सगरमाथा ट्राफिक जाम , आरोहणका क्रममा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

पर्यटन बजार१२ जेष्ठ २०७६, आईतवार मा प्रकाशित

सगरमाथा ट्राफिक जाम , आरोहणका क्रममा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

जेठ १२, काठमाडौँ । सगरमाथा आरोहणका क्रममा शनिबार बेलायती नागरिक रोबिन ह्यानेसको मृत्यु भएको छ। उनको मृत्युसँगै यो सिजनमा आरोहणका क्रममा मृत्यु हुने आरोहीको संख्या दश पुगेको छ।

चुचुरोमा पुगेर फर्कने क्रममा ४४ वर्षीय ह्यानेस आठ हजार ७०० मिटरमा आइपुग्दा बेहोस भएका थिए। १५० मिटर तल खसेका उनलाई उद्धार गर्न कोसिस गरिएको थियो। तर उद्दार पहिले नै उनको मृत्यु भएको काठमाडौँस्थित एभरेस्ट परिवार ट्रेकले जनाएको छ।

शुक्रबार मात्रै आयरल्याण्डका केभिन ह्याइनेस र नेपाली गाइड धुब्र विष्टको मृत्यु भएको थियो। यसपटक ३०० भन्दा बढी आरोहीहरूले सगरमाथा आरोहणको लागि स्वीकृति लिएको बताइएको छ।

चीनले यो वर्ष सरसफाइ गर्ने भन्दै सगरमाथा आरोहण बन्द गरिदिएपछि नेपालबाट आरोहण गर्नेको सख्या बढेको हो। एकातिर संख्या बढेको र अर्कोतिर मौसम पनि प्रतिकुल भएका कारण योपटक एउटै सिजनमा धेरै ज्यान गएको अधिकारीहरुले बताएका छन्।

सगरमाथाको चुचुरोमा पुग्ने होडमा सो क्षेत्रमा वातावरण प्रदूषण बढेको भन्दै त्यसको नियन्त्रणका लागि आरोहणमा कडाइ गर्नुपर्ने माग सरोकारवालाहरूले गर्दै आएका छन्। मौसमी अवस्था र आरोहण क्षमता अनुमान नगरी जथाभावी आरोहणको अनुमति दिने सरकारी व्यवस्थाका कारण पनि यस्तो भएको कतिपयको आरोप रहेको छ।

Facebook Comment

छुटाउनुभयो कि?