सपनाको यात्रा, शैलुङ डाँडा !

पर्यटन बजार१ मंसिर २०७६, आईतवार मा प्रकाशित

सपनाको यात्रा, शैलुङ डाँडा !

बिबेक श्रेष्ठ मंसिर १ ,शैलुङ । लगभग ३/४ बर्ष अगाडी  मैले एउटा सपना देखे।  सपनामा एउटा ठुलो चौर थियो  र त्यहाँ धेरै भेंडा बाख्राहरु चरिरहेका थिए। त्यो चौर एउटा डांडाको टुप्पोमा थियो ,जसलाई कुहिरोले पूर्ण रुपमा ढाकेको थियो। एक्कासि म सपनाबाट  बिउंझिए  र सोच्न थाले यति सुन्दर ठाउँ कहाँ होला ? फेरी सुत्न कोसिस गरे , फेरी त्यहि सपना देख्ने प्रयास गरे तर त्यो रात अझ त्यस स्थानलाई देख्ने इच्छा अधुरो भयो मेरो। सपनामा त्यति सुन्दर स्थान नियाल्ने केहि मौका मिले पनि पुरै देख्न सकिन , आफैसंग गुनासो भयो मलाई , किन यति चाडै  बिउझिए  भनेर !

त्यो सपना देखेको २/३ दिन पछि एउटा पत्रिकामा मैले एउटा फोटो देखे , त्यो तस्बिर मेरो सपनासंग मिल्दोजुल्दो थियो , त्यसैले हतार गरेर फोटोको मुनि नाम हेरे अनि थाहा भयो , मेरो सपनाको सुन्दर ठाउँ दोलखाको शैलुङ् रहेछ। धेरै पटक मेरो सपनालाई  पुरा गर्न  मैले प्रयास गरें ,तर मेरा सबै साथीहरु अलि चलेको ठाउँ  जान चाहन्थ्ये। शैलुङ्ग जाने इच्छा हुँदाहुँदै पनि म पुग्न सकिन तर नेपालका नाम चलेका पर्यटकीय स्थलमा म पुगिसकेको थिएँ।

अब भने मैले एक्लै भए पनि जाने सोच बनाए , दशैंको ठिक चार दिन अघि म निस्किए आफ्नो सपना पुरा गर्न ! देशका सबै मानिसहरुलाई  दशैंले छोएको थियो , लाखौँ  मानिसहरु  काठमाडौँबाट  दशैं मनाउन  आफ्नो जन्मस्थान फर्किदै थिए तर म दशैंलाई छाडेर आफ्नो परिवारलाई  चाडपर्वमा छाडेर हिंडेको थिए, आफ्नो सपनाको गाउँ  खोज्न !

घरबाट  दिउसो १ बजे आफ्नो एकल साथि बाइकलाई साहारा बनाएर म निस्किए , साँगा ,धुलिखेल , भकुण्डेबेशीमा लामो समय जाममा फसे , करिब ५ बजिसकेको थियो  तर एक मिनेट पनि ढिलाई नगरी म अघि बढिरहे , जहाँ रात पर्छ त्यहीं बस्ने वातावरण मिल्ने बिश्वासका साथ मेरो बाइकको रफ्तार अघि बढ्यो।

काठमाडौँको कोलाहल , धुँवाधुलो र ब्यस्त सडक बाट टाढा मन्थली सम्मको यात्रा तय गर्दा साँझको करिब ७ बजिसकेको थियो।  म एउटा अफलाइन म्यापको भरमा हिंडेको थियो , मन्थलीमा धेरै  जनालाई शैलुङ्ग जाने बाटो सोंधे तर उत्तर सबैको यहाँबाट त पुगिंदैन भन्ने आयो ,म चिन्तित हुँदै त्यस रात मन्थली मै बसें।

