पर्यटन बजार९ फाल्गुन २०७५, बिहीबार मा प्रकाशित
फागुन ९, काठमाडौं । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्म निर्माण गर्ने ८.५ किलोमिटर दूरीको केवलकार सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गरेको स्पष्ट पारेको छ । बिहीवार रिपोर्टर्स क्लब नेपालमा लिमिटेडले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त केवलकार निर्माण गर्नेबारे जानकारी गराएको हो । कुल ११ अर्ब ३८ करोड ५० लाखको लागतमा निर्माण हुने उक्त केवलकार नेपालकै सबैभन्दा ठुलो र लामो हुनेपनि कम्पनीको दाबी छ । उक्त परियोजनाले पञ्चासे क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित् गर्ने पनि कम्पनीको दाबी छ ।
पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडकाअनुसार मोनोकेबल डिटाचेवल प्यासेन्जर केबलकार निर्माणका लागि सरकारसँग करिब ३ हजार रोपनी जग्गा लिजमा लिने सम्झौता भैसकेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । शर्माले उक्त केवलकार निजी, सामूदायिक र जनसहभागितामा निर्माण हुने जनाए । उनले भने,‘अहिले हामीलाई सबै क्षेत्रबाट सकारात्मक सहयोग र हौसला प्रदान भैरहेको छ । पञ्चासे केवलकार निजी–साझेदारी सहकार्यमा निर्माण हुने नेपालकै राष्ट्रिय गौरवको परियोजना बन्न सक्दछ भन्ने हाम्रो गहिरो विश्वास छ । हाम्रै कम्पनीको लगानीमा तनहुँको बन्दीपुरमा निर्माण सम्पन्न हुन लागेको केवलकार त्यसको लागि बलियो प्रमण हुने हामीले विश्वास लिएका छौं ।’
उनले पोखरा क्षेत्रलाई पर्यटनको केन्द्रविन्दु बनाउँदै वृहत पर्यटकीय गन्तव्यको विस्तार गरि पर्यटकहरुको बसाई लम्बाउने र स्थानीय आयश्रोत बढाउने उद्देश्यका साथ आफूहरुले उक्त केवलकारको परिकल्पना गरेको स्पष्ट पारे ।
शर्माले थपे,‘पर्यटन क्षेत्रलाई व्यवसायिकरण गर्ने ‘कर्पोरेट जोइन्ट भेञ्चर कल्चर’को प्रवद्र्धन गरेर बृहत पूँजीको निर्माण गर्ने र पूँजीको प्रयोगबाट बृहत्तर परियोजना निर्माण सम्पन्न गर्ने तथा सामूहिक आयआर्जन गर्दै यस क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याउने यस केवलकारको उद्देश्य रहेको छ ।’त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई ७ प्रतिशत, कास्की, पर्वत, स्याङ्जामा रहेका सहकारीलाई ६ प्रतिशत, राष्ट्रसेवक कर्मचारीका लागि ५ प्रतिशत, पत्रकारका लागि ३ प्रतिशत, नेपाली सेनाका लागि २ प्रतिशत, नेपाल प्रहरीका लागि २ प्रतिशत, शिक्षकका लागि २ प्रतिशत र श्रमिक र अन्यका लागि २ प्रतिशत सेयर छुट्याइएको शर्माले जानकारी दिए ।
कार्यक्रममा लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि शर्मा तिमिल्सिनाले यो परियोजना निर्माण भएसँगै उद्यमशिलतामा परिवर्तन आउने विश्वास दिलाए । उनले भने,‘देशको विकास गर्नको लागि हामी तीनै निजी, सरकारी र संस्थागत सहकारी मिलेर अघि बढ्नुपर्छ ।’ उनले आफूहरुले यो आयोजनामा स्थानीयहरुलाई प्राथमिकता दिएको सुनाए । तिमिल्सिनाले भने,‘हामीले स्थानीहरुलाई ध्यानमा राखेर जसको मासिक आम्दानी ५० हजारभन्दा मुनि रहेको छ, उनीहरुलाई आयोजनामै रोजगारीको व्यवस्था गर्छौं । र, प्रत्येक घरधुरीलाई एक लाखसम्मको सेयरको व्यवस्था पनि गरेका छौं ।’
यो परियोजनाको लागि लाग्ने लागतको लागि आफूहरुले बैंकसँग ६० प्रतिशत ऋण लिने र बाँकी ४० प्रतिशत जनसहभागितामा जुटाउने पनि आयोजकले जनाएको छ । आयोजकका अनुसार उक्त परियोजना अष्ट्रेलियन प्रविधिमा निर्माण गर्न लागिएको छ । आयोजकले जनाएअनुसार यो केवलकार नेपालमै पहिलो ट्रान्जिटयुक्त हुनेछ । उक्त परियोजनाले दश हजार नेपालीलाई रोजगारी प्रदान गर्ने पनि निर्माण कम्पनीको दाबी छ । लिमिटेडले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यो परियोजना अब सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गर्दैछ ।’
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit