लकडाउनमा पलाएका पखेटा – यात्रा स्मरण

पर्यटन बजार१९ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

लकडाउनमा पलाएका पखेटा – यात्रा स्मरण

संगीता भट्टराई

भदौ १९, काठमाण्डौ। एकाबिहानै उठेर ब्याग प्याक गर्दा धेरै समय पछि मनमा नयाँ उल्लास छाएको थियो। नेपालको पर्यटक टाकुरा पुग्ने, त्यहाँको रहनसहन, जीवनशैली केहि क्षणको लागि भएपनि आफुमा उतार्ने, सो स्थानको उकाली खिच्ने, ओराली खिच्ने, स्थानीयको आखाको सपना खिच्ने, छागा छहराहरुको छर्छर, पातहरुको सुसेली, चौतारोको सुस्केरा, डोकोले नछाडेको घाँसको हरियाली, हिमालको चमक, दुखको उदासीपन र सुखको धुन खिच्ने चाहाना कोरोना कहरले अस्तव्यस्त बनाएको थियो। त्यसैले फेरी आज एक पटक आफुमा लकडाउन भन्दा अगाडिको घुमन्ते केटिले अङ्कुर हालेको भेटे। हरेक शनिबार घरमा टिक्दैन थ्यो यो पाइला। जति नै कार्यव्यस्तता भए पनि हप्तामा एक दिन प्रकृतिको साथमा बिताउथ्यौ हामि आफ्नो दैनिकी। शनिबार टाढा जान नसके पनि काठमाण्डौ भित्र कै कुनै न कुनै डाँडा पाखामा पुग्थ्यौ र आफुलाइ पुरा भएको महसुश गर्थ्यौ।

हो त्यहि कमि आज फेरी पुरा हुन गैरहेको थियो। उसो त पेशाले पनि घुमन्तेनै हो हामि कामकै शिलशिलामा भएपनि आवश्यक सुरक्षा, तातो पानि, सेनिटाइजर र चिसो चिसो मौसम भएकाले भुटेको मकै सहित हाम्रो टिम चिसापानी हाइकिङ्ग (पदयात्रा) हैन हैन बाइकिङ्ग (यो यात्रा स्मरण पुरै पढनुहोला आफैँ बुझ्नुहुने छ) को लागि तयार भयौ यात्रा लागि । साथीहरुलाई हामि(बिनिता र म) तयारि भएको जानकारी गराएपछि हामि स्कुटरमा प्रेट्रोल भर्न गयौ। चुच्चेपाटीमा प्रेट्रोल भरिसकेपछि हामि आफ्नो टिमको प्रतिक्षामा केहि बेर त्यहि बस्यौ। हामि जम्मा ६ जना जादै थियौ २ बाइक र एक स्कुटरमा। हामि छ जना नै पेशाले पत्रकार थियौ अझै भन्दा पर्यटन पत्रकार। केहि बेरको प्रतिक्षा पछि ऋषि लोहनी सर आइपुग्नु भयो। सुशान्त न्यौपाने दादाले तपाईंहरु + हिड्दै गर्नु भएपछी बिहान ७ बजे हामि चार जाना निस्कियौ चुच्चेपाटिबाट।

सुन्दरीजल सम्मको बाइक यात्रा र त्यसपछिको पदयात्र फेरी सुशान्त दादाको कल संगै मोडियो साँखु तर्फ। सुन्दरीजल तर्फ बाट बाटो थाहा भएपनि साँखु तिरबाट हामीलाई कुनै मेसो थिएन त्यसैले हामि पुरै लोहनी सर माथि निर्भर भयौ। एकाबिहानैको यात्रा काठमाण्डौ कै भएपनि धेरै फरक थियो पहिले र अहिलेमा। बाटोमा कतै ट्राफिकको समस्या थिएन, रोडहरु केहि हदसम्म पहिला भन्दा सफा थिए, आफ्नै मन चङ्गा झैँ उडिरहेको थियो स्कुटर भन्दा पहिला। पहिलोपटक काठमाण्डौ अति सुन्दर लागिरहेको थियो। रोडहरु शालीन, शान्त र सफा थिए, पहिला झैँ उनीहरुलाई कुनै हतार थिएन न त कोरोनाको शोक नै ।

जादै गर्दा हामीले बाटोमा नारायणेश्वर महादेव मन्दिर भेट्यौ र लाग्यौ उतै केहि समयको लागि। सालिनदीको मुहान लप्सेफेदी अवस्थित श्री नारायणेश्वर महादेव स्थान श्री स्वस्थानीमा आधारित पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत पूजा गरेको ६४ लिङ्ग मध्ये ३३ सौँ स्थानमा पर्दछ । धार्मिक महत्वले भरिपूर्ण यस स्थान प्राकृतिक सौन्दर्याताको हिसाबले नि उत्तिकै भरिपूर्ण छ। काठमान्डौको कोलाहल भन्दा थोरै मात्र टाढा वरिपरिको हरियाली जंगल, चराहरुको चिरबिर चिरबिर, झरनाहरुको झर झर सँगै स्वस्छ खोलाको कल कल आवाजले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउछ। यस स्थान हामीजस्ता प्रकृतिप्रेमीको रोजाइमा नपर्ने कुरै भएन। अपुरो हाम्रो टिम त्यहि पुगेपछि मात्र पुरा भयो। केहि बेरको प्रकृतिसंगको लुकामारी पछि हामि पुन आफ्नो यात्रामा अगाडि बढ्यौ। जर्सिनपौवा सम्म त बाटोको अवस्था ठीकठाक नै थियो अब भने बाटोले गर्दा हामी समस्यामा पर्न थाल्यौ। जेनतेन बाइक जान्थ्यो तर स्कुटरको भने हालत खराब हुदै थियो। कहिले भोटेचौर आउला र स्कुटर राखेर आनन्दले हिडौला भन्ने लाग्दै थियो। तर यो निराशा बाटोको भेटिएको साना ठुला थुप्रै झरना र कुहिरोले आधा ढाकेको रमणिय दृश्यले आफै पुर्दै पनि थियो। दुखैमा पनि खुसि थियौ हामि । जसोतसो भोटेचौर पुग्यौ तर फेरी यात्राले अर्को मोड लियो। यहाँ पनि हामीले सोचे झैँ भएन त्यहा स्कुटर राखेर अगाडि हाइकिङ्ग जाने भन्ने कुरा हामीले गलत बुझेको रहेछौ। बल्ल थाहा भयो कि हामि स्कुटर मै चिसापानी सम्म जादै छौ हिडेर जानको लागि जोसिएको हामि फेरी स्कुटर डोर्याउन को लागि अभ्यस्त बनाउन तिर लाग्यौ किनकि हामीलाई थाहा थियो बाटो राम्रो छैन भन्ने।

त्यसैले आफुलाई त्यहिको माहोल अनुरुप परिवर्तन गर्यौ र चियाबगान हुदै लाग्यौ हैबुंग तर्फ। हामीले भोटेचौर देखि नै काठमाण्डौ जिल्ला छाडेर सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा यात्रा गर्दै थियौ। तर हामीलाई भर्खरै काठमाण्डौ जिल्ला छाडेको हो भन्ने भान भैरहेको थिएन। हामीलाई त्यहाको जनजीबन बाटोघाटोले सोच्ने दिएन कि हामि मात्र काठमाण्डौबाट एक दुइ किलोमिटर मात्र टाढा छौ भनेर। बाटोको अवस्था हेर्दा कुनै बिकट स्थानमा यात्रा गर्दैछु जहाबाट काठमाण्डौको टाढा टाढा सम्म पनि केहि सम्बन्ध छैन जस्तै लाग्दै थियो। हुन त काठमाण्डौ मै कति धेरै यस्ता स्थानहरु छन जसले आफैलाई काठमाण्डौमा पर्दछु भनेर हिनताबोध भन्न बाध्य छन्।