भोलिपल्ट एकजना दाईले मलाई बाटो देखाई दिनुभयो। सजिलै र छोटो समयमा शैलुङ् पुग्न मैले मुडे, खाडी चौर हुँदै जानु पर्ने थियो तर त्यहाँको बाटो खराब भएका कारण म मन्थली तर्फ हान्निएको थिएँ ! धन्न कसैलाई त् थाहा थियो शैलुङ्ग जाने बाटो , त्यहि दाइले भनेको बाटो पछ्याउदै र बाटोमा खान केहि खाने कुराको जोहो गरेर म लागे सपनाको गाउँतर्फ ! मन्थलीबाट  ३० किलोमिटर पर रहेको तामाकोशीमा गएर मेरो बाइक रोकियो , केहीबेरको बिश्राम पश्चात , त्यहाँको स्थानीयसंग बाटो सोध्दै म अघि बढें। तामाकोशीबाट  भैंसे  भन्ने स्थानसम्म त बाटो ठिकठाक नै थियो तर भैंसेपछि भने खराब बाटो सुरु भयो ! एक ठाउँमा त बाइक नै हिलोमा फंस्यो ,अब के गर्ने आफुले बाइक निकाल्न धेरै कोशिस गर्दा पनि सकिन , १५ -२० मिनेट सम्म यत्तिकै बसे , त्यत्तिकैमा  एउटा गाडी आयो र त्यहि गाडीको ड्राइभर दाइले बाइक निकाल्न मलाई सहयोग गर्नुभयो। बाटो बिग्रिएको भएर होला त्यो बाटोमा एकदमै कम गाडीहरु कुद्थ्ये  त्यसबाहेक बेलाबेलामा ट्रक देख्न पाइन्थ्यो त्यति देख्दा पनि मनमा केहि राहत पलाउदथ्यो। बाटो ठुलो बनाउने भनेर बाटो खनेको कुरा ट्रक चालकहरुबाट  थाहा पाए मैले !

भैंसेबाटै शैलुङ्ग देखिन्छ भन्ने सुनेको थिएँ तर हुस्सु, कुहिरोले गर्दा शैलुंग देखिएन। यात्रा अघि बढे संगै बाटोमा थुप्रै साना साना चौरहरु थिए ति चौरलाई  नियाल्दै , खराब बाटोमा बाइक फस्ला भन्ने चिन्ता गर्दै हिँड्दै मात्र के थिए जसको डर थियो त्यहि भयो।  पुन: बाइक हिलोमा फस्यो , केहि समय पर्खिए।  २ जना दाइहरु आउंदै हुनुहुन्थ्यो  उहाँहरुले नै मलाई बाइक निकाल्न सहयोग गर्नु भयो र बाटो खराब  भएकोले एक्लै जान गाह्रो हुने भन्दै आफुहरुसंगै हिड्न भन्नु भयो ।

मनगाउँवासीको मनै राम्रो

बाटो भरि बाइक तान्दै , उचाल्दै  हामि मनगाउँ भन्ने ठाउँमा पुग्यौं। नाम नै मनगाउँ , नाम अनुसारको त्यहाँको मानिसहरुको मन पनि सारै राम्रो रहेछ। मलाई यहाँ सम्म आउन सहयोग गर्नुहुने २ मध्येको एक दाइ गोफ्ले दाइले यता होटेल नभएकोले आफ्नै घरमा बस्न आग्रह गर्नुभयो।

ढुङ्गा  र माटोले बनेको ३ तले घर , जहाँ दाइको सम्पूर्ण परिवार बस्नुहुन्थ्यो , दशैँ  भएकोले दाइको दिदि पनि आउनुभएको रहेछ। गोफ्ले दाइको परिवारमा सबैजना मिजासिलो र दयालु हुनुहुदो रहेछ , नयाँ  ठाउँमा गएको अनुभव नै भएन। सबैले मलाई सर भन्नुहुन्थ्यो ,म चाहिं मलाई भाइ भन्नु सर नभन्नु भन्थ्ये।

खेतीपातीमा निर्भर

गएको दिन गोफ्ले दाइले मलाई गाउँ  घुमाइ दिनुभयो। गाउँमा सबैको घरमा भेंडा ,बाख्रा र कुखुराहरु थिए , बुढाबुढीहरु घाँसपात गर्ने २०-३० बर्षका युवाहरुको भने खास्सै काम नहुने।  पुरा गाउँनै खेतीपातीमा भर परेको मैले पाएँ। त्यहाँ काउली ,आलु, बन्दा , गाँजर , मुला , सागसब्जी फल्दो रहेछ , त्यहाँ फ़लाइएका सब्जीहरुलाई  ट्रक मार्फत काठमाडौँ ल्याएर बेचिँदो  रहेछ।  एक लटमा ३ देखि ४ लाख सम्मको सब्जी  ढुवानी हुँदो रहेछ तर बाटोमा फसेर जान सकेन भने बिग्रिएर घाटा नै हुने अवस्था रहेछ। म गएकै दिन एउटा ट्रक बाटोमा भाँसिएको थियो , त्यो रातभर लगाएर सबै गाउले मिलेर ट्रक निकालिएको थियो।

