लुम्बिनी भ्रमण गर्न काठमाडौँवासीलाई निम्तो

पर्यटन बजार२५ बैशाख २०७६, बुधबार मा प्रकाशित

लुम्बिनी भ्रमण गर्न काठमाडौँवासीलाई निम्तो

बैशाख २५, काठमाडौँ । शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोलीले काठमाडौँ वासीलाई पनि निम्तो दिएको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी (रोड सो) कार्यक्रम गरिएको हो । बुद्धको प्रतिमा र मायादेवी मन्दिरको ठूलो आकृतिलाई गाडीमा सजाएर प्रदर्शन गरिएको थियो ।

प्रदेश नं ५ को उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको आयोजना तथा सिद्धार्थ होटल एशोसिएशन, नेपाल (सान) को नेतृत्वको टोलीले देशैभर सडक प्रदर्शनी अभियान सुरु गरेको छ । आगामी जेठ ४ गते परेको २५६३ औँ बुद्ध जयन्तीका अवसरमा घोषणा हुन गइरहेको लुम्बिनी भ्रमण वर्षलाई सफल पार्न प्रचार अभियान सुरु गरिएको रोड सो कार्यक्रमका संयोजक रवीन्द्र शर्मा घिमिरेले जानकारी दिए ।

लुम्बिनीको भैरहवाबाट सुरु गरिएको अभियान रुपन्देहीको बुटवल, पाल्पाको तानसेन, स्याङ्जाको पुतलीबजार, कास्कीको पोखरा, तनहुँको दमौली हुँदै काठमाडौँ आएर सडक प्रदर्शन गरी लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको छ । दरबारमार्गस्थित नारायणहिटी सङ्ग्रहालय अगाडि भएको कार्यक्रममा सांसद, पूर्वमन्त्री तथा काठमाडौँका पर्यटन व्यवसायी र लुम्बिनीबाट आएका व्यवसायीसहितको टोलीले लुम्बिनी भ्रमण गई अभियानलाई सफल पार्न आग्रह गरे ।

सो अवसरमा प्रतिनिधिसभाका सांसद घनश्याम भुसालले लुम्बिनीबाट बुद्धको सन्देश बोकेर काठमाडौँ आएको टोलीलाई स्वागत गर्दै राष्ट्रिय अभियानलाई सफल पार्न सबैको साथ चाहिने बताए । उनले लुम्बिनी प्रवद्र्धनको विषय केवल लुम्बिनीवासीको मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो र सरोकारको विषय भएको उल्लेख गर्दै अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको अभियान २०२० लाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पूर्वमन्त्री दीपक बोहोराले लुम्बिनी भ्रमणलाई सफल बनाउन व्यवसायीको सक्रियतामा चलाइएको अभियानले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे ।

अभियानको दोस्रो चरणको कार्यक्रम नारायणघाट, हेटौँडा, वीरगञ्ज, जनकपुर, इटहरी हुँदै पूर्वमेचीसम्म लुम्बिनी भ्रमण वर्षको प्रचारार्थ सडक प्रदर्शनी हुनेछ भने तेस्रो चरणमा दाङ, नेपालगञ्ज, महेन्द्रनगर र सुर्खेतमा गरिनेछ । त्यस्तै, चौथो चरणमा भारतको कुशिनगर, वनारस र सारनाथमा सडक प्रदर्शनी गरिने लुम्बिनी भ्रमण वर्ष मूल आयोजक समितिले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?