राइनासकोट-प्रकृतिको एक उपहार

पर्यटन बजार१३ जेष्ठ २०७६, सोमबार मा प्रकाशित

राइनासकोट-प्रकृतिको एक उपहार

विनायक पन्त , जेठ १३, काठमाडौं । उत्तरमा चाँदिझैं टल्किरहने सेता हिमाल, दक्षिणमा कलकल बग्ने निश्चल मर्स्याङ्ग्दी नदि अनि तिनै सेता दाँत टल्काएर खुशिका मिठा मुस्कान सहित सँधै हासिरहने लम्जुङ्ग हिमाल अनि हिमालकै छाँयामा सँधै रमाईरहने राईनासकोट, वाह! क्या बेजोड सृष्टि छ प्रकृतिको।

लमजुङ् जिल्ला स्थित राइनास नगरपालिका वडा नं.९ मा अवस्थित यो टाकुरा टाकुरा मात्रै नभई धार्मिक अनि साँस्कृतिक रुपमा पनि त्यतिकै परिचित हुँदै आएको छ। समुन्द्री सतह देखि झन्डै ८०० मिटर उचाइमा रहेको, नेपालका बाइसेचौबिसे राज्यकालमा तत्कालीन राजकुमार द्रव्य शाह बसेको राईनासकोटमा पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट १३ किलोमिटर दुधपोखरी राजमार्ग र त्यहाँबाट झण्डै १०मिनेटको सिँढी उक्लनुपर्छ । यस राइनासकोट बाट लमजुङ्ग हिमाल सहित मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, साथै धवलागिरी हिमालको पनि दृश्याबलोकन गर्न सकिन्छ। साथै पर्यटकलाई नै मध्यनजर गर्दै मन्दिरको नजिकै निर्माण गरिएको भ्यु-टावर बाट नजिकैको छिमेकी जिल्ला तनहुँका चोककोट, रिप होम-स्टे, थानिमाई मन्दिर, गोरखाको लिगलिग कोट, आँपपिपल, साथै चितवन, धादिङ, नवलपरासी लगाएतका १६ वटा जिल्ला एकै साथ देख्न सकिने कुरा स्थानिय पुर्णबहादुर गरुङ्गले बताए।

पर्यटककै लागि भनेर बि.सं.२०७५ सालमा यसै राइनासकोट नजिकै रहेको मैदानबाट प्याराग्लाइडिङ्गको पनि सफल परिक्षण गरिएको थियो। जसबाट अब छिट्टैनै यसै ठाउँबाट प्याराग्लाईडिङ्ग गरि थुप्रै पर्यटकले लम्जुङ्ग, तनहुँ र गोरखाको आकाशमा उडेरै प्रकृतिको सुन्दर दृश्यहरु अबलोकन गर्न सक्ने कुरा स्थानियहरु बताउँछन् । साथै यस राईनासकोटको चुचुरोमा रहेको कालिका भगवतिको पुजा आराधना गरे मनले चिताएको सबै कुरा पुग्ने जनआस्था रहेको पाईन्छ।

त्यसैले बडा दशैको अष्टमी र चैते दशैको दिन यहाँ पुजा गर्न आउने र भाकल बुजाउन बलि दिनेहरुको भिडनै लाग्ने गर्दछ। त्यसै गरि शिवरात्रीको दिन पनि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ। अझ शिवरात्री कै दिन बिगत केही बर्ष यता यहाँ अन्तर जिल्ला फुटवल प्रतियोगिता, भलिवल प्रतियोगिता साथै शिवरात्रीको मेला लाग्ने हुनाले हेर्न आउने दर्शकहरुले थप मनोरन्जन प्राप्त गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरु पनी तुलनात्मक रुपमा बढ्दै गएको कुरा स्थानियहरु खुशी हुँदै बताउँछन। जसले गर्दा यस क्षेत्रको पर्यटनमा थप टेवा पुगेको छ।