शैलुङमा चौंरीको दूधबाट बन्ने बिभिन्न प्रकारका परिकारहरू पनि प्रख्यात छन् । यहाँका बासिन्दाहरू प्राय सबैले चौंरीपालन गर्ने गर्छन् र उत्पादित चौंरीको दूधबाट उनीहरू मिठा छुर्पी, चिज बनाएर बिभिन्न ठाउँमा लगेर बिक्रिबितरण गर्ने गर्दछन।

सोझा र मिजासिला गाउँवासी

गाउँका सबैजना सोझा र मिजासिला , सबैजना आएर मसंग बोल्नु भयो , मेरो घरमा जाउँ ,के खानुहुन्छ भनेर सोध्नुभयो  ! उसो त् शहरमा बिना काम कोहि कसै संग बोल्दैन , खानाको बारेमा सोध्नु  त परको कुरा ,तर गाउँको यो शैलीले मनै खुशी भएको थियो। यस्तो लागिरहेको थियो कि म पहिले देखि नै त्यो गाउँको बासिन्दा हुँ।

अनुसन्धान र उत्खनन

शैलुङका १०० वटा थुम्कामा बिभिन्न किसिमका खानि हुनसक्ने कुरापनि स्थानीयबासीहरूमा जनविश्वास रहिआएको छ। तर अनुसन्धान र उत्खननको आर्थिक र प्रबिधिक अभाबले त्यो सम्भावना एउटा सपनामा मात्र सिमित रहेकोछ । यहाँ यसको अलावा बहुमुल्य जंगली जडिबुटी पाँचऔंले, चिराइतो, मजिटो, च्यातु लगायत अन्य धेरै जडिबुटीहरू पनि प्रशस्तै मात्रामा पाइन्छ।

गोफ्ले दाईसंग शैलुङ् यात्रा

मनगाउँ बाट  भने शैलुङ् हिंडेर जानु पर्थ्यो ,  मलाई नयाँ मान्छे भनेर एक्लै जान दिनु भएन र गोफ्ले दाइले नै मलाई शैलुंग घुमाउन लग्नु भयो। शैलुङ् घुमेर त्यहि दिन फर्किने मेरो सोच थियो। मैले माछा मासु खान्न भनेर आमाले गोफ्ले दाइलाई जङ्गलबाट च्याउ टिपेर ल्याउन भन्नुभयो। शैलुंग डाँडा पुग्न करिब १ देखि डेढ घण्टा लाग्दो रहेछ। च्याउ टिप्दै हिड्दा र मलाई हिड्ने खासै बानि नपरेकोले डेढ घण्टाको बाटो ३ घण्टा लाग्यो। जंगलमा धेरै च्याउहरु थिए तर कुन च्याउ खान मिल्छ कुन च्याउ बिषालु हुन्छ मैले छुट्याउनै सकिन।

सपनाको गाउँ शैलुङ्ग

 धेरै नजिक थियो मेरो सपना को गाउँ , त्यो ठुलो चौर !

जति जति नजिक पुग्थ्ये त्यति त्यति सिमलको भुवा जसरी उडिरहेको थियो मेरो मन। । अन्तत:  हामी पुग्यौं  मेरो सपनाको संसार , गाउँ  वा भनौ चौर अझै भन्दा शैलुंग डांडा !

