सरकारले काठमाडौंमै बनाउन सकेन आइसोलेसन, संक्रमितलाई व्यवस्थापन गर्न हम्मेहम्मे

पर्यटन बजार४ भाद्र २०७७, बिहीबार मा प्रकाशित

सरकारले काठमाडौंमै बनाउन सकेन आइसोलेसन,  संक्रमितलाई व्यवस्थापन गर्न हम्मेहम्मे

भदौ ४,काठमाडौँ। बेलैमा पूर्वतयारी गर्न नसक्दा सरकारलाई अहिले उपत्यकामा कोरोना संक्रमितको व्यवस्थापन गर्न सकस परेको छ।

दैनिक डेढ सय बढी थपिने संक्रमितलाई व्यवस्थापन गर्न सरकारलाई हम्मेहम्मे भएको छ।

कतिपय संक्रमित आफैं अस्पताल पुग्दा पनि बेड अभावका कारण अस्पतालले फर्काइदिने गरेका छन्। अधिकांश कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरू भरिएका छन्। थप संक्रमित भर्ना गर्नसक्ने अस्पतालहरूमा ठाउँ छैनन्।

स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको अत्यावधिक विवरण अनुसार उपत्यकामा २ हजार १ सय ५१ जना संक्रिय संक्रमित छन्। जसमा काठमाडौंमा १ हजार ७ सय ८९, ललितपुरमा ३०७ र भक्तपुरमा ५७ जना छन्।

दुई हजार बढी सक्रिय संक्रमित हुँदा झन्डै ९ सय संक्रमित अस्पताल र आइसोलेसन सेन्टरमा छन्। बाँकी संक्रमितहरू होम आइसोलेसनमा छन्।

बुधबारमात्र उपत्यकामा १ सय ५९ जना संक्रमित देखिएका थिए।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अुनसार अहिले उपत्यकामा एक हजार २ सय व्यक्तिलाई राख्न सक्ने आइसोलेसन छन्। पछिल्लो समय जुन रफ्तारमा संक्रमित बढिरहेका छन् अहिलेको आइसोलेसन क्षमताले नधान्ने पक्का छ।

प्रवक्ता गौतमले १२ सय आइसोलेसन क्षमतालाई विस्तार गरेर ६ हजार पुर्‍याउने गरी सरकारले तयारी थालेको बताए।

‘दैनिक २ सय संक्रमित थपिए र १४ दिन राख्नपर्‍यो भने २८ सय आइसोलेसन बेड चाहिन्छ। त्यस्तै ४ सय थपिए भने ५ हजार ६ सय वटा बेडले पुग्छ,’ उनले भने, ‘त्यसैले अहिले अभाव हुँदैन। यहीँ अवस्थामा संक्रमित संख्या स्थिर भयो भने धान्न सकिन्छ।’

त्यसमाथि सबै संक्रमितलाई आइसोलेसन वा अस्पतालमा भर्ना गर्नुपर्ने स्थिति नहुने उनी बताउँछन्। उनले लक्षणका आधारमा संक्रमितहरूलाई अस्पताल भर्ना गरिने जनाए। साथै लक्षण नभएका संक्रमितलाई पनि अवस्था हेरेर होम आइसोलेसन वा आइसोलेसन सेन्टरमा राखिने उनले बताए।

विज्ञहरूले भने सरकारले बेलैमा जोखिम औंल्याउन नसक्दा आधारभूत पूर्वाधारसमेत तयार गर्न नसकिएको बताएका छन्।

जनस्वास्थ्यविद् डा. समिरमणि दीक्षित भन्छन्, ‘सरकारले ‘प्रोएक्टिभ’ भएर काम गर्नुपर्थ्यो तर हाम्रोमा समस्या आएपछि मात्र एक्सन लिने बानी छ। काठमाडौंजस्तो ठूलो जनघनत्व भएको ठाउँमा जोखिमको पहिल्यै आँकलन हुनुपर्थ्यो तर सरकार यसमा चुकेको छ।’

मन्त्रालयमा रहेका विज्ञहरूले समेत सरकारलाई समयमा उचित सुझाव दिन नसकेको उनी बताउँछन्।

‘मन्त्रालयमा रहेका विज्ञहरूले कस्तो सुझाव दिइरहनुभएको छ? उहाँहरूले यति सामान्य कुराको आँकलन पहिल्यै गरेर पूर्वतयारी गर्नुपर्ने होइन?,’ उनले आक्रोश पोखे।

दीक्षितले सरकारले बाहिर रहेका विज्ञहरूको सुझाव नसुनेको भन्दै असन्तुष्टि जनाए। सरकारले अप्ठेरो परेपछि मात्र बहिरका विज्ञहरूसँग छलफल गरेको भन्दै उनले भने, ‘हामीसँग प्रत्येक हप्ता छलफल गरे हुन्न? खालि गाह्रो भएपछि मात्र छलफलमा बोलाउने गरिएको छ। दुई महिनामा एकपटक छलफल गरेर के हुन्छ?

अहिले उपत्यकामा संक्रमित संख्या ह्वात्तै बढेपछि आइसोलेसन विस्तार गर्न सरकार सुरिएको छ। जुन काम सरकारले यसअघि नै गर्नसक्थ्यो। अन्य ठाउँको तुलनामा काठमाडौंमा संक्रमणको जोखिम पछि देखिएको हो।

विशेष गरी गत साउन ७ गते लकडाउन खुकुलो भएपछि उपत्यकाबाहिरबाट मानिसहरूको आवतजावत भएर उपत्यकामा संक्रमित भेटिन थालेका हुन्।

त्यसअघि उपत्यकामा क्वारेन्टिन, आइसोलेसन विस्तार गर्ने र अस्पतालहरूलाई तयारी राख्ने सरकारसँग प्रशस्त समय थियो। झन्डै चार महिनाको समयमा पनि उपत्यकामा बल्ल १२ सय क्षमताको आइसोलेसन बनाइएको छ। अर्थात् उपत्यकामा संक्रमणको जोखिम आउँछ भनेर सरकारले बेलैमा आँकलन गर्न सकेन।

डा. दीक्षित भन्छन्, ‘सरकारले भोलि संक्रमण फैलिए वा नफैलिए पनि पूर्वाधार तयार गर्नुपर्छ। पहिले यत्रो समय थियो। अनि अहिले आएर हतारमा सबै कुरा गरिँदैछ। मैले अघि पनि भने हाम्रो समस्या थुप्रिएपछि मात्र एक्सन लिने बानी छ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतम भने सरकारले आइसोलेसन लगायत पूर्वाधार तयार पार्ने सुरुवातदेखि नै जुटेको दाबी गर्छन्। उनले अहिले पनि विभिन्न अस्पतालहरूसँग संक्रमितको उपचार गर्न सम्झौता गरिएको बताए।

पछिल्लो समय उपत्यकामा बढेको जोखिमसँग कसरी जुध्ने भन्ने स्पष्ट मोडालिटी मन्त्रालयसँगै छैन। आइसोलेसन, आइसियू र भेन्टिलेटरको आवश्यकता कति पर्छ भन्ने आँकलन मन्त्रालयले नै गर्न सकेको छैन।

मन्त्रालयका अनुसार अहिले उपत्यकामा ४ सय ५४ वटा आइसियू र २ सय वटा भेन्टिलेटर छन्। तर संक्रमणको जोखिमलाई हेर्दा यसलाई थप विस्तार गर्नुपर्ने देखिन्छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अहिले उपत्यकामा संक्रमणसँग जुध्न कसरी अघि बढ्ने भनेर छलफल भइरहेको बताए।

‘धेरै छलफलहरू चलिरहेका छन्। औपचारिक निर्णय नभएकाले ठ्याक्कै भन्न नसकिएको हो। तर सबै कुरालाई चुस्त र व्यवस्थित पार्दै लैजाने भनिएको छ,’ उनले भने।

पछिल्लो समय संक्रमण जोखिम बढेकै कारण उपत्यकामा बिहीबारबाट लागू हुनेगरी निषेधज्ञा जारी गरिएको छ। यो निषेधज्ञा एक साताका लागि लागू गरिएको भएपनि यो लम्बिने जानकारहरू बताउँछन्।

उपत्यकामा अहिले संक्रमणको जुन स्थिति देखिरहेको छ त्यो सुरुवातदेखि नै होइन। काठमाडौंमा पहिलोपटक माघ ९ गते चीनबाट आएका विद्यार्थीमा पहिलो संक्रमण भेटिएको थियो। त्यसपछि चैत को १० गते दोस्रो संक्रमित भेटिइन्।

फ्रान्सबाट कतारको दोहा हुँदै आएकी काठमाडौंकी १९ वर्षीय युवतीलाई संक्रमण पुष्टि भयो। त्यसपछि सरकारले लकडाउन गर्ने निर्णय गर्यो।

त्यसपछि विदेशबाट आएकाहरूमा छिटफुट संक्रमण भेटिन थाले। त्यतिञ्जेल पनि काठमाडौंमा संक्रमितहरू भेटिएका थिएनन्। पछि भारतबाट नेपालीहरू स्वदेश फर्किन थालेपछि संक्रमित बढ्न थाले।

विशेष गरी भारतसँग जोडिएका जिल्लाहरूमा संक्रमण ह्वात्तै बढ्न थाल्यो। जसमा प्रदेश-२, प्रदेश-५ र सूदुरपश्चिम प्रदेश बढी चपेटामा पर्यो। ती ठाउँहरूमा संक्रमणको कहर सुरु भइसक्दा पनि काठमाडौंमा अहिलेजस्तो संक्रमित भेटिएका थिएनन्।

उपत्यकामा संक्रमित बढ्न थालेको भनेको गत साउन ७ गते लकडाउन खुकुलो भएपछि हो। विशेष गरी उपत्यका बाहिरबाट मानिसहरूको आवतजवात हुन थालेपछि संक्रमणको दर बढेको हो।

सरकारले उपत्यका बाहिरबाट आउने मानिसहरूबाट संक्रमण फैलिन्छ भन्ने सामान्य बुझाइ पनि राख्न सकेन। अधिकांश मानिसहरूलाई नाकामा जाँचबिनै प्रवेश गर्न दिइयो। कतिपय मानिस त लुकिछिपी पनि उपत्यका प्रवेश गरे।

अहिले भने उपत्याकामा समुदायस्तरमै रहेका मानिसहरूमा संक्रमण देखिन थालेको छ। जसले गर्दा उपत्यकामा संक्रमणको जोखिम उच्च रहेको देखिन्छ। विज्ञहरूले समेत काठमाडौं कोरोनाको ‘नयाँ हटस्पट’ बन्नसक्ने चेतावनी दिँदै आएका छन्।

Facebook Comment

छुटाउनुभयो कि?