पर्यटकीय सौन्दर्यता भरिपूर्ण भएपनि जबसम्म त्यहाँ जाने ब्यबस्थित बाटोको निर्माण हुदैन त्यहाँ क्षमता भन्दा थोरै मात्र पर्यटकहरु पुग्ने गर्छन। यहि तितो सत्य हो। बिहान ७ बजे चुच्चेपाटि बाट निस्किएका हामि चियाबगान पुग्दा ११:३० भैसकेको थियो। हामीलाई थाहा थिएनै अझै कति समय लाग्छ चिसापानी पुग्न भन्ने। घरि बाइकमा ३ जना बस्ने, घरि स्कुटर धकाल्लने, घरि झरेर हिड्ने पछाडी बस्नेहरुलाई आधा बाइकिङ्ग आधा हाइकिङ्ग वाला अनुभब भैरहेको थियो भने चलाउनेलाइ त्यो सुख पनि थिएन बाध्यता थियो जस्तो अवस्थामा पनि साधन लिएरै जान पर्ने। ठाउँ ठाउको रमणिय स्थानमा फोटो भिडियो सेसन संगै स्थानीयको बारीको नास्पातिको स्वाद लिदै, बाटो भुलिदै फेरि फर्कदै, झर्दै बाइक ठेल्दै, स्कुटर लडाउदै, उठाउदै, यो बाटो आउने नहुने बाटो आयौ भन्दै रिसाउदै फेरी खुसि हुदै हामी ३ बजे चिसापानी पुग्यौ । हामीलाई चिसापानी पुगेको भन्दा बढी खुसि स्कुटर चिसापानी पुगेको खुसि थियो । बाइकवाला दाइहरुलाई एकछिन भएपनि बाइकबाट फुर्सद मिल्यो आराम पायौ भन्ने खुसि थियो। जे होस बाटोका ति दयनीय, थाकेका, मायालाग्दा अनुहारमा चिसापनिले पुग्ने बित्तिकै आफ्नो रंग भरेको थियो। खुसीको रंग!  त्यहाँ पुग्नुको उमंग !!

राजधानीको कोलाहल र व्यस्त दैनिकीबाट केही समय विश्राम लिन पायक पर्ने उपयुक्त ठाउँ रहेछ काठमाडौंको उत्तरी भेगमा पर्ने- चिसापानी। चिसापानी साँच्चै चिसो छ। गर्मि महिनामा पनि हामीले त्यहाँ पुगेर जाडोको अनुभब गर्यौ। समुद्री सतहबाट २ हजार १ सय ६५ मिटर उचाइमा अवस्थित चिसापानी नुवाकोट, काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको संगम स्थल हो। यहाँबाट हिउँदमा सेताम्मे हिमाल, हरियाली जंगल, वसन्त ऋतुमा फुलेका राताम्मे गुराँस हेरेर आनन्द लिन सकिन्छ। हामि बर्षा याममा गएकाले गर्दा मुस्किलले तल फाँटहरु,भिराला बस्तीहरू देख्न पायौं। चिसापानी डाँडामा पुगेपछि गौरीशंकर, लाङटाङ दोर्जेलाक्पा जस्ता धेरै हिमालको दृश्य नियाल्न सकिने स्थानीयले बताउनुभयो । तर मौसमका कारणले हामि आफैले भने यो सुन्दर दृश्य देख्न पाएनौ। चिसापानीमा ३ सयदेखि १ हजार ५ सय रुपैयाँसम्मका सुविधाजनक कोठा भएका होटलहरू छन्। चिसापानीमा स्थानीय कुखुराको मासु र गाउँमै बनेको रक्सी, गाउँले चामलको भात खान पाउनुको छुट्टै मज्जा। जाडो भए फायर क्याम्प गरेर बसे हुन्छ। चिसापानीबाट र्फकंदा नगरकोट वा बूढानीलकण्ठको फरक रुट प्रयोग गर्न सकिन्छ।