एउटा ठुलो डांडामा साना साना १ सय ८ ओटा डांडाहरु रहेछन। यहाँको किम्बदन्ती रहेछ , त्यो सबै डांडामा त्यहाँका लामाहरु एक एक जना बसेर गनेका थिए रे।  सो समय धेरै लामाहरु बिरामी समेत भएका थिए रे !अचम्मको कुरा त के थियो भने ति १०८ डांडामा कहीं एउटा पनि रुख थिएन। त्यस डाँडाबाट  गौरीशंकर लगायत  धेरै हिमालहरु देखिन्थ्ये। त्यहाँको एक ढुङ्गामा भिमसेन भगवानको तरबार आफै उत्पति भएको समेत दाइले मलाई जानकारी गराउनु भयो।

भ्यु टावर / स्तुपा

शैलुङ्ग डाँडाको सबैभन्दा अग्लो डाँडामा एउटा भ्यु टावर बनाइएको रहेछ र त्यहीं स्तुपा बनाउदा बनाउदै छाडिएको रहेछ। त्यो स्तुप रामेछाप र दोलखाको सेन्टर पोइन्ट हो रे तर धेरै भाग दोलखामा पर्ने रहेछ। त्यो स्तुप बनाउँदा धेरै मान्छेहरु बिरामी भइरहने कारण भत्काउने कुरा रहेछ।

बाघ ढुङ्गा 

स्तुपको केहि तल बाघ ढुङ्गा  रहेछ , त्यस ढुंगालाई  पर बाट  हेर्दा बसेको बाघ  जस्तो देखिने भएकोले उक्त ढुङ्गा को नाम बाघ ढुंगा रहन गएको रहेछ। डाँडाको फेदमा अर्थात भ्यु टावर र स्तुपको बिपरित स्थानमा एउटा २० -३० फुट अग्लो त्रिशुल  रहेछ। सो स्थानमा पहिले नै भगवान शिबको मुर्ति आफै उत्पति भएको भएर त्यहाँ स्थानीयले त्रिशुल निर्माण गरेका रहेछन। शैलुङ्गमा भदौ महिनामा ठुलो धार्मिक मेला लाग्छ जहाँ टाढा टाढाबाट  मानिसहरु आउने गर्दछन।

गुफा र मन्दिर

शैलुङ्ग  डाँडा  मेरो सपनामा जति सुन्दर थियो बिपनामा झनै मनमोहक थियो। आफ्नो सपनालाइ बिपनामा भेटेर फर्किदा हामी अर्को बाटो हुँदै फर्कियौं।  जहाँ बाटो भरि नै गुफा र मन्दिरहरुले ध्यान खिचिरहेको थियो। बाटोमा देखिने दृश्यहरुलाई क्यामरामा र याद मा कैद गर्दै हामी मनगाउ अर्थात् गोफ्ले दाइ को घर आइपुग्यौं।

मलाई त्यो दिन गोफ्ले दाइ तथा बुवाआमाले काठमाडौँ फर्किन दिनु भएन। भोलि (दशैं को २ दिन अघि अर्थात् अष्टमी )घरमा  धेरै रमाइलो हुन्छ , भोज हुन्छ , रातभर नाचगान हुन्छ ,यहाँको संस्कृतिलाइ पनि कैद गरेर जाउ भनेर दाइले मलाई रोक्नु भयो। बिहान भयो ,सबैको घरमा अष्टमी लागेको थियो , कोहि खसी काट्न पानी  तताउँदै त कोहि राँगा काट्न खुकुरी उज्याउँदै थिए। त्यस दिन मैले त्यहाँका बच्चाहरुसंग खेलेर र गाउँ घुमेर बिताएँ।

दशैं, भोज र नाचगाना

 साँझमा सबैका घरमा पाहुना आउन थाले , त्यसदिन सबैले आफन्तलाई  बोलाएर भोज अर्थात् खाना खुवाउने चलन रहेछ त्यहाँ ! , बिबिध परिकार  , घर भरि पाहुना , खाना खानु  अघि मान्यजनलाइ ढोगेर  खान खाने आदेश आएपछि मात्र खाना खाने परम्परा देखेर म छक्क परे।यहि भोजको लागि टाढा टाढा  भएका आफन्त  पनि त्यहाँ पुग्ने पर्ने रहेछ , सबै मिलिजुली बसेको , खाएको देख्दा मन नै खुशी भयो।  खानपिन पश्चात गाना बजानामा सबै जना आफ्ना सबै पिर भुलेर चाडपर्वलाइ  स्वागत गरिरहेका थिए। यो सबै नयाँ  थियो मेरो लागि र त्यो नयाँ पनमा रमाई रहेको थियो मन।

