पर्यटन बजार१६ फाल्गुन २०७५, बिहीबार मा प्रकाशित
फागुन १६, काठमाडौं । पद सम्हालेकै दिनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पहिलो निर्णय थियो, ‘सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाएर १५ लाख पर्यटक भित्र्याउने ।’ पछि उनले १५ लाखको लक्ष्यमा चित्त बुझाएनन्, यसलाई संशोधन गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य र रणनीति सार्वजनिक गरे ।
सन् २०१८को ११ महिनामै १० लाख पर्यटक भित्रिएपछि मन्त्री अधिकारीले उत्सवकै रुपमा ‘१० लाखको केक’ काटे । त्यसैबेला उनले भनेका थिए, ‘२०२० मा जसरी पनि २० लाख पर्यटक भित्र्याइ छाडिनेछ ।’ आगामी २ वर्षमा नै २० लाख पर्यटक भित्र्याएर अर्को ‘२० लाखको केक’ काट्ने अधिकारीको सपना अधुरै रह्यो । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी मन्त्री अधिकारीको यो सपनालाई पूरा गर्न चुनौती थपिएको बताउँछन् । तर, बोर्डले मिसन नै बनाएर यो लक्ष्यलाई पूरा गरी छाड्ने उनले बताए ।
‘मन्त्रीज्युले २० लाख पर्यटक भित्र्याउन निकै सानो-सानो व्वस्थापनको पाटोमा आफैं चासो दिनुहन्थ्यो, प्रगतिबारे अपडेट मागेको माग्यै हुनुहुन्थ्यो,’ जोशीले भने,’अब उहाँको त्यो सपना पूरा गर्न सक्यौं भने मात्रै हामीले उहाँप्रति श्रद्धाञ्जली हुनेछ ।’
सन् २०१० र २०११ मा ७३ हजार विदेशी बढी विदेशी पर्यटक भित्रिएका थिए । अबको दुई वर्षभित्र यो संख्या झण्डै दोब्बर पार्न हाल पर्यटन बोर्डलाई असल मार्गदर्शक र अभिभावकको अभाव खडि्कएको सीईओ जोशीले बताए । जोशीका अनुसार मन्त्री अधिकारीले लुम्बिनी अन्तरर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विभिन्न बुद्धिष्ट राष्ट्रहरुबाट धार्मिक पर्यटकको आगमनमा ठूलो वृद्धि हुने बताउँदै आएका थिए ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम पनि चैतबाटै सुरु गरेर छिट्टै सक्ने र पर्यटक आगमन बढाउने ‘ग्राउण्ड’ तयार गर्न उनको योजना थियो ।
पर्यटन वर्ष २०२० लाई लक्षित गरी विदेशमा प्रवर्द्धनात्मक कार्यक्रम र विज्ञापनहरु गर्न पनि उनले बोर्डलाई लगातार झकझकाइरहेका थिए । ‘प्रशंसाका लागि बोलेको होइन, मैले १८ वर्षको पर्यटन बोर्डको इतिहासमा यस्तो प्रतिवद्ध पर्यटनमन्त्री कहिल्यै भेटेको थिइन्,’ जोशीले भने,’भेट्नासाथै उहाँ अरु कुरा गर्नु हुँदैन थियो, सिधै कामको कुरा, समृद्धि र लक्ष्य प्राप्तिको मात्रै कुरा हुन्थ्यो ।’
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit