वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बीर अ‌ंकित ब्यानर सगरमाथामा फहराइने

पर्यटन बजार१७ बैशाख २०७६, मंगलवार मा प्रकाशित

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बीर अ‌ंकित ब्यानर सगरमाथामा फहराइने

बैशाख १७,ललितपुर । ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशताब्दी (एक सय वर्षको जन्मदिन) वर्षभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने भएको छ। जोशीलाई नगर परिक्रमा, गोसाइँकुण्ड दर्शन गराउनेसँगै नगरभित्र विभिन्न प्रतियोगिता र प्रदर्शनीलगायतका कार्यक्रम गरेर भव्यरुपमा मनाउन लागिएको हाे।

जन्मशताब्दीमा आयोजना हुने कार्यक्रमका बारेमा जानकारी दिन साेमबार पत्रकार सम्मेलनमा नगरप्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले नगरभित्र जाेशीकाे नामको पार्क निर्माण गर्ने र महानगरपालिकाभित्रको कुनै एक सडकको नाम ‘सत्यमोहन जोशी मार्ग’ नामकरण गरिने बताए।

उनले वर्षभरी नै विभिन्न कार्यक्रम गरेर भव्यरुपमा जाेशीको जन्मशताब्दी मनाउन लागिएको जानकारी दिए। उनका अनुसार जोशीलाई नगर परिक्रमासँगै रक्तदान, नगरभित्रका १ सय वर्ष पूरा गरेका नागरिकलाई सम्मान गर्ने कार्यक्रम तय गरेकाे छ। सर्वाेच्च शिखर सगरमाथामा जाेशीकाे तस्बीर अङ्कित ब्यानर फहराइनेछ। जाेशीकै सम्मानमा महानगरपालिकाअन्तर्गतका कार्यालय बैसाख ३० गते बिदा गरिने समेत महर्जनले जानकारी दिए।

उनले भने, ‘उहाँले लेख्नुभएका लेख रचनाको सङ्कलनसँगै उहाँसम्बन्धी सामग्री पाठ्यपुस्तकमा राख्न पहल गरिनेछ।’

महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जोशी देशकै गहना भए पनि यहीँ जन्मे हुर्किएकाले महानगरपालिकाले सम्मान गर्न लागेकाे जिकिर गरिन्। जोशी नेपालमा मात्रै नभएर भारत, चीनलगायतका देशमा चर्चित रहेका ‍उनकाे भनाइ थियाे। सत्यालले भनिन्, ‘अन्तर्राष्ट्रियस्तरसम्मै चर्चा कमाउनुभएका उहाँको सम्मानमा नेपाल सरकारले पनि कार्यक्रम आयोजना गर्नसक्छ।’

महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष श्रीगोपाल महर्जनले जोशीले देश र देशवासीका लागि पुर्‍याएकाे योगदानको सम्मान गर्दै वर्षभर कार्यक्रम गर्न लागिएको बताए। उनले भने, ‘उनले महानगर मात्रै नभएर देशको कला र संस्कृतिको संरक्षणमा पुर्‍याउनुभएको योगदान अतुलनीय छ।’

संस्कृतिविद् जोशी आगामी ३० गतेदेखि ९९ वर्ष पूरा भई १ सय वर्षमा प्रवेश गर्दैछन्। ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले शताब्दी पुरुष जोशीको जन्मशताब्दी मनाउन १ सय ११ सदस्यीय समिति गठन गरेको थियो। समितिमा राष्ट्रियसभाका सांसद, प्रतिनिधिसभाका सांसदलगायत स्थानीय तहका जनप्रतिनिधि, छिमेकी नगरपालिकाका प्रमुखलगायत छन्।

महानगरपालिकाले जोशीको जन्मशताब्दीको अवसरमा वर्षभर नै सांस्कृतिक महोत्सव, खेलकूद प्रतियोगिता, कला प्रदर्शनीलगायतका कार्यक्रम गर्ने भएको छ। महानगरपालिकाले गत वर्ष उनलाई सवारी साधन, मोबाइल फोन र सुरक्षागार्डलगायतको सेवा उपलब्ध गराएको थियो। रासस

Facebook Comment

छुटाउनुभयो कि?