अतिथि देबो भव: 

बिहान भयो , मेरो काठमाडौँ फर्किने समय पनि भयो तर कता कता केहि छाडेर जाँदैछु भन्ने आभाष भइरहेको थियो। गोफ्ले दाइले मलाई बिग्रेको बाटो सम्म पुर्याउन आउनु भयो। त्यहाँ खाको बसेको मैले पैसा दिन चाहें  तर दाइ मसंग रिसाउनु भयो। अलि ओर आएर दाइको छोरीलाई एउटा खेलौना किनेर म काठमाडौँ को लागि आएँ।

शैलुङ्गबाट  फर्किएको एक महिना बितिसकेको छ , अहिले पनि समय समयमा म गोफ्ले दाइ र परिवार संग कुरा भइ रहन्छ। पिसाब फेरेको सम्म पैसा लिने जमानामा मलाई आफ्नै परिवारको सदस्य जस्तै गरेर जुन प्रकारको व्यवहार गर्नुभयो म त्यसबाट  खुबै प्रभावित भए।  अतिथि देबो भव:  को परम्परा अझै पनि कहीं ठाउँमा जिउंदै  रहेछ।

कुन मौसममा घुम्ने शैलुङ् ?

 शैलुंग घुम्ने उपयुक्त महिना चैत , बैशाख  हो। त्यो समयमा डाँडाहरु पुरै खुलेका हुन्छन र लालीगुराँसको बिबिध रंगले सिंगारिएका हुन्छन। साथै थुम्कामा हिउँद महिनामा सेताम्मे हिउँ पर्ने भएकोले यसबेला हिउँप्रेमीहरूको धेरै भीड लाग्ने गर्दछ। त्यतिबेला हिउँमा खेल्नको लागि धेरै ठाऊँबाट पर्यटकहरू आई हिउँमा खेल्ने र सेताम्मे शैलुङको प्राकृतिक स्वाद लिने गर्दछ्न। अहिले शैलुङ्घुम्न उपयुक्त समय भने होइन तर यात्रीलाई  न सिजन ले छुन्छ न अफसिजन ले !

मेरो विचारमा शैलुङ

मेरो विचारमा शैलुङ एकदमै अन्डर रेटेड  ठाउँ हो। पर्यटनका सम्भावना  हुँदा हुँदै पनि सरोकारवालाहरुको ध्यान नपुग्दा मौन छ शैलुङ  डाँडा ! चिच्याउन चाहन्छ , बोल्न चाहन्छ ,रम्न चाहन्छ तर शैलुङ्गले एकान्तमा रुन बाहेक केहि गर्न सकेको छैन।

शैलुङ डाँडा एउटा दोलखा जिल्लाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रूपमा परिचित रहिआएको छ। यो ठाउ समुन्द्री सतहबाट करीब ३४०० मिटर अग्लो स्थानमा दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित रहेको छ। शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ , जहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बारबर्षे मेला जस्ता चाडमा धेरै दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ। साथै शैलुङ डाँडा यस अर्थमा पनि प्रख्यात छ की, जुन डाँडा १०० वटा अग्ला र होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरूले जोडिएर वनेको छ।

शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो । जसको अर्थ हुन्छ तामाङ भाषामा “शै” भनेको सय र “लुङ” भनेको थुम्का भन्ने बुझिन्छ।

यहाँ शैलुङ्गेश्वर महादेवको मन्दिर, १२ वर्षमा एकपटक खुल्ने गदौरी जस्ता धार्मिक रूपले चर्चित गुफा पनि अवस्थित छ। शैलुङ डाँडाबाट मनमोहक गौरीशंकर हिमाल , सगरमाथा, माछापुच्छ्रे हिमाल, गणेश हिमाल लगायत काठमाडौं उपत्यका र तराईका केही भागहरू समेत देखिने भएकोले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बन्न सक्छ ।

 शैलुङलाइ विकास गर्न सकियो भने भ्रमण बर्ष २०२० मा पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ !

Facebook Comment

छुटाउनुभयो कि?