राष्ट्रपति भण्डारीद्वारा बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा

पर्यटन बजार३० बैशाख २०७६, सोमबार मा प्रकाशित

राष्ट्रपति भण्डारीद्वारा बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा

वैशाख ३०, जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम पुगेकी छन्। प्रत्येक वर्ष वैशाख शुक्ल पक्ष नवमीका दिन धुमधामका साथ मनाइने जानकी नवमी पर्वमा सहभागी हुन राष्ट्रपति भण्डारी सोमबार बिहान जनकपुरधाम आएकी हुन्।

 पुजापश्चात जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रममा बोल्दै  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको खुलेरै प्रशंसा गरेकी छन् ।  उनले भनिन्, ‘यो अभियान सही ढँगले अगाडि बढिरहेकाले प्रशंसा गर्न चाहन्छु ।’

यो अभियानलाई सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटोको संज्ञा समेत दिइन् । उनले कतिपय सामाजिक विकृति र विसंगति विद्यमान रहेको भन्दैे चिन्ता व्यक्त गरिन् । ‘यो चिन्ताको बिषय हो’ उनले भनिन्,’यसको अन्त्यका लागि हामी सबै कृयाशील व्यक्तिलाई अगाडि आउनु जरुरी छ ।’

तराई मधेस कृषि क्षेत्र भएपनि उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखद भएको उनले बताइन् । राष्ट्रपति भण्डारीले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम र स्थानीय श्रोत र साधनको भरपूर उपयोग गरेर आर्थिक समृद्विमा लाग्न सबैसँग आग्रह गरिन् ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीलाई संघीय सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने धारणा राखे । प्रदेश सरकारले प्रादेशिक रुपमा मनाउँदै सोमबार विदासमेत दिएको छ । जानकी मन्दिरलाई संघीय सरकारले आफ्नो नजरबाट टाढा राखेको उनको गुनासो छ ।

Facebook Comment

छुटाउनुभयो कि?