राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधन बेलायतकी महारानी शैलीमा – सभापति देउवा

पर्यटन बजार२२ बैशाख २०७६, आईतवार मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधन बेलायतकी महारानी शैलीमा – सभापति देउवा

बैशाख २२,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा समेटिन नसकिएको कुराहरूको ध्यानाकर्षण गराएका छन्। सभापति देउवाले सरकारले घोषणा गरेकै कामहरू नभएको भन्दै सरकारको आलोचनासमेत गरे।

देउवाले नेपाली काँग्रेसको अगुवाइमा  लामो समयदेखिको हिंसात्मक द्वन्द अन्त्य भएको भन्दै  तिनै तहको निर्वाचन सम्पन्न गराएको बताए ।   उनले भने “संविधान बन्यो र मेरो नेतृत्वकै सरकारले तिनै तहको निर्वाचन सम्पन्न गर्यो। आन्तरिक शान्ति, सम्मानजनक आर्थिक वृद्धि र सुमधुर परराष्ट्र सम्वन्धको अवस्था कायम गरी मैले नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेको हुँ। डेढ वर्षअघि  धेरै ठुला सपना र आश्वासन  बेचेर यो सरकार सत्तामा आएको विदितै छ। यो सरकारको काम गर्ने गति र शैलीबाट भने हाल जनताले ठगिएको महसुस गरेका छन्। “

उनले यस सरकारको आगमनसँगै हरेक तहमा कर, महंगी र भ्रष्टाचार बढेको आरोप समेत लगाए । उनका अनुसार चर्को व्याजले गर्दा लगानी निरुत्साहित छ। व्यवसायमैत्री बातावरण खस्केको छ। सार्थक आर्थिक सुधारका पहल भएका छैनन, सरकारको दोहनकारी प्रवृत्तिले आन्तरिक र वाह्य लगानीको माहोल बनेको छैन ।

सम्बोधनकै क्रममा देउवाले नीति तथा कार्यक्रममा “पूर्ण लोकतन्त्र” भन्ने शब्द प्रयोग गरिएको छ। लोकतन्त्र आँफैमा पूर्ण हुन्छ र यसको लागि कुनै विशेषण चाहिदैन। वर्तमान नेतृत्वको  पूर्ण लोकतन्त्र भनेको नियन्त्रण, निषेध र निर्देशनमा आधारित अनुदार राजनीतिक व्यवस्था हो भन्ने कुरा सरकारको कृयाकलापले स्पष्ट पार्दै लगेको  छ।  संक्रमणको अन्त्य भएको भनिए पनि हजारौ द्वन्द पिडितहरु अझै न्याय र राहतको पर्खाइमा छन।  हिंसात्मक द्वन्दका घटनाहरु रोकिएका छैनन।

नीति तथा कार्यक्रम छरपष्ट, आधारहीन  र तयारी विनाका चाहनाहरुको सँगालोको रुपमा मैले लिएको छु। जसरी यो सरकारले गत साल ल्याएको नीति तथा कार्यक्रमले कुनै नतिजा दिन सकेन, यसरी नै यो नीति तथा कार्यक्रमले केही नतिजा दिन नसक्ने निश्चित छ।

एक वर्षको नीति र कार्यक्रमहरु भनिएको छ तर यहाँ दुई वर्षका, चार वर्षका, पच्चिस वर्षका वा वर्षै नतोकिएका कार्यक्रमहरुको बाहुल्यता छ। स्रोत, साधन र विधिको टुंगो नभएका हुनाले यि मध्ये कैयन कार्यक्रमहरु फगत नारामा सिमित हुने कुरामा शंका छैन।

त्यस्तै पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले उद्योग, व्यवसायहरुले सिर्जना गर्ने रोजगारी नबढेको र आफ्नो पालामा ल्याइएको सामाजिक सुरक्षा ऐनलाई पनि यस सरकारले ल्याएको जस्तो गरी प्रचार गरेको प्रति गुनासो पोखे ।

शान्ति सुरक्षाको मामलामा यो सरकार असफल भएको छ। निर्मला पन्त हत्या र बलात्कारको प्रमाण नष्ट गर्ने काम स्वयं सरकारले गरेको छ। देशका विभिन्न भागमा विशेष गरी महिलाहरुविरुद्ध  भैरहेका हिंसा अन्त्य गर्ने ठोस योजना र अभियान सरकारसंग छैन।  मुलुकका धेरै भागमा हिंसात्मक द्वन्दका घटनाहरु भईरहंदा पनि कुन आधारमा सरकारले त्यसको समाधान भईसकेको दावी गरेको हो स्पष्ट छैन।

स्याटलाइटका बिषयमा देउवाले भने “मेरो नेतृत्वको सरकारले नेपाली युवा वैज्ञानिकहरुको प्रतिभालाई प्रोत्साहनस्वरुप ल्याएको नानो स्याटलाइट परियोजनालाई देखाएर यो सरकारले आफैले नेपाललाई अन्तरिक्ष युगमा पुर्याएको बकम्फुसे दावी गरेको छ। “

यो सरकार नेपालको आवश्यकता, स्वार्थ र अधिकारलाई द्विपक्षिय र वहुपक्षिय मञ्चहरुमा तर्कसंगत रुपमा राख्न सकिरहेको छैन। यसकारण हाम्रो परराष्ट्र नीति अपरिपक्व देखिएको छ। बिमस्टेक, होली वाइन र भेनेजुयला काण्ड यसका ज्वलन्त उदाहरण हुन् । सरकारको यस्तो फितलो परराष्ट्र नीति संचालनका कारण अन्तर्राष्ट्रिय विश्वसनीयता र विदेशी लगानीमा समेत प्रतिकूल असर परेको हाम्रो ठहर छ।

यो सरकारले सम्मानित राष्ट्रपतिको संस्थालाई पटकपटक विवादमा तान्दै आएको देउवाले बताए । वेलायतकी महारानीको शैलीमा सम्वोधन गर्न लगाएर थप विवादमा पारेको छ। यो लोकतान्त्रिक गणतन्त्रको लागि शुभसंकेत हैन।

Facebook Comment

छुटाउनुभयो कि?