लुम्बिनी भ्रमण वर्ष २०७६ – बुद्ध पूर्णिमाका दिन भव्य समारोह गरी भ्रमण वर्षको आरम्भ गरिने

पर्यटन बजार३ चैत्र २०७५, आईतवार मा प्रकाशित

लुम्बिनी भ्रमण वर्ष २०७६ –  बुद्ध पूर्णिमाका दिन भव्य समारोह गरी भ्रमण वर्षको आरम्भ गरिने

चैत ३, रुपन्देही  ।  प्रदेश ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी थालेको छ । सिद्धार्थ राजकुमारको जन्ममूमि लुम्बिनी र आसपासका धार्मिक, पर्यटकीय, पुरातात्विक र ऐतिहासिक महत्वका स्थानहरुको पहिचान, संरक्षण, सम्बर्द्धन तथा व्यवस्थापनमा टेवा पु-याउन प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गरेको हो । मन्त्रिपरिषदले कार्यक्रम स्वीकृत गरेसँगै भ्रमण वर्षको तयारी सुरु गरिएको हो । 

आउँदो बुद्ध पूर्णिमाका दिन भव्य समारोह गरी भ्रमण वर्षको आरम्भ गरिने छ । कार्यक्रमका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भ्रमण वर्षका क्रममा लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदहलगायतका क्षेहरुलाई समेटेर प्रवर्द्धनात्मक कार्यक्रम गरिने छ । भ्रमण वर्षका क्रममा मायादेवी प्रसूतिमार्ग घोषणा एवं प्रसूति उत्सव गर्ने कार्यक्रम पनि तय गरिएको छ । 

भ्रमण वर्ष सफल बनाउन झण्डा निर्माण गरिनाका साथै स्टिकर, ब्रोसर, होर्डिङ बोर्डलगायतका सामग्रीहरु बनाएर प्रचारप्रसार गर्ने तयारी रहेकाे छ । बुद्धबारे सडक प्रदर्शनी, सर्किट, लुम्बिनी प्रवेश नाकाको सरसफाइ, निबन्ध लेखन र साहित्य प्रतियोगिता आयोजना गरिने जानकारी मन्त्रालयले दिएको छ । 

भ्रमण वर्ष अवधिभर विभिन्न कार्यक्रम गरी लुम्बिनीमा पर्यटकको सङ्ख्या बढाउने योजना पर्यटन मन्त्रालयको छ । बुद्धसँग सम्बन्धित सडक प्रदर्शनी नेपालका ७ वटै प्रदेशमा र पर्यटन व्यवसायीसँगको सहकार्यमा बुद्धको महिमा गाँसिएको भारतका कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा पनि प्रदर्शन गर्ने कार्यक्रम छ । कार्यक्रमका लागि पर्यटन मन्त्रालयले ४ करोड १९ लाख ६० हजार रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । प्रस्तावित बजेटलाई आर्थिक मामिला मन्त्रालयबाट रकमान्तर गरेर व्यवस्थापन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ । प्रदेश ५ सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार छुट्याइएको बजेटमध्ये २ करोड २७ लाख ९० हजार रुपैयाँ चालू आर्थिक वर्षमै खर्च हुनेछ । 

प्रस्तावित खर्चअनुसार उद्घाटन कार्यक्रममा ७० लाख र समापनमा १५ लाख रुपैयाँ खर्च हुनेछ । भ्रमण वर्षको प्रचारप्रसारका लागि १ करोड २५ लाख रुपैयाँ छुट्याएको छ । ब्राण्डिङ, लोगो, जिंगल, वेबपेजका लागि ६ लाख रुपैयाँ छुट्याइएको छ भने सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाउन एक सय फुट अग्लो राष्ट्रिय झण्डा निर्माण, भ्रमण वर्ष अवधिभर मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र लुम्बिनी–तिलौराकोट सडकलाई मायादेवी प्रसूति मार्ग घोषणा गरिने छ । 

बुद्ध सर्किटका विभिन्न स्थान तथा लुम्बिनी प्रवेशका विभिन्न नाकाहरूको सरसफाइ, डष्टबिन खरिद र बेलहिया–भैरहवा दीपमाला जडानका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ । प्रदेश सरकारले तय गरेको बजेट तथा कार्यक्रममा खेलकूद, साहित्य, संस्कृति तथा क्षमता विकास कार्यक्रमहरु समाविष्ट छन् । भ्रमण वर्षको सिलसिलामा आयोजना गरिने बौद्ध विद्वानहरुको समागममा बौद्ध दर्शन र लुम्बिनीबारे कार्यपत्र प्रस्तुत गर्न मात्रै २० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

गौतम बुद्ध जन्मिएको पावन दिन वैशाख पूर्णिमामा आरम्भ भई भ्रमण वर्ष चैत पूर्णिमामा समापन हुनेछ । विश्व शान्तिको मुहान मानिने लुम्बिनीमा विश्वका ८७ देशका पर्यटकहरु वर्षेनी भ्रमण गर्न आउँछन् । लुम्बिनी विकास कोषको पछिल्लो तथ्याङ्कअनुसार एक वर्षमा सरदर १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटकहरु लुम्बिनी भ्रमणमा आउने गर्छन् ।

 

Facebook Comment

छुटाउनुभयो कि?