रुकुम पश्चिममा बढ्यो हवाई सेवा, सस्तियो भाडा

पर्यटन बजार१८ आश्विन २०७७, आईतवार मा प्रकाशित

रुकुम पश्चिममा बढ्यो हवाई सेवा, सस्तियो भाडा

असोज १८, काठमाडौं।रुकुम पश्चिमबाट काठमाडौं र नेपालगन्जका लागि हवाई भाडा घटेको छ । काठमाडौंका लागि झन्डै एक हजार र नेपालगन्जका लागि चार सय भाडा घटेको हो ।

यसअघि काठमाडौंका लागि सात हजार नौ सय ८० रुपैयाँ भाडा लाग्ने गरेकाेमा अहिले आठ सय ६५ रुपैयाँ घटेर सात हजार एक सय १५ पुगेको छ । त्यस्तै नेपालगन्जका लागि अहिले तीन हजार दुई ९५ रुपैयाँ भाडा कायम गरिएको छ ।

यसअघि नेपालगन्जका लागि तीन हजार ६ सय ८५ रुपैयाँ भाडा लाग्ने गरेकाेमा त्यसमा तीन सय ९० रुपैयाँ घटेको नेपाल वायुसेवा निगम रुकुम पश्चिम मुसिकोट शाखाका स्टेसन इन्चार्ज गोविन्द गिरीले जानकारी दिए । हवाई इन्धनको मूल्य घटेपछि जिल्लामा हवाई भाडा पनि घटाइएको उनको भनाइ छ । इन्धनमा जति मूल्य घट्यो त्यसकै आधारमा हवाई भाडामा हेरफेर गरिएको गिरीले बताए ।

यसैबीच जिल्लामा हवाई तालिकामा पनि फेरबदल गरिएको छ । हप्तामा दुईदिन काठमाडौं र नेपालगन्जका लागि उठान हुने जिल्ला सदरमुकामको सल्ले एयरपोर्टमा यसअघिको तालिका भदौ २९ सम्मका लागि परिवर्तन गरिएको स्टेसन इन्चार्ज गिरीले जानकारी दिए ।

‘यसअघि हप्तामा आइतबार र सोमबार दुई दिनमा नेपालगन्ज र काठमाडौंका लागि एक–एकवटा उडान हुने गरेका थिए,’ उनले भने, ‘हाल आइतबार र बिहीबार दिनमा दुई–दुईवटाका दरले दुई दिनमा चारवटा उडान भइरहेका छन् ।’

यसअघि आइतबार काठमाडौं-रुकुम-नेपालगन्ज र सोमबार नेपालगन्ज-रुकुम-काठमाडौं उडान भइरहेको थियो । हाल आइतबार काठमाडौं-रुकुम-नेपालगन्ज-जुम्ला हुँदै नेपालगन्ज र पुनः रुकुमबाट काठमाडौं उडान भइरहेको छ भने बिहीबार पनि सोहीअनुसारको उठान भइरहेको छ । तर, बिहीबार जुम्लाको सट्टा बाजुरा उडान हुने गरेको नेपाल वायुसेवा निगम रुकुम पश्चिम स्टेसनले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?