प्रकृतिको यति सुन्दर उपहारलाई स्थानिय सरकार र सरोकारवालाहरुले बिशेष ध्यान नदिंदा भने पर्यटनको यति ठूलो सम्भावना बोकेको यस राईनासकोट ओझेलमा परेको कुरा स्थानिय माई आमा समुहकी अध्यक्ष विष्णुकुमारी गुरुङ्गले जानकारी दिइन। यधपी प्रकृतिको अनुपम छटा बोकेको यस राइनास कोटमा बिगत केही बर्षदेखी भने होम-स्टे कार्यक्रम सफलता पुर्वक चल्दै आएको पनि उनले बताईन। बि.सं.२०७२ सालको बिनाशकारी भुकम्पबाट उत्तर्पुर्बी लमजुङ्गको ऐतिहासिक अनि धार्मिक महत्व बोकेको यस पर्यटकिय गाउँमा अमेरिकी नागरिक नातासा ओजानायकको बिशेष सहयोगमा पुन:निर्माण सङ्गै होम-स्टे कार्यक्रम सन्चालनमा आए सङ्गै स्थानियहरुको आयआर्जन गर्ने एउटा ससक्त माध्यम खुलेको छ।

बिष्णुमाया भन्छिन-“भुकम्प पछि नातासाको २ करोड ७५ लाख अनि स्थानियको ७५ हजार सहयोग गरि करिब ३करोड ५० लाखको लागतमा एक सामुदायिक भवन, एक सङ्राहालय अनि १४ वटा घर होमस्टेका लाही निर्माण गरिएको थियो। पुनःनिर्माण गरिएको १४ वटा घरमा होमस्टे सन्चालन गरिएको छ। सबै घरमा गरि दैनिक ४०-४५ जना सम्म पर्यटकहरू अटाउन सक्ने क्षमता छ। हरेक घरमा ३ देखि ५ वटा सम्म कोठा छन। प्रत्यक घरमा शौचालय, नुहाउने कोठा, धारा तथा पानी ट्याङ्की स्थापना गरिएको छ। दैनिक ४५-५० जनाको हाराहारिमा पर्यटक आउने हामिहरुको होमस्टेमा हामी आफ्नै बारिमा फलेका अर्गानिक खानेकुरा पकाएर खुवाउनुको साथै खसी-कुखुराको मासु, कोदोको परिकार जस्तै रोटि, ढिंडो र कोदोको लोकल रक्सिले आतिथ्य स्वागत गर्छौं।जसबाट पर्यटक हरु निक्कै खुशी हुने कुरा होमस्टे सन्चालक खड्कबहादुर गुरुङ्गले बताए।

उनी भन्छन-“राइनासकोट र यहाँको एउटै किसिमको घरको डिजाइनले नै पर्यटकहरु आकर्षित भएका हुन।त्यसैले गर्दा पर्यटकहरुको आगमन बढ्दै गइरहेको छ।” भूकम्प प्रतिरोधात्मक घर एउटै डिजाइनमा निर्माण गरिएको छ । ग्रामीण जनजीवनसँग जोडिएर सुविधा सम्पन्न तथा पौराणिक शैलीको मौलिकता झल्कने घर बनाइएको छ । पछिल्ला दिन घरबासमा बस्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्न थालेको छ भने ऐतिहासिक स्थलको प्रचार–प्रसारका साथै आयआर्जनका लागि समेत स्थानीय बासिन्दा आकर्षित भएका छन् ।

तर कच्ची मोटर बाटोको कारणले भने अहिले वर्षा सिजन सुरु भए सङ्गै बाटो बिग्रने, पहिरो जाने , भत्कने जस्ता बिबिध कारणले गर्दा पर्यटकहरू हिउँदको तुलनामा निक्कै घट्दै गैरहेको कुरा स्थानिय बताउँछन। सरकारले यसै क्षत्रलाई ध्यान दिएर बाटोको मर्मत सुधार साथै कालोपत्रे गरिदिए यस क्षेत्रको सुन्दरता र पर्यटनमा सुनमा सुगन्ध थपे जस्तै हुनेकुरा स्थानिय होमस्टे सन्चालकहरु बताउँछन। सरोकारवालाहरुको ध्यानाकर्षणमा प्रकृतिको अनुपम सृष्टि राईनासकोटमा पर्यटन ब्यवसाय अझै फस्टाउँदै जाओस। हार्दिक शुभकामना!!!

लेखक विनायक पन्त
Facebook Comment

छुटाउनुभयो कि?