यस वर्षको फूलपाती बढाइँ परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने

पर्यटन बजार२४ आश्विन २०७७, शनिबार मा प्रकाशित

यस वर्षको फूलपाती बढाइँ परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने

२४ असोज, काठमाडौं । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ ।

कोभिड–१९ को संक्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ ।

उनले भने, ‘स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा सांकेतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौं । अघिल्ला वर्षका बढाइँमा पूर्व, पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गर्थ्यो भने यस पटक सामाजिक दूरी कायम गरी २५/२५ जनामा सीमित गरिएको छ ।’

बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुने परम्परा छ ।

विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शन गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । विगतमा सेनाबाहेक एक हजार २०० को संखयामा विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको संखया १०० जनामा सीमित तुल्याइने छ ।

अघिल्ला वर्षमा सेनानीसम्मलाई सपरिवार बढाइँ कार्यक्रममा सहभागिताका लागि उर्दी हुने गरेकामा स्वास्थ्य मापदण्डका कारण यस वर्ष सहायकरथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता पौडेलले बताउ । उपस्थित हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?