लुकीछिपी नेपाल प्रवेश पूर्ण रुपमा बन्द गर्ने प्रयासमा छौं : गृहमन्त्री

पर्यटन बजार३२ श्रावण २०७७, आईतवार मा प्रकाशित

लुकीछिपी नेपाल प्रवेश पूर्ण रुपमा बन्द गर्ने प्रयासमा छौं : गृहमन्त्री

 साउन ३२, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्न कम भए पनि पूर्ण रुपमा नियन्त्रण नभएको बताएका छन् ।

सरकारले हालै मात्र भारतबाट नेपाल आउने नेपाली नागरिकका लागि १० वटा प्रवेश बिन्दु तोकेको छ । अवैध आवागमनलाई नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको छ ।

तर अझै पनि लुकिछिपी आउने क्रम देखिएको मन्त्री थापाले बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, ‘धेरै हदसम्म नियन्त्रण गरेको छ, तर केही मात्रामा लुकीछिपी आउने काम भइरहेको छ । यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ ।’

उनले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सबैलाई आग्रह समेत गरे । मन्त्री थापाले भने, ‘सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न नागरिकको सहभागिता र उनीहरुको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं ।’

Facebook Comment

छुटाउनुभयो कि?