‘लुम्बिनी भ्रमण वर्ष-२०७६’ कार्यक्रम सार्वजनिक

पर्यटन बजार२६ बैशाख २०७६, बिहीबार मा प्रकाशित

‘लुम्बिनी भ्रमण वर्ष-२०७६’ कार्यक्रम सार्वजनिक

वैशाख २६, लुम्बिनी । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔंः शान्तिको सन्देश फैलाऔं’ भन्ने मूल नारा का साथ प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष-२०७६’ मनाउने भएको छ। गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्र भागमा राखेर त्यस वरपरका सम्पदाहरूलाई पनि पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष-२०७६’ मनाउने भएको हो।

समग्र लुम्बिनीलाई पर्यटन प्रवर्द्धन गर्ने संस्कृतिको रूपमा विकास गर्न सो भ्रमण वर्ष मनाउने निर्णय गरिएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए।

 सो भ्रमण वर्ष आगामी जेठ ४ गते लुम्बिनीमा एक भव्य कार्यक्रमका बीच शुभारम्भ गरिने पनि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ। प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिएर बाह्य पर्यटनलाई आकर्षित गर्ने सो पर्यटन भ्रमण वर्षको मूल उद्देश्य रहेको पनि स्पष्ट पारे।

कार्यक्रम अनुसार सबै प्रदेशलाई प्रदेश ५ को सरकारले लुम्बिनी भ्रमण वर्षको निम्तो दिनेछ। भ्रमण वर्ष कार्यक्रम अन्तरगत आगामी जेठ ५ गते लुम्बिनीमा मायादेवी प्रसुति उत्सव आयोजना गरिनेछ। त्यसैगरी लुम्बिनी फुड फेष्टिबल, मायादेवी मन्दिर परिसरमा दैनिक द्विप प्रज्वलन, धार्मिक यात्रा र त्रिपिटक वाचन, योग तथा ध्यान शिविरहरू पनि सञ्चालन हुने प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताए।

जीवनमा एक पटक बुद्धको जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका विश्वका डेढ अर्ब बौद्धमार्गीहरूलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्ने लक्ष्य पनि सो कार्यक्रमको रहेको प्रदेश ५ को सरकारले जनाएको छ। मुख्यमन्त्री पोखरेलले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन पनि प्रदेश ५ को लुम्बिनी भ्रमण वर्षले सहयोग पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

Facebook Comment

छुटाउनुभयो कि?