पर्यटन बजार३ कार्तिक २०७७, सोमबार मा प्रकाशित
कात्तिक ३, काठमाडौं। अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव जीवनराज सापकोटाले विश्व प्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘अन्नपूर्ण सर्किट चर्चित पदमार्ग हो, यसको प्रचारप्रसार गरेर विश्व बजारमा पुर्याउन खाँचो थियो ।
लोन्ली प्लानेटले यस क्षेत्रको विशेषतालाई बाहिर ल्याइदिएको छ ।’ यस सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्लापाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले अन्नपूर्णलाई विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्नुले पदायात्रा पर्यटनमा आगामी दिनमा सकारात्मक प्रभाव पार्ने विश्वास आफूले लिएको उहाँको भनाइ छ । यस सर्किटमा अन्नपूर्ण क्षेत्रका दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारसँग रमाउन सकिन्छ । जम्मा २१ दिनको फेरोमा घुम्ने यो चक्रिय मार्ग पछिल्लो समय मोटरेबल बाटोले विस्थापित गदै १४ दिनमा झरेको छ ।
रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) का पोखराका उपाध्यक्ष एवं माउण्ट कैलाश होटलका संचालक नरेश भट्टराईले विश्वमा नेपाललाई चिनाउन यस्ता समाचारले ठुलो भूमिका खेल्ने बताउँदै भन्नुभयो, ‘अझै पनि हामीले हाम्रो पर्यटकीय गन्तव्यलाई विश्व बजारमा पुर्याउन सकेका छैनौं, यो समाचारले नेपालको सुन्दरता र पर्यटकीय गन्तव्यलाई विश्व बजारमा पुर्याउन भूमिका खेल्नेछ ।’
गण्डकी प्रदेशमा सञ्चालनमा रहेका पदमार्गहरु ३९ वटा भन्दा बढी छन्, जसमा अन्नपूर्ण रेन्ज अन्तर्गत २९ वटा पर्दछन् भने धौलागिरी सर्किट ट्रेकिङमा ६ वटा छन् । मनास्लुअन्तर्गत ३ र पर्वतको एक भवरकोट पदमार्ग पर्छ । टानले प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा दिएको तथ्याङ्क अनुसार अन्नपूर्ण सङ्कटग्रस्त अवस्थामा रहेको भनिएकोे छ, जसमा दुई दर्जन बढी स्थान प्रवद्र्धनको पर्खामा छन् । यसैमध्येको अन्नपूर्ण सेरोफेरोमा रोयल ट्रेक ट्रेक सन् १९८० मा वेलायतका राजकुमार चाल्र्सले शुरु गरेका थिए ।
सन् २०५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हार्जोकले अन्नपूर्ण हिमाल आरोहण गरेसँगै नेपालमा पर्यटन विकासको थालनी भएको यस क्षेत्रका जनाकारहरु बताउँछन् । गण्डकी प्रदेशमा धौलागिरी ९८१६७० अन्नपूर्ण ९८०९१० मनास्लु९८१५६० गरी तीनवटा हिमाल ८ हजार मिटर अग्ला छन् । लोन्ली प्लानेट संसारकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी हो । यस साइटले अन्नपूर्ण सर्किटलाई स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषतालाई समावेश गर्दै साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने उल्लेख गरेको छ । साइटको सूचीको पहिलो नम्बरमा जोर्डनको पेट्रासिटीलाई राखिएको छ । दोस्रो स्थानमा इक्वेडरको गालापागोस र तेस्रो स्थानमा अष्ट्रेलियाको उलुरु राष्ट्रिय निकुन्ज परेको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit