यस वर्षको बागमती तीर्थयात्रा बैशाख २७ गतेदेखि सुरु

पर्यटन बजार१७ बैशाख २०७६, मंगलवार मा प्रकाशित

यस वर्षको बागमती तीर्थयात्रा बैशाख २७ गतेदेखि सुरु

 वैशाख १७, काठमाडौं । यस वर्षको बागमती तीर्थयात्रा बैसाख शुक्ल षष्ठी अर्थात् बैसाख २७ गतेदेखि सुरु हुने भएको छ। बैसाख २७ गते बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरी बागमती यात्रा सुरु गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कटुवाल दहबाट वाग्द्वारसम्म १८ कोसको दूरीमा हुने यात्राका क्रममा हिमवत्खण्डमा उल्लेख भएका नदी किनारका १ सय ६५ तीर्थ स्थानमा स्नान एवं पूजा र दर्शन गरिने कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए। यात्रा सुरुवातको सङ्कल्प कोषका सदस्यसचिव ढकालले गर्नेछन्।

बागमती प्रदूषित भएपछि ४० वर्षदेखि रोकिएको यात्रा गत वर्ष कोषको सक्रियतामा पुनः सञ्चालन भएको थियो। यात्रामा गरिनुपर्ने विधिविधानका सबै काम पशुपति आगम घरका पुजारी मदन भट्टले पूरा गर्नेछन्। १७ दिनको यात्रालाई गत वर्ष सात दिनमा झारेर सम्पन्न गरिएको थियो। यस वर्ष भने ९ दिनमा यात्रा गरिनेछ। क्रमशः १७ दिनमै यात्रा गर्ने तयारी कोषको छ।

पहिलो दिन पशुपतिमा पूजापछि मन्दिर परिक्रमा गरी यात्रा प्रारम्भ हुनेछ। त्यस दिन कार्यविनायकमा दर्शन एवं पूजा गरी कटुवाल दहमा प्रायश्चित्त गोदान, स्वस्ति वाचन गरी १६ तीर्थस्नान, बागमती पूजन गरिनेछ। दोस्रो दिन शिखरनारायण, तेस्रो दिन पचलीभैरव, चौथो दिन शङ्खमूल, पाँचौँ दिन पशुपतिनाथ, छैटौँ दिन सुन्दरीजलबाट वाग्द्वारतिरको यात्रा सुरु गरिने कार्यक्रम रहेको उनले बताए।

सातौँ दिन वाग्द्वारका ७ तीर्थ स्नान गरी बूढानीलकण्ठ नारायणस्थान दर्शन गरी बज्रयोगिनीमा बास बस्ने कार्यक्रम छ। त्यस दिन साँखुका दुई तीर्थमा स्नान गरिनेछ। आठौँ दिन साँखुबाट पशुपति आइनेछ। नवौँ दिन आगामी जेठ ४ गते पशुपतिस्थित रुद्रगाडेश्वर मन्दिरमा हवनसहित यात्रा समापन गरिनेछ।

यो यात्रा नेमुनिले चलाएको विश्वास गरिन्छ। यस क्रममा विभिन्न स्थानमा बागमतीको तन्त्र साधनासमेत गरिने आगम घरका भट्ट मदन भट्टले बताए। यात्राले बागमती स्वच्छ राख्न जागरण ल्याउने विश्वास गरिएको छ।

लामो समयदेखि रोकिएको यात्रा पुनः सञ्चालनले भावी पुस्तामा बागमती तीर्थयात्राको महत्व तथा चेतना जागृत हुने सदस्यसचिव डा ढकालले विश्वास व्यक्त गरे। गत वर्षदेखि बागमती यात्रा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पनि विशेष चासो दिएको थियो।

यस वर्षको यात्रा सञ्चालनका सन्दर्भमा साेमबार सरोकारवाला निकायका अधिकारीबीच बैठक बसी तयारी गर्ने निर्णय भएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए। बागमती तीर्थ यात्रासँगै पशुपति क्षेत्रका लोप भएका अन्य सांस्कृतिक परम्पराको समेत पुनर्जागरण गर्ने कोषको तयारी छ। रासस

Facebook Comment

छुटाउनुभयो कि?