातारासी गाउँपालिकाको तिर्खुमा मार्सी धानको खेती हुने गर्छ।

पण्डित आचार्यले जुम्लाको बस्ती बसाल्ने, धान खेती गर्ने तथा प्रशासनिक र प्राविधिक कामको समेत सुरूवात चन्दननाथ बाबाले नै गरेकोले जुम्ली जनता चन्दननाथ बाबालाई इष्टदेवताको रुपमा पूजा गर्ने बताए।

उनले चन्दननाथ मन्दिरजस्तै भगवान दत्तात्रयको मूर्ति रहेका मन्दिर भक्तपुर र भारतको गिरधारमा रहेको बताए। भगवान दत्तात्रयलाई ब्रह्मा, विष्णु र महेश्वरको एउटै मिश्रित रूप मानिन्छ।

शिव पद्धतिद्वारा पूजा गरिने यस मन्दिरमा शिवरात्री, कृष्ण जन्माष्टमी र बडादसैंको नवरात्रभरि विशेष पूजा गरिन्छ। मन्दिरमा १६ जना ब्राह्मणको दरबन्दी रहेको र १६ जनाबाटै नवरात्रमा विशेष पूजा गर्ने गरिन्छ।

त्यस्तै, हरेक दिन साँझ-बिहान नित्य पूजापाठ गरिन्छ। हरेक दिन बिहान ४ बजे प्रभातकालीन आरती गरिन्छ भने १० बजे मध्य र साँझ ७ बजे साँझको आरती गरिन्छ। बिहान काली मार्सी चामलको भातको भोग लगाइने यो मन्दिरमा साँझमा काली मार्सी धानकै चिउरा र दुधको भोग लगाउने गरिन्छ।

चन्दननाथ राजगुठीबाट सञ्चालन हुँदै आएको यो मन्दिरको नाममा जुम्लामा प्रशस्त जमिन रहेको छ। चन्दननाथ राजगुठीको नाममा एक लाख ४ हजार वर्गमिटर (करिब २ सय ५ रोपनी) जमिनमा कतै घर बनाइएका छन् भने कतै स्याउ फर्मको लागि ठेक्का लगाइएको छ। त्यहीँबाट आएको पैसा र दर्शनार्थीले चढाउने गरेको भेटीबाट मन्दिर सञ्चालन हुँदै आएको गुठीका अध्यक्ष कृष्णबहादुर रोकाया बताउँछन्।

साथै, दत्तात्रयलाई इष्ट देवताको रुपमा पुज्ने जुम्ली जनताले हरेक वर्ष चामल, गहुँ, सिमी तथा घिउसमेत मन्दिरमा अक्षता र प्रसादको रुपमा उपलब्ध गराउने गर्छन्। पण्डित आचार्यका अनुसार जुम्लामा धान खेती गर्ने हरेक घर-परिवारले वार्षिक चार माना मार्सी चामल चन्दननाथ, दुई माना चामल नजिकै रहेको भैरवनाथ मन्दिरमा अक्षता र प्रसादको रुपमा चढाउने गर्दछन्।

त्यस्तै, गहुँ, सिमी र घिउसमेत उपलब्ध गराउने गर्छन्। त्यहीँ चामलबाट आठ माना चामलको भण्डारा प्रत्येक दिन लगाउने गरिएको अध्यक्ष रोकायाले बताए।

यो मन्दिरमा दैनिक पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ। मन्दिरको माथि ठड्याइएको काठको मोटो लिंगोलाई हरेक वर्ष बडादसैंको घटस्थापनाको दिन पूजाआजा गरी फेर्ने चलन छ।

करिब ५२ फिटभन्दा अग्लो काँचो रुखको लिंगोको टुप्पोमा विभिन्न रङका ध्वजापताकाले बेरेर मन्दिरमा ठड्याउने गरिन्छ। मन्दिरमा लिंगो ठड्याउने बेला भाँचियो भने देशमा अनिष्ट हुन्छ भन्ने विश्वास छ।

त्यस्तै, हरेक दिन बिहान आरतीसँगै मन्दिरको अगाडि रहेको ठूलो घण्ट र दमाहा बजाइन्छ। ती घण्ट र दमाहालाई बिहान आरतीको समयबाहेक अरु समय बजाउन प्रतिबन्ध लगाइएको छ।

मन्दिर कहिले स्थापना गरिएको हो भन्ने यकिन तथ्य नभेटिए पनि मन्दिरमा भेटिएको सरस्वतीको मूर्तिमा ६०१ लेखिएको कारण १४ सय वर्ष पहिले मन्दिर स्थापना भएको हुन सक्ने पण्डित आचार्य बताउँछन्।

‘मूर्तिमा लेखिएको मिति र जुम्लामा धानखेतीको सुरुवात पनि १४ सय वर्ष पहिलेदेखि भएको मानिन्छ, यहीँ आधारले पनि यो मन्दिर १४ सय वर्ष पहिले स्थापना गरिएको हो भन्न सकिन्छ,’ आचार्यले भने।

Facebook Comment

छुटाउनुभयो कि?