शंखरापुर नगरमा  पर्यटकीय सम्भावना दिनानुदिन बढ्दै

पर्यटन बजार३ बैशाख २०७६, मंगलवार मा प्रकाशित

शंखरापुर नगरमा  पर्यटकीय सम्भावना दिनानुदिन बढ्दै

बैशाख १ काठमाडौँ  । शंखरापुर नगरमा  पर्यटकीय सम्भावना दिनानुदिन बढ्दै गएको छ । शंखरापुर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष बद्री चौलागाईले खेल, पर्यटन र विकासलाई जोडेर स्थानीय युवाको भावनाको साथ लिएर नगरको समृद्धिका वातावण बनाउन थालिएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरलाई  विनाशकारी भूकम्पमा थिलथिलो भएका सम्पदा र भवनको पुनःनिर्माण गर्दै पर्यटनलाई पहिलो प्राथमिकता दिएर नगरवासीलाई समृद्धि दिन आफूहरू लागिपरेको बताए । विसं २०७२ को भूकम्पमा यस नगरपालिकामा १०८ को मृत्यु भएको थियो भने छ हजार घर ध्वस्त भएका थिए ।

शालिनदी, साँखु, मणिचूड, बज्रयोगिनी, इन्द्रायणी सलम्बुदेवी, विश्वम्भरा नारायणजस्ता धार्मिक क्षेत्रका कारण यहाँ वर्षेनी धार्मिक पर्यटक वृद्धि हुँदैछन् । ती क्षेत्रलाई थप विकास गर्दै प्राकृतिक पहाडी वन जङ्गल, मणिचुड, झुले देउराली, जहरसिंह पौवा र थाना भञ्ज्याङलाई पर्यटकीय र धार्मिक क्षेत्रका रूपमा विकसित गर्न शङ्खरापुर नगरपालिकाले बजेट विनियोजन गरेपछि थप पर्यटकीय विकास हुनेमा आफु बिश्वस्त रहेको मेयर श्रेष्ठले बताए ।

 हालसम्म सो क्षेत्रमा होटल व्यवसायका लागि रु एक अर्ब ६५ करोडको लगानी भइसकेको शङ्खरापुर होटेल एशोसिएशनका अध्यक्ष सुमन थापाले जानकारी गराए । हालसम्म ३८ होटल रहेको यस नगरपालिकामा केही पाँच तारे होटल बन्ने तयारीमा छ ।

त्यस्तै देउरालीस्थित शङ्खरापुर प्याराग्लाइडिङ प्रालिका सञ्चालक कुशल थापाले नियमित सञ्चालनका हिसाबले प्रदेश नं– ३ कै पहिलो प्याराग्लाइडिङ आफूले सञ्चालन गरेको र गतवर्ष तीन सय पर्यटकले मनोरञ्जन लिएको बताए ।अझै यस क्षेत्रको बारेमा पर्यटकहरु जानकार भए प्याराग्लाइडिङका साथै अन्य क्षेत्रमा पनि उल्लेख्य विकास हुने उनले बताए  ।

 

Facebook Comment

छुटाउनुभयो कि?