पर्यटन बजार२४ फाल्गुन २०७५, शुक्रबार मा प्रकाशित
फागुन २४, काठमाडौं । विश्वकै ठूलो पर्यटन मेला आईटिवी बर्लिन जर्मनीमा सय दिगो पर्यटन गन्तब्यमध्ये एसिया प्यासेफिक क्षेत्रबाट दिगो गन्तब्यका रूपमा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत भएको छ। मेलाकै अवसरमा २०७५ फागुन २२ मा आयोजित एक भब्य समारोहबीच बर्दियाले उत्तरदायी पर्यटनमा गरेको प्रयत्नहरु र यसको संरक्षणमा भएको विशिष्टतालाई कदर गर्दै आईटिवी मेला आयोजक र ग्रिन डेस्टिनेशन संस्थाले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन्।
यस पुरस्कार सँगै नेपाल ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको छ। ‘दीगो पर्यटन विकासमा काम गर्ने संस्थाहरुको सर्वोच्च संस्थाका रुपमा रहेको यस नेटवर्कमा समावेश हुन पाउनु आफैंमा गौरवको कुरा भएको नेपाल पर्यटन बोर्डले बताएको छ। नेपालले विशेषत दीगो पर्यटन विकासका क्षेत्रमा गरेको पहल, बर्दिया लगागतका क्षेत्रमा बाघको संख्यामा देखिएको दोहोरो बृद्धिका कारणहरु नै बर्दियालाई यो सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डक बरिष्ट अधिकृत सुधन सुवेदीले जानकारी दिए।
डा. अल्बर्ट सल्मान प्रमुख रहेको यस सय दीगो पर्यटन गन्तब्यहरुको छनोट प्रक्रियामा विशेषत दीगो विकासमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जको यही विशेषताहरुको जानकारी विश्यब्यापी गराउने नेपाल पर्यटन बोर्डको अभियानलाई अगुवाइ गर्ने प्रमुख कार्यकारी दीपकराज जोशीले बर्दियाका लागि यस सम्मानको ग्रहण गरेका थिए।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit