वाह ! दिनभरीमा आफ्नो रुप फेरिरहने रारा ताल

पर्यटन बजार९ फाल्गुन २०७५, बिहीबार मा प्रकाशित

वाह ! दिनभरीमा आफ्नो रुप फेरिरहने रारा ताल

फागुन ९,काठमाडौं । दिनभरीमा आफ्नो रुप फेरिरहने रारा ताल नेपालको कर्णाली  अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढी बाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ ।

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुन्जको मनोरम हरियाली र यहाँ पाइने कस्तुरी , रतुवा  जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ। रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारातालको मनमोहक दृष्यका साथै  सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल  र कान्जिरोवा हिमालको  मनोरम दृश्य देखिन्छ ।

राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए ।ग्रीष्म ऋतुमा रारा ताल निकै सुन्दर छ तर जाडो हुन्छ। सबैभन्दा उत्तम भ्रमण गर्ने  समय सेप्टेम्बर / अक्टोबर र अप्रिलदेखि मईसम्म हुन्छ। डिसेम्बरदेखि मार्च सम्म तापमान पनि जम्ने  प्वाइन्ट भन्दा  तल झर्छ। हिउँद मा भने १ मिटर सम्मको हिउँ पर्ने गरेको छ ।

बर्खा याम मा भने ८० मिलिमिटर सम्म को पानी परेको पर्ने गरेको छ  सामान्यतया तालको सतहको तापमान ७.५ देखि ७.६ डिग्री सेल्सियस सम्म हुने गरेको छ।

Facebook Comment

छुटाउनुभयो कि?