पर्यटन बजार२७ आश्विन २०७७, मंगलवार मा प्रकाशित
२७ असोज, काठमाडौँं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले बताएका छन् ।
उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ ।
सगरमाथाको उचाइ मापनको काम एक बर्षअघि नै सकिएको हो । ‘उचाइ घोषणाका लागि हामी तयार छौ, हाम्रो तर्फबाट घोषणाका लागि अब कुनै प्राविधिक तयारीको काम बाँकी छैन’, नापी विभागका सूचना अधिकारी दामोदर ढकालले भने ।
नेपालले उचाइ मापन गरिरहेकै समयमा चीनसँग उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएपछि नापी विभागले त्यसलाई पर्खेको हो । गत बर्षको अक्टोबार महिनामा चिनियाँ राष्ट्र«पति सि जिनफिङको भ्रमणको समयमा संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो ।
सो भ्रमण पश्चात जारी गरिएको संयुक्त विज्ञप्तिको बुँदा नं ८ मा भनिएको छ, ‘सगरमाथालाई दुई देशबीचको मित्रताको अनन्त प्रतीक मान्दै दुवै देशले विभिन्न क्षेत्रमा सहकार्य प्रवद्र्धन गर्नेछन् जस्तो जलवायु परिवर्तनको विषय र वातारण प्रवद्र्धनमा सहकार्य गर्ने छन् । दुवै मुलुकले सगरमाथाका उचाई संयुक्त रुपमा घोषणा गर्नेछन् र बैज्ञानिक अध्ययन गर्नेछन् ।’
सो भ्रमणपछि चिनियाँ अधिकारीहरुले सन् २०२० को मे महिनामा चीनतर्फबाट उचाइ मापन गरेका थिए ।
पछिल्लो समयमा नेपाल र चीनबीचमा उचाइ घोषणाका सम्बन्धमा कुराकानी भइरहे पनि सरकारी अधिकारीहरुले यस विषयमा केही पनि बताएका छैनन् ।
सगरमाथाको उचाइ ८,८४८ मिटर हो । तर, २०७२ सालको भूकम्प र अन्य कारणले उचाइमा केही तलमाथि भएको र लामो समयदेखि मापन नभएका कारण नेपालले आफैंले उचाइ मापनको काम अगाडि बढाएको हो ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit