रौनक बिहीन पर्यटन दिवस

पर्यटन बजार११ आश्विन २०७७, आईतवार मा प्रकाशित

रौनक बिहीन पर्यटन दिवस

असाेज ११,काठमाडौं । (आज) ४१ औं विश्व पर्यटन दिवस अर्थात पर्यटन क्षेत्रका लागि एक उल्लासको दिन । कोभिड–१९ को महामारी नभएको भए यो बेला नेपालसहित विश्वका अधिकांश मुलुकमा तामझामका साथ पर्यटन क्षेत्रसँग आबद्ध संघ–संस्थाहरूले भव्य रुपमा कार्यक्रम मनाइरहेको हुन्थ्ये ।

 कोभिड–१९ को महामारीले पर्यटन दिवसको रौनक नै खोसिएको छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन थालिएको हो ।

मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भनेकै पर्यटन हो । संसारको छानाका रूपमा विश्वमा आफ्नो पहिचान स्थापित गर्न सफल हाम्रो देश नेपाललार्ई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका रहेको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुन्छ भनेझैं निकट भविष्यमा नै यो महाव्याधि नियन्त्रणमा आउनेछ, नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्नेछ र हाम्रा तत्कालीन एवं दीर्घकालीन लक्ष्यहरू हासिल हुनेछन् भन्ने विश्वासका साथ अघि बढ्ने बताएका छन् ।

‘सरकारी, निजी व्यवसाय तथा नागरिकस्तरबाट सुरक्षाका मापदण्डहरू पालना गरी आन्तरिक रूपमा सम्भार, विकास र तयारीजस्ता पुनरुत्थानका कार्यहरूमा लागौं ’,पर्यटनमन्त्री भट्टराईले भने ।

बहुआयामीक उद्योगका रुपमा चिनिएको पर्यटन क्षेत्रको नेपालको समृद्धि यात्रामा उल्लेख्य भूमिका र योगदान छ । विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत छ ।  पर्यटन क्षेत्रमा करिब ११ लाख जनशक्तिले रोजगारका अवसरहरू सिर्जना गरेको छ । विदेशी पर्यटकको खर्चबाट आर्जन हुने निर्यात आम्दानीमा ३०.८ प्रतिशतको योगदान रहेको छ ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोभिडका कारण पर्यटन क्षेत्रकै रौनक हराइरहेको बताए । खुसियाली साटासाट गर्ने अवसरको रुपमा पर्यटन दिवसलाई लिइए पनि यो वर्ष चुनौतीलाई सामना गरेर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । टानले हेलम्बु ट्रेलको घोषणा गर्ने भएको छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष अच्युत गुरागाइले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई कसरी पुनत्र्थान गर्न सकिन्छ भन्ने विषयमा विभिन्न क्षेत्रसँग अनलाइनमार्फत भर्चुअल्ली मिटिङ गरिरहेको बताए । ‘कोभिडले व्यवसायीहरूको खुसी लुटिएको छ, अध्यक्ष गुरागाइले भने सरकारी साथ र सहयोग रहे आगामी दिनमा राम्रो हुने अपेक्षा लिएका छौं ।’

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादर गुरुङले कोभिडले रौनक खोसेको बताए । आजको दिनमा जुन व्यवसायीहरू माझ जुन रौनक हुन्थ्यो, त्यो खोसिएको छ, महासचिव गुरुङले भने ।

पर्यटनसँग आबद्ध विभिन्न संघ–संस्थाहरूले तामझामका साथ कार्यक्रम गर्न नपाए पनि अनलाइनमार्फत विभिन्न कार्यक्रमको आयोजना भने गरेका छन् । यो वर्षको नारा ‘पर्यटन र ग्रामीण विकास’ भन्ने छ । दिवसकै अवसर पारी पर्यटन मन्त्रालयले चोभारमा वृक्षरोपन गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?