केहि बेरको त्यहाँको बसाइपछि ५ बजे हामि निस्कियौ काठमाण्डौ तर्फ। स्थानियहरुले सुन्दरीजलको बाटो तिरबाट जानुस राम्रो छ भनेपछि हामि सुन्दरीजल हुदै आउने भयौ। बिहानको बाटो र अहिलेको बाटोमा जमिन आकाशको फरक पायौ। अझ भन्नुपर्दा बिहान पिडा भोगेको हामीलाई पिच रोडमा हिडेको भान भैरहेको थियो। रोडको दायाँ बायाँको उनिउ घारीको हरियाली साथै चराहरुको चिरबिर र फ़ाट्टफ़ुट्ट देखिएको कालिज, साथै दिन ढल्कदाको गोधुलिपनाले सुनमा सुगन्धको काम गरिरहेको थियो। बाटोबाट देखिने सुन्दर दृश्य निहार्दै अघि बढ्दै गर्दा बाटो मै रात पर्यो। अघिसम्मको राम्रो बाटो फेरी बिहानकै झल्को दिन थालेको थियो।

जति जति हामि काठमाण्डौ तर्फा आउथ्यौ त्यति त्यति हिलो र अफ्ठ्यारो बाटो आउन थाल्यो। साढे सात बजिसकेको थियो तर हामि अझै जंगलको बीच मै थियौ। चकमन्न त्यो जंगलमा हामि ६ जना बाहेक कोहि थिएन। अफ्ठ्यारो बाटोले गर्दा राति नै भएपनि बाइकबाट झर्न पर्ने अवस्था आउथ्यो, डरै डरमा भारि मन बनाएर झर्थ्ये म ऐले सम्झदा मन नै जिरिङ्ग गर्छ। सबैजनामा बिहानको जस्तो उत्साह थिएन मौन थियौ सबैजना अनि सबैको मनमा एउटै मात्र अभिलाषा थियो कुन बेला सुन्दरीजल निस्कन्छौ भन्ने। घर बाट पटक पटक फोन आइरहेको थियो कुन बेला आइपुग्छौ भनेर कुन्नि कुन ठाउँ पुगेको थाहा नभएपछि घरको सदस्यलाई अत्यास नलागोस भनेर सुन्दरीजल पुगिसक्यौ भने। फोनमा कस्तो भयो यात्रा भन्नु भयो मनमा “कहाँनि सुरु गरौ मैले का बाट…” गित बज्दै थियो तर आफैलाई रोके र घर आएपछि भन्छु भदै फोन राखे। बल्ल तल हामि सुन्दरीजल आइपुग्यौ, सबैजनाको ज्यानमा सास आएको अनुभूति भयो तर दुख आएपछि साथमा आफ्नो नातागोता नि लिएर आउछन भने झैँ अर्को दुख आइपर्यो, स्कुटरको हेडलाइट नै बल्न छाड्यो। अध्यारो रातमा अब कसरि जानु नजिकै कतै वर्क सप पनि थिएन। हामीलाई हतास देखेर लोहनी सरले आफ्नो बाइकले पछितिर बाट लाइट देखाउदै संगै ल्याउनु भयो जोरपाटी सम्म त्यहाँबाट बाटोमा बिजुलीको पोलमा राखेको बत्तिको भरमा हामि चाबहिल आफ्नो बासस्थान सम्म आइपुग्यौ।

आज यात्रा गरेर आएको दोश्रो दिन ज्यान दुख्न छाडेको छैन तर यो यात्रा स्मरण लेख्दै गर्दा अनुहारमा हासो छुटेको छैन। यात्राको दुखद क्षण नै अविश्मरणिय क्षण बन्दो रहेछ।

Facebook Comment

छुटाउनुभयो कि?