पर्यटन बजार३२ श्रावण २०७७, आईतवार मा प्रकाशित
साउन ३२ काठमाण्डौ। रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उत्पादन सुरु गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसले पहिलो चरणको उत्पादन सुरुवात गरेको हो।
खोप अगस्ट महिनाको अन्त्यसम्ममा उपलब्ध हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
‘गमलेया रिसर्च इस्न्टिच्यूटले नोवल कोरोना भाइरस खोपको पहिलो ब्याच उत्पादन गरेको छ’, स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।
राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता खोप उत्पादनका लागि प्रमाणिकरण गरिएको बताएका थिए। प्रमाणिकरण भएसँगै यसको उत्पादन सुरु भएको हो।
तर विश्वभरका धेरै वैज्ञानिकहरूले भने खोपको सुरक्षा जाँच अझै गर्नुपर्ने बताइरहेका छन्। मानिसमा एक महिना लामो परीक्षण गरिए पनि यसको अन्तिम तथा महत्वपूर्ण तेस्रो चरणको परीक्षण भने हुन बाँकी रहेको घोषणाका क्रममा बताइएको थियो। त्यसको केही समयपछि अधिकारीहरूले तेस्रो चरणको परीक्षणमा २ हजार रुसी तथा थुप्रै ल्याटिन अमेरिकी सहभागी भइरहेको बताएका थिए।
खोपको अन्तिम चरणको परीक्षणमा हजारौँ मानिस सहभागी हुन्छन्। जसबाट खोप शतप्रतिशत सुरक्षित तथा काम गर्ने नगर्ने थाहा हुने विज्ञहरूले बताएका छन्।
राष्ट्रपति पुटिनले भने खोप शतप्रतिशत सुरक्षित भएको दाबी गरेका छन्। त्यसैले आफ्नो छोरीलाई पनि खोप दिएको बताएका